शुक्रबार, वैशाख १४, २०८१

विष्णु पौडेलको संयोजकत्वमा एमालेले बनायो अन्तरघातको छानबिन समिति

मेरोन्यूज २०७९ असार १९ गते १८:१२

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको चुनावमा पार्टीभित्रै बसेर अन्य पार्टीलाई सघाउने गरी अन्तरघात गरेको विषयमा छानविन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा छानविन समिति बनाएको छ ।

समितिलाई छानविन गरी दोषी देखिए कारबाही गर्नेसम्मको अधिकार दिएर समिति बनाएको एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको पार्टी सचिवालय बैठकले पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको बताए ।

‘आन्तरिक समस्याका कारण सोचेबमोजिम नतिजा आएन, अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भए, त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने ।

असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय बैठकको निर्णय छ । जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन पनि एमालेले निर्देशन गरेको छ ।

प्रतिक्रिया