शुक्रबार, चैत १६, २०८०

फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ : प्रचण्ड

तत्कालिन नेकपा कालको सचिवालयमा रहेका बहुमत नेताहरुको बैठक बसेर कम्युनिष्ट एकताका लागि अपिल गर्नेबारे तयारी भईरहेको प्रचण्डको खुलासा

मेरोन्यूज २०७९ असार १९ गते १५:४१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी नयाँ तरिकाले कम्युनिष्ट एकता गर्न सकिने बताएका छन् । पार्टी केन्द्रीय समितिको आइतबारको बैठकमा प्रदेशबाट रिपोट राख्ने क्रम सकिएपछि प्रचण्डले कम्युनिष्ट एकताको वहस पार्टी भित्र प्रवेश गराउँदै यसबारेमा नयाँ शिरावाट वहस चलाउन सकिने बताएका हुन् ।

‘आज मात्रै नेकपा हुँदाका सचिवालय सदस्यहरुसँग छलफल भएको थियो’, प्रचण्डले पार्टी बैठकमा भने, ‘नेकपा एकीकृत गर्न वामपन्थी आन्दोलनका लागि सम्भावना अझै छ। फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ । यो बैठक आज छिट्टै सकियो भने सचिवालयको बहुमतको बैठक बस्नुपर्यो भनेर साथीहरुले भन्नु भएको छ । अपिल गर्नुपर्यो भनेर भन्नु भएको छ ।’

बैठक बसेर एकताका लागि आह्वान गर्ने योजना रहेको प्रचण्डले बैठकमा सुनाए ।

विस्तारै फेरि वामपन्थी एकताको सम्भावना पैदा भएको उनको भनाइ छ । उनले कम्युनिस्ट एकताबारे सोमबारको बैठकमा धारणा राख्न पनि सदस्यहरुलाई आग्रह गरेका छन् ।

‘नेपालमा माओवादी आन्दोलन र माओवादी पार्टी एकता प्रक्रियामा जानैपर्ने छु’, प्रचण्डले भने, ‘अझ संस्थागत रुपमा माओवादी अगाडि बढ्ने क्रम बढेको छ। हिजोको माओवादी एकीकृत हुने सम्भावना बढेको छ। हामीले ठूलै कोसिस गर्‍यौँ। माओवादीमा देखा परेका विचलन हल गर्ने मात्र नभइ माओवादी धारा एक हुने क्रम अहिले पनि छ।’

Advertisement

प्रतिक्रिया