आइतबार, जेठ ६, २०८१

धम्क्याएर चन्दा असुली गर्ने मोरङका दुई जना पक्राउ

मेरोन्यूज २०७९ असार १८ गते १७:४९

विराटनगर । प्रहरीले उद्योगीलाई धाक धम्की दिँदै चन्दा असुली गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे–६ घर भई हाल विराटनगर महानगरपालिका ४ कञ्चनवारिमा बस्ने ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे ६ का २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् ।

Advertisement

पक्राउ परेका मध्ये कार्की मुख्य गिरोह हुन् । उनले विराटनगर–३ घर भएका उद्योगी ४७ वर्षीय मुकेश शर्मालाई फोनमार्फत धम्की दिँदै पाँच लाख रुपैयाँ फिरौती मागेको प्रहरीको दाबी छ । उद्योगी शर्माको विराटनगर ७ मेन रोडमा अगर बत्तीको उद्योग छ । उनले विगत १८ वर्षदेखि अगरबत्ती उद्योग सञ्चालन गर्दै आएका छन् ।

पक्राउ परेका कार्कीले जेठ १३ गते उद्योगी शर्माको घरमा चिठ्ठी पठाएका थिए । पहिलो दिन स्कुलबाट फर्किएको शर्माको छोरालाई कार्कीले चिठ्ठी दिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए । राजस्व छली गरेको, कर छलीको गरेको पैसा फिर्ता गर र भ्रष्टाचार नगर्न भन्दै दुई पटक उद्योगी शर्माको घरमा चिठ्ठी पठाएका थिए ।

त्यसपछि फोन मार्फत पटक–पटक डर धम्की दिई फिरौती रकम पाँच लाख मागेको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए । फिरौती रकम माग गर्ने मुख्य गिरोह कार्कीले आईएमीमा पैसा झिक्न ऋषिदेवलाई पठाएको प्रहरीले जनाएको छ । ऋषिदेवलाई पक्राउ गरेपछि शुक्रवार कार्कीलाई घरदेखि पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

शर्माले पठाएको पैसा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ६ हसन्दह स्थित रहेको आईएमईबाट कार्कीले ऋषिदेवलाई निकाल्न लगाएको अनुसन्धानबाट खुलेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले धम्की र असुलीका कारण अरू पनि पीडित भएको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुसन्धानको दायरा फराकिलो पारिएको जानकारी दिए । पक्राउ परेका विरुद्ध ठगी तथा आपराधिक लाभअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया