शुक्रबार, चैत १६, २०८०

मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानको तालाबन्दी

मेरोन्यूज २०७९ असार १६ गते १९:५९

काठमाडौँ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन् । बिहीबार किसानले विभिन्न पाँच बुँदाको माग गर्दै मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर भर्नासमेत बसेका छन् ।

किसानहरूले अदालतको आदेशअनुसार शीत भण्डार निर्माणको रकम भुक्तानी हुनु पर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ उपलब्ध गराउनु पर्ने, मन्त्रालयको अनुदान सेवा, सुविधा र विभिन्न योजना एकरूपता गरी किसानको हकहित सुनिश्चितता हुनु पर्ने, विभिन्न कारणले बालीमा भएको क्षतिको क्षतिपूर्ति दिनु पर्ने मागसहित धर्नामा बसेका छन् । जनता समाजवादी पार्टी, नेपालका प्रदेश उपाध्यक्ष शेषनारायण यादवले आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

त्यस्तै, मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंहले फाइल तथा अदालतको आदेशको अध्ययन गरिरहेको भन्दै सबै प्रक्रिया पूरा गरेर किसानलाई भुक्तानी दिने बताउनु भयो ।

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका ३ मा जनहित कृषक समूहका किसानहरूको चिस्यान केन्द्रमा करिब अढाई करोडको लगानी गरेको तीन वर्ष हुँदा पनि भुक्तानी नपाउँदा समस्या परेका छन् ।

त्यस्तै, सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको चिस्यान घरको निर्माणमा अढाई करोड खर्च भए पनि मन्त्रालयले भुक्तानी दिन नमानेपछि त्यहाँका किसानहरू पनि समस्यामा परेको किसानहरुको गुनासो छ ।

Advertisement

प्रतिक्रिया