मंगलबार, वैशाख ४, २०८१

जसले घर बनाइदिए, उसैको हत्या गरिदिए

मेरोन्यूज २०७९ असार १९ गते १८:०७
Hatya

काठमाडौँ । झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई हत्या गरी ह्युम पाइपभित्र फालिएको पाइएको छ । दुर्व्यवहार गरेको भन्दै श्रीमान् श्रीमतीले योजना बनाएर भारत गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको हो ।

उनको हत्या योजना अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा र उनका ४९ वर्षीय श्रीमान् विनय भनिने वृषबहादुर थापाले बनाएको प्रहरीले जनाएको छ । जानुकालाई श्रीमान‍्कै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको थियो । उनको ९ असारमा हत्या भएको प्रहरीले जनाएको छ । १२ असारमा ह्युम पाइपभित्र बोरामा उनको शव भेटिएको थियो ।

उनको हत्याका लागि थापा दम्पतीले सुनसरी बराहा क्षेत्र नगरपालिका १० का २५ वर्षीय सुरेश परियार र फरार एक अभियुक्तलाई पाँच लाखको ‘सुपारी’ दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । तीन अभियुक्तलाई पक्राउ गरेर आइतबार प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

मृत व्यक्तिले घर बनाउनका लागि जानुकालाई पाँच लाख रुपैयाँ सहयोग गरेको प्रहरीले जनाएको छ । उनीहरूबीच २०७६ मंसिरदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । काम गर्न दिल्ली पुगेकी उनलाई अप्ठेरो परेपछि पानीट्यांकीसम्म ल्याइदिएका थिए । त्यसयता निरन्तर सम्पर्क रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।

मृत नरेशकुमार ४ वैशाख २०७९ मा विराटनगरबाट अवैध ५९ हजार भारुसहित पक्राउ परेका थिए । प्रहरीले राजश्व कार्यालय इटहरीमा तारेख धाइरहेका थिए । तारेखका क्रममा उनी जेठमा जानुकाको घरमा बसेका थिए । त्यो क्रममा जानुकामाथि दुर्व्यवहार भएको श्रीमान‍्ले देखेका थिए । त्यही क्रममा उनको हत्या योजना बनेको एसपी पोखरेलले जानकारी दिए ।

उनी पछिल्लो समय ७ असारमा जानुकाको घरमा आएका थिए । त्यही क्रममा परियार र एक फरार अभियुक्तलाई पाँच लाखको सुपारी दिएको प्रहरीले जनाएको छ । पूर्व सहमतिअनुसार जानुकाले परियारलाई दुई र फरार व्यक्तिलाई एक लाख रुपैयाँ पनि दिइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया