बुधबार, वैशाख १२, २०८१

‘अहिले क्यानाडा छु, अब देबघाटमा आएर बस्छु’

मेरोन्यूज २०७९ असार १८ गते १४:११

करिब १५ वर्षदेखि क्यानाडालाई कर्मथलो बनाएका नारायण घिमिरे खाद्य तथा औषधिविज्ञ हुन् । नेपालबाट टाढा रहे पनि स्वदेशका लागि केही गर्न प्रयत्न गरिरहेका हुन्छन्, उनी । उनले विशेषगरी गाँजा, हर्बल र हिलिङ फुड्को विकास पैरवी गर्दै आएका छन् । वेद र विज्ञान, वैदिक भेला, अध्यात्ममा उनको विशेष रुची छ ।

हालै घिमिरेको ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक प्रकाशित भएको छ । जसमा नेपालका गाउँघरमा पाइने टिम्मुर, खिर्रो, कण्टकारी, कुश, दुबो, मोरिङ्गा, तीतेपाती, चरिअमिलो जस्ता जडिबुटीको महत्व र महिमाबारे लेखिएको छ । कृषि, स्वरोजगारीमा जोड दिँदै नेपालले अंगाल्नु पर्ने बाटोलाई प्रष्ट देखाइदिएका छन् । बन्दिपुर, तनहुँ, याम्पाफाँट स्थायी घर भएका घिमिरेको यसअघि ‘गाँजा खेती वैज्ञानिक अवधारणा’ पुस्तक प्रकाशित भइसकेको छ । नेपाल भ्रमणका क्रममा खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेसँग मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईंको पछिल्लो पुस्तक ‘नेपाली रैथाने जडीबुटी’बाट कस्तो प्रतिक्रिया पाउनु भयो ? सरकारी निकाय कत्तिको उत्साहित भएको देखियो ?

आम पाठकले ‘नेपाली रैथाने जडीबुटी’ पढेर राम्रै प्रतिक्रिया दिए । तर, सरकारी निकाय खासै उत्साहित भएको पाइएन । यसको अवसर लिएर मुलुकको लागि सदुपयोग गर्न त्यति उत्साहित देखिदैन । यसैले हाम्रो सरकारी संयन्त्रमा हाम्रो हर्वलले नै हामीले हाल आयात गरेको खाना औषधि र आयुर्वेदिक उत्पादन, प्राकृतिक सप्लिमेण्ट हाम्रो आफ्नै जडिबुटीबाट कसरी सम्भव छ भन्ने ज्ञान र महशुस दुवै नरहेको प्रष्ट देखिएकोले हो जस्तो लाग्छ ।

हाम्रो नेपालको निजी क्षेत्र मात्र हैन सरकारी निकायको कतै पनि संस्थागत स्मरणमा यो सबै विषयको चुरो समाधान मैले रहेको भेटिनँ । उनीहरूमा यसको ज्ञान नहुँदा हालकै खुद्रा अरू डोनरको भर पर्ने र कलेजतिर हुने जस्तो थेसिस र ऐकेडेमिक रिसर्चमा भर पर्ने स्थिति देखिन्छ । त्यो त २ सय वर्षदेखिकै पारा भयो । त्यसले न त इनोभेसन हुन्छ न केही ठोस उपलब्धि दिन्छ ।

नेपालमा हर्बल र आयुर्वेदको इनोभेसनमा के–के सम्भावना छन् ? मेडिसिनल र एरोमेटिक पकेट क्षेत्र कसरी विकास गर्न सकिन्छ ?

क्यानडा र अमेरिकी क्षेत्रमा खाद्य र प्रविविधको नयाँ सूचनाका आधारमा कुरा गर्दा आजभन्दा २० वर्षपछिका मानिसका लागि चाहिने लत्ता कपडा, औषधि र खानपिनको मुख्य आधार माथि भनिएको ६८.०८ प्रतिशत भूभागको वातावरणलाई बिग्रन नदिई पूर्ति गर्न सकिने वनस्पति र जीवाणु हुन सक्छन् ।

नेपालको विकासमा कायापलट आउने गरी प्रभाव दिन सक्ने कुनै क्षेत्र छ भने ती एरोमेटिक र मेडिसिनल मूल्य बोकेका वनस्पति र जीवाणु नै हुन् । हाम्रो अनुमानमा सरकारको उचित सहयोग र ध्यान पुग्ने हो भने ५–७ वर्षभित्रै नेपालको हालको प्रशोधित ७५ प्रतिशत कृषि जडिबुटी, आयुर्वेद र खाद्य पदार्थ आयात प्रतिस्थापन गर्न सकिन्छ ।

नेपालबाट हर्बल, आयुर्वेदिक र औषधीजन्य वस्तु निर्यातको सम्भावना कस्तो छ ?

नेपालमा जताततै हर्बल, सुगन्धित वन पैदावार, लेउ, झ्याउ, किरा जस्ता औषधिजन्य आयुर्वेदिक र हिलिङ प्रकृतिका जीव र प्लाण्टहरु छन् । हिजोआज योगा र मेडिटेसन मानिसको जीवन शैली बनिसकेको छ । सन्तुलित डिटक्स खाना, योगा र मेडिटेसनको अपरिहार्य पूरक हो । नेपालमा कतिपयको पहिचान भइसकेको उत्पादन र प्रशोधन गर्ने विविध र कमर्सियलाइजेसन हालको विश्व बजारमा रहेको माग पूर्ति हुने गरी गर्न सक्दा बजारको समस्या होइन ।

इनोभेटिभ ज्ञान र सीप हस्तान्तरणमा सरकारको जोड र तीव्र चाहनाको कमीले नेपालमा ठूलो खाडल पैदा गरेको अवस्था छ । औषधिजन्य आयुर्वेदिक र हिलिङ प्रकृतिका जीव र प्लान्ट बजारको माग पूरा हुने अवस्थासम्म हामी नपुगेकाले हामीले बजार देख्न नसकेको हो । नेपालबाट हर्बल, आयुर्वेदिक र औषधिजन्य वस्तु निर्यातको सम्भावना राम्रो छ ।

तपाईं कार्यरत कम्पनीबारे थोरै बताइदिनुस् न,

मैले काम गर्ने कम्पनी क्यानडाकै सबैभन्दा ठूलो फ्लेवर हाउस हो । जसमा शत प्रतिशत क्यानेडियनको स्वामित्व छ । यो खाद्य उद्योग, फर्मास्युटिकल उद्योग, नेचुरल हेल्थ प्रडक्ट, हर्बल र नेचुरोप्याथी अनि आयुर्वेदिक सप्लिमेन्टको को–क्रियसन गर्ने क्यानडाको निजी क्षेत्रको सबैभन्दा इनोभेटिभ रिसर्च कम्पनी हो । उपभोक्ताहरुको चाहनाअनुसार हामी फ्लेवर र फुडका इन्ग्रिडिएण्ट उनीहरुकै परिमाणमा बनाउँछौँ । १५ वटा देशमा प्रत्यक्ष रुपमा र यस सञ्जालमार्फत ७५ देशमा हाम्रा उत्पादन र सेवा प्रदान गर्छौं ।

हाम्रो कम्पनीमा ३५ प्रतिशत वैज्ञानिक, रिसर्चर र प्राविधिक छन् । यस कम्पनीमा मेरो जिम्मेवारी टेक्निकल म्यानेजरको हो । म कार्यरत कम्पनी क्यानेडियन बडी अफ नलेज बेस्ड इन्कुबेसन सेन्टर हो । यसलाई फ्लेवर हाउस भन्ने गरिएको छ ।

प्रसंग बदलौँ, अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

म अहिले मस्तिष्क (ब्रेन), आत्मा, प्रकाशबारे अध्ययन गर्दै छु । शरीरको संरचनाबारे ज्यादा अध्ययन गर्न मन लागिरहेको छ । हाम्रो दिमाग सञ्चालन भइरहेको छ ? ब्रहमाण्डसँग यसको के सम्बन्ध छ ? यसबारे अध्ययन गर्दै छु ।

प्रायः दिनमा कति घण्टासम्म लेख्नु हुन्छ ?

अफिस नगएरै पनि लेख्ने गर्छु । बिहान ६ बजे सुरु गरेपछि राति ३ बजे श्रीमतीले जबरजस्ती बन्द गरिदिएको उदाहरण छन् ।

परदेशमा बसेर लेख्न, पुस्तक छाप्न कत्तिको गार्‍हो छ ?

गा¥हो हुन्छ । सबैभन्दा ठूलो कुरा भाषाको समस्या हुन्छ । दोस्रो स्रोतको समस्या हुन्छ । परदेशमा मेसिनरी जीवन छ । लेख्नका लागि पर्याप्त समय नै हुँदैन ।

तपाईंको पढ्ने आनिबानीबारे बताइदिनुस् न,

म एकैपटक ५÷६ वटा किताब पढ्ने गर्छु । प्रायः एक हप्तामा एउटा किताब पढेर सिध्याउँछु । रुची नभएका च्याप्टर पढ्दिन । हरेक दिन न्युनतम दुई घण्टा नियमित पढ्ने गर्छु । अधिकतम जति पनि हुन सक्छ ।

तपाईंले दोहोर्‍याएर पढेका पुस्तक ?

वेद । संस्कृतका ११ वटा डिक्सनेरी पनि छन् । यस्तै चरक संहिता, सुश्रुत संहिता पनि हुन् ।

तपाईंका प्रिय लेखकको नाम ?

दीपक चोप्रा, सायमोन सिंह ।

मानिसले पढ्न किन जरुरी छ ?

पढ्नभन्दा पनि महसुस गर्न जरुरी छ जस्तो लाग्छ । ज्ञानका लागि पढ्ने हो । पढेर बिग्रेका पनि छन् । पढाईले मात्र नयाँ कुरा भने पत्ता लाग्दैन ।

तपाईंको भावी योजना के छ ?

म क्यानाडा बसे पनि अलि पहिल्यै देबघाटमा जग्गा किनेको छु । त्यही गएर बस्ने योजना छ । भगवानले अनुमति दिनु भयो भने श्रीमतीले पनि सहमति जनायो भने । मेरो इच्छा पक्कै पूरा होला । शारीरिक रुपमा निस्क्रिय रहे पनि मानसिक रुपमा सक्रिय रहने छु ।

प्रतिक्रिया