शनिबार, वैशाख ८, २०८१

बागमती प्रदेशका मुख्यमन्त्रीले एमाले नेता भेटेपछि सत्ता गठबन्धनमा तरंग

मेरोन्यूज २०७९ असार १९ गते ९:००


काठमाडौं । विगतमा आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने लिखित सहमति गरेर बागमती प्रदेशको मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेको वर्हिगमनका लागि सत्ता गठबन्धन दलकै कांग्रेस र माओवादी केन्द्र हस्ताक्षर अभियानमा जुटेका बेला मुख्यमन्त्री पाण्डेको भने एमालेका प्रभावशाली मानिने युवा नेता महेश बस्नेतसँग भेटवार्ता भएको छ ।

जसरी पनि सत्ता गठबन्धन भत्काउन अनेक जोर- जुलुम गरिरहेको एमालेले, कांग्रेस र माओवादीले बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेको वर्हिगमनका लागि साथ छोडिदिए आफुहरुले साथ दिएर सत्ता जोगाईदिने वचन दिईरहेका छन् ।

कतै एमालेले बागमतीमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेलाई साथ दिएर नयाँ ट्वीष्ट त आउँदैन भनेर अडकलबाजी भईरहँदा पाण्डे र बस्नेतबीचको भेटवार्ता भएको हो । पाण्डे र नेबस्नेतबीच शुक्रबार साँझ भेटवार्ता भएको थियाे।
भेटवार्ता बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्टिय अभियानकी नेतृ शोभा पाठकको पहलमा भएको बताइएको छ । भेटमा शुरुमा केही समय उनी पनि सहभागी भएकी थिइन् ।

नेकपा एकीकृत समाजावादीको बागमती प्रदेश संसदीय दलको बैठकले गठबन्धनले केन्द्रकाे निर्णय मात्र मान्न भएपनि अहिले प्रदेश तहमा भईरहेको चलखेललाई नमान्ने र बागमती प्रदेश सरकारको नेतृत्व नछोडने प्रष्ट सन्देश दिईसकेको छ ।

पाण्डेले बागमती प्रदेशका नेकपा एमालेका प्रदेश सांसदहरुको समेतसाथ पाउने अवस्था विकास भएको छ ।
उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटी आफूले कुनै हालतमा मुख्यमन्त्रीबाट राजीनामा नदिने स्पष्ट पारिदिए । त्यसपछि माधव नेपालले पनि शनिबार पाण्डेले अहिले राजीनामा नदिने बताइदिए ।

नेपाली काँग्रेसका बागमती प्रदेशका सभापति समेत रहेका प्रदेश सांसद इन्द्र बानियाँका लागि मुख्यमन्त्री छाड्ने दबाब पाण्डेमाथि थियो । बागमती प्रदेश सरकार बन्दा पाण्डे र बानियाँ आधाआधा अवधि मुख्यमन्त्री बन्ने भद्र सहमति थियो ।
तर, पाण्डे अहिले आएर बदलिएका छन् । उनले एमालेको साथ लिएर भएपनि सत्ता टिकाउने रणनीति बनाएका छन् । एमालेले पाण्डेलाई साथ दिए उनको नेतृत्वको सरकारको आयु स्वत बढ्नेछ । एमाले र एकीकृत समाजवादी मिल्दा बागमती प्रदेशमा बहुमत पुग्छ ।

प्रतिक्रिया