शुक्रबार, चैत १६, २०८०

जसपासँगको सहकार्य लगभग सकियो : बाबुराम भट्टराई

मेरोन्यूज २०७९ असार १८ गते १२:००

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले उपेन्द्र यादवसँगको सहकार्य सकिएको बताएका छन् । उनले जसपासँग सहकार्य सकिएकाले आगामी दिनमा विचार मिल्ने पार्टीसँग सहकार्य हुने बताए ।

शनिबार बिहान गोरखा–काठमाडौँ सम्पर्क संयन्त्रको तेस्रो भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले केही दिनमा आफू पक्ष नेताहरूको भेला बोलाउने जानकारी दिए ।

‘हामीले सोचे जस्तो पार्टी, हामीले सोचेजस्तो देश निमार्ण र हामीले सोचेको सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना यहाँबाट सम्भव छैन भन्ने कुरा स्पष्ट भइसकेको छ,’ उनले भने, ‘उही पुरानै ढंगको कार्य शैली, पुरानै स्वाभाव र प्रवृती केही मान्छे सत्तामा जाने मन्त्री हुने, सत्ताको वरिपरी मात्रै घुम्ने र निश्चित मान्छे पार्टीभित्र हाबी हुने संस्कृती यहाँ पनि विद्यमान छ, त्यसैले नयाँ सोच, नयाँ विचार, नयाँ शक्ति पार्टीको मिसन र वैकल्पिक शक्ति निमार्णको योजना जनताबीच लोकप्रिय देशको निम्ति टट्कारो आवश्यकता हुँदाहुँदै आज कताकता छायामा परेको अनुभूति भइरहेका छ ।’

उनले आफूबाट पनि केही गल्ती र त्रुटी भएको बताए । ‘बेला बेलामा म झस्किने पनि गर्छु, नेपालमा वैकल्पिक शक्ति निर्माणको थालनी गरेको, म आफू माथि पुग्न लागेको, तर कार्यकर्तालाई खस्न लागेको जस्तो महसुस भएको छ,’ उनले थपे ।

गणतन्त्र र संघीयता आफूहरुले २० औँ वर्षको आन्दोलन र योगदानबाट जनता माझ स्थापित भएको उनको दाबी थियो । अब बाँकी जीवन सुशासन, समृद्धि र समाजवाद यात्रामा लाग्ने बताए ।

Advertisement

उनले अहिले आफू भएको पार्टी जातिवादी र क्षेत्रीय मात्रै भएको बताउँदै वैकल्पिक पार्टी निर्माणको अभियानबाट आफू नभाग्ने बताए ।

प्रतिक्रिया