शुक्रबार, वैशाख १४, २०८१

एसएसपी बढुवाका लागि विवादित एसपीहरु शक्ति केन्द्रमा

मेरोन्यूज २०७९ असार १६ गते ११:४६


काठमाडौं । नेपाल प्रहरीको रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदका लागि ५१ प्रहरी उपरीक्षक(एसपी) हरुको दौडधुप शूरु भएको छ ।
गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिश गरेसँगै रिक्त एसएसपीका लागि दौडधूप शुरु भएको हो ।
एसएसपी बढुवाको प्रतिस्पर्धामा २०७४ साउन १९ गते बढुवा भएका ३५ जना मध्ये ३३ जना एसपी छन् । बाँकी २ जनाले यसअघि नै अनिवार्य अवकाश पाएका छन् ।
सो मितिमा बढुवा भएका एसपीहरुमा दानबहादुर कार्की, ईश्वर कार्की, गणेश चन्द, राजन अधिकारी, मनोजकुमार केसी, रेवती ढकाल, अरुण पौडेल,जीवन श्रेष्ठ लगायतका छन् ।
२०५३ मा भर्ना भएर राष्ट्रिय अनुसन्धानबाट आएका १९ जना पनि बढुवाको लागि शक्तिकेन्द्र धाइरहेका छन् । तर, बढुवा गर्दा प्रहरी नियमावलीको नियम ३० को उपनियम २ अनुसार कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चूनौतीपूर्ण वा विशेष जिम्मेवारीलाई आधार मान्नुपर्ने उल्लेख छ । यसो गर्दा ०७५ जेठ २९ मा एसपीमा बढुवा भएकाहरु पनि पर्ने देखिन्छ ।
बढुवामा ज्येष्ठतालाई मात्र आधार नमानेर कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, चुनौतीपूर्ण जिम्मेवारीलाई पनि हेर्नुपर्ने र यसो गर्दा पछिल्ला व्याजीको पनि बढुवा हुनसक्ने गृह मन्त्रालय स्रोतले बतायो ।
त्यसो त, प्रहरीतर्फ भर्ना भएकाले आफूहरुले द्धन्द्धको समयमा फिल्डमा गरेको कामको अवमूल्यन हुने गरी राष्ट्रिय अनुसन्धानबाट आएकालाई अगाडि ल्याउन नहुने तर्क गर्ने गरेका छन् ।
यो तर्कमा गृह मन्त्रालयसमेत सकरात्मक रहेको बुझिएको छ । पछिल्ला व्याजीहरुबाट योग्य र प्रोफेसनल अधिकृतहरुलाई एसएसपीमा बढुवा गर्दा विश्व अधिकारी, सविन प्रधान, सानुराम भट्टराई, बसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, प्रवीण पोखरे, दीपशमशेर राणा, शेखर खनाल, अभिनारायण काफ्ले, ओम अधिकारी, दिनेश मैनाली, वेलबहादुर पाण्डे लगायतका एसपी पनि एसएसपीमा बढुवाहुन सक्ने देखिन्छ ।
बढुवा प्रतिस्पर्धामा रहेकाहरु २०७४ साउन १९ मा डीएसपीबाट एसपीमा बढुवा भएकाहरु पनि छन् । सिद्धिविक्रम शाह, ओमबहादुर राना, सुरेन्द्र गुरुङ, मनोजकुमार यादव, लोकेन्द्र श्रेष्ठ र दीलिपसिंह देउवा प्रहरीमा ‘विवादित अधिकृत’को रुपमा चिनिन्छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा दिनेशकुमार आचार्यलाई ‘अनुसन्धानमा लापरवाही गरेको’ भन्दै कारवाही गर्न आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।
मनोजकुमार यादव, विनोद घिमिरे, दीपककुमार बस्नेत, शारदाप्रसाद चौधरी, दीपेन्द्र जिसी, रामेश्वरप्रसाद यादव, दीलिप सिंह देउवा र सञ्जिव शर्मा दास राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा प्रवेश गरेका हुन ।
उनीहरु पनि प्रतिस्पर्धामा रहेका छन् ।

देउवा हाल बारामा रहेका छन् । उनी केही समय अघि मदिराले मस्त भएर कार दूघर्टनामा परेर केही दिन नारायणी क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए ।
सञ्जीवदास शर्माले रामेछापमा एक हत्याकाण्डलाई लुकाउन ठूलो आर्थिक चलखेल गरेको भन्दै प्रहरी प्रधानकार्यालयले कारवाही गरेको थियो ।
ओमबहादुर राना रसुवामा प्रमुख हुँदा आर्थिक अनियमतिको आरोपमा कारवाही गरिएको थियो । त्यसैगरी उनी बाँकेको प्रमुख हुँदा पनि कारवाहीमा परेका थिए । गणेश चन्द पनि दाङ एसपी हुँदा विवादित बनेका थिए ।
सिद्धिविक्रम शाह हाल ललितपुर प्रहरी परिसरमा छन् । उनी रौतहटमा हुँदा पत्रकारलाई लागुऔषध राखेर फसाएको आरोपमा छानवीनमा परेका थिए ।

प्रतिक्रिया