बिहीबार, वैशाख १३, २०८१

केएमसी स्कुलको कर्मचारी मृत्यु : हत्या कि आत्महत्या ? (भिडिओसहित)

दया दुदराज २०७९ असार १९ गते १९:४५

काठमाडौँ । विगत ६ वर्षदेखि काभ्रेको तेमाल गाउँपालिका घर भएकी २१ वर्षीय रमा रायमाझी बुद्धनगरस्थित केएमसी स्कुलमा काम गर्दै आएकी थिइन् । उनी चमेना गृहमा काम गर्थिन् ।

रमाले केएमसी स्कुल नजिकै एउटा कोठा भाडामा लिएकी थिइन् । त्यही उनी दुई बहिनीहरूसँग बस्दै आएकी थिइन् । उनी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म काममा हुन्थिन् ।

बिहान ६ बजे काममा जाने, साँझ ७ बजे फर्किने उनको दैनिकी थियो । तर, उनको दैनिकी शनिबार (१८ असार)मा भने रोकियो । बिहानै घरबाट काम गर्न निस्किएकी उनी शनिबार अबेरसम्म आइनन् । दिदी कोठामा नआउँदा बहिनी गोमा बेचैन भइन् ।

राति भएपछि पनि दिदी घर नआएपछि गोमाले सम्पर्क गर्न खोजिन् । तर, दिदीलाई फोन लागेन । धेरै समय प्रतीक्षा गरिन् । दिदी कोठामा नआएपछि गोमा खोज्न निस्किन् । उनी दिदीले काम गर्ने ठाउँ (केएमसी स्कुल)मा पुगिन् ।

गोमा पुग्दा त्यहाँको माहोल सामान्य थिएन । राति ८ बजे स्कुल परिसरमा पुगेकी गोमाले आफ्नो दिदी झुण्डिएको अवस्थामा देखिन् । झुण्डिएकी आफ्नी दिदीलाई उनले अंगालो हालिन् । त्यतिबेलासम्म स्कुलको म्यानेजर र कर्मचारी हिँडिसकेका थिए ।

होस्टेलको भुइँ तलामा रमा खाटसँगै जोडिएको खाँबोमा झुण्डिएकी थिइन् । चमेना गृहमा ६ महिनायता असिस्टेण्ट म्यानेजरमा काम गरेकी उनी झुण्डिएको अवस्थामा पहिला देख्ने उनकै बहिनी थिइन् ।

‘दिदी सधैँ बिहान ६ बजे गएर साँझ साढे ७ सम्म आइपुग्थी, तर शनिबार अबेलासम्म नआएपछि म आफै स्कुलमा पुगेको थिएँ, चमेना गृहमा गएर बुझ्दा म्यानेजरले आश्चर्य व्यक्त गर्दै होस्टेलमा होला नि भने,’ गोमाले भनिन्, ‘त्यसपछि होस्टेलको पहिलो तलामा पुगेर हेरेँ । म्यानेजरले ढकढक गर्दा पनि नखुलेपछि मैले धकेलेँ, भित्र दिदी झुण्डिरहेको देखेपछि गएर अँगालो हालेँ, त्यसपछि सबै बेपत्ता भए ।’

शंकास्पद अवस्थामा फेला पर्नु र सबै जना वेपत्ता भएको देखेर रमाका आफन्त तथा परिवार आक्रोशित बनेका छन् । आफन्त र परिवारको आक्रोश मध्यराति १ बजेसम्म चर्कियो । रमाका परिवार र आफन्तले हत्याको दाबी गर्दै दोषी पत्ता लगाउन माग गरेका थिए ।

रोकिएन आफन्तको आक्रोश…

शनिबार राति १ बजेसम्म स्कुल परिसरको माहौल गरम थियो । आइतबार बिहान वार्ता र छलफलको वातावरण बन्ने भएपछि एक बजेपछि स्कुल परिसरबाट आफन्त निस्किए । आइतबार १० बजे रमाका परिवार र आफन्त पुनः स्कुलमै पुगेका थिए । १० बजे नै स्कुलमा पुगेको परिवार र आफन्तले एकाएक माहोल तताए ।

वार्ता गर्न भनिए पनि प्रहरीले ढिलाइ गरेको र स्कुल प्रशासन लुकेको देखेर परिवार आक्रोशित बनेको थियो । कतिपय आफन्त आज बिहान मात्रै प्रदर्शनका लागि आएका रमाका काकाले मोरोन्यूजलाई बताए ।

‘हिजो राति ८ बजेमात्रै मृत्यु भएको फेला परेको हो, तर कतिबेला मृत्यु भयो ? भन्ने यकिन छैन,’ रमाका काकाले भने, ‘हिजो खबर गरेनन्, आज बिहानै हामी न्यायका लागि आएका हौँ ।’

प्रहरीले रातारात मैदानमा राखिएका स्कुल बस हटाएको भन्दै प्रदर्शनकारीले आक्रोश पोखेका थिए । ‘हामी यहाँ सम्हाल्छौँ, तपाईंहरू जानुस् भनेका थिए, बिहान आउदा स्कुलमा बस थिएन,’ ती प्रदर्शनकारीले भने, ‘मृतकको आफन्तको हो भन्दै अहिलेसम्म विद्यालय प्रशासनबाट एक जना पनि आएको अवस्था छैन ।’

प्रदर्शनमा देखिएका प्रायः सबै जना काभ्रेबाट नै आएको रमाका काकाले बताए । परिवार र आफन्तको आक्रोशित भिड थेग्न नसकेपछि प्रहरीले वार्ताका लागि आह्वान गरेको थियो । तर, परिवारले वार्तामा मिडियाकर्मीलाई समेत समेट्नु पर्ने जिकिर गरे । प्रहरीले उक्त प्रस्तावलाई इन्कार गरेसँगै आक्रोशित भिड झनै उग्र बनेको थियो । त्यसैबीच प्रहरी र आफन्त वार्ता भएको छ ।

हत्या कि आत्महत्या ?

रमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले नियाल्दा आत्महत्या हुन सक्ने आंकलन गरेको भए पनि उनका आफन्त र परिवारका सदस्यले हत्याको दाबी गरेका छन् ।

उनको शव उठाउन नपाउँदा प्रहरीले अनुसन्धान गर्न पाएको छैन । त्यसैले आत्महत्या गरिन् या हत्या भन्ने यकिन हुन नसकेको एक प्रहरी अधिकारीले बताए । ‘शव झुण्डिएको अवस्थामा छ, झुण्डिएको भन्दैमा आत्महत्या भन्न सकिन्नँ,’ ती प्रहरी भने, ‘मृत्युको कारण थाहा पाउन अनुसन्धान गर्नु पर्छ, त्यो हुन पाएको छैन त्यसैले हत्या हो कि आत्महत्या भन्ने कुनै आधार भेटिएको छैन ।’

रमाका आफन्तले भने हत्या भएको दाबी गरेका छन् । ‘शनिबार म स्कुलभित्र छिर्न खोज्दा नै रोक्न खोजिएका थिए, मैले कोठाको ढोका सहजै फोर्न सकेकाले पनि शंका छ, दिदीको खुट्टा किन भुइँमा लत्रियो र किन म्यानेजर भागे ?,’ गोमाले प्रश्न गरेकी छन् ।

प्रदर्शन गरिरहेका रमाका एक आफन्तले रमाले घुँडा टेकेको र ढाड अडेस लागेको बताइन् । ‘मैले हिजो शव देखेको हुँ, मृतकको शवले घुँडा टेकेको थियो,’ ती आफन्तले भनिन्, ‘आत्महत्या गर्ने मान्छेले पनि घुँडा टेक्छ र ? पछाडि ढाड अडेस लगाउछ ?’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया