बिहीबार, वैशाख १३, २०८१

विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव

मेरोन्यूज २०७९ असार १५ गते १६:४८

काठमाडौं । विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्न संसदमा एक विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्दै यस्तो प्रस्ताव अगाडि सारेका हुन् । प्रस्तावित विधेयकको प्रस्तावनामै विदेशमा सम्पत्ति राख्न नपाउने भनी किटान गरिनुपर्ने सांसद सुवालको प्रस्ताव छ ।

‘नेपालीको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्‍छनीय भएकोले’ सांसद सुवालले गरेको संशोधन प्रस्तावमा उल्लेख छ ।

नेमकिपाले विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था संविधानमै राख्न पहल गरेको थियो । संविधान निर्माणकै क्रममा नेमकिपाले ‘नेपाली नागरिकको सम्पत्तिको सीमांकन गरिनेछ, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरिनेछ र जमिनमा जोत्नेको हक हुनेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गरेको थियो । जुन तत्कालिन संविधानसभाले बहुमतले अस्वीकृत गरेको थियो ।

संविधानको धारा २५ मा प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने उल्लेख छ ।

प्रतिक्रिया