बुधबार, वैशाख १२, २०८१

माधव नेपाललाई प्रधानमन्त्रीको ‘अफर’कसले गर्यो ?

पार्टी राष्ट्रिय प्रतिनीधि परिषद बैठकमा फेरि माधब नेपालले आफुलाई प्रधानमन्त्रीको अफर आएको दोहोर्‍याएका छन्

मेरोन्यूज २०७९ असार १४ गते २२:४६


काठमाडौं । राष्ट्रिय प्रतिनीधि परिषदको बैठक समापन हुँदै गर्दा पूर्व प्रधानमन्त्री माधव नेपालले कम्तीमा एउटा निर्वाचनसम्म केपी ओली र उनले नेतृत्व गरेको पार्टीसँग सहकार्य र एकता नहुने बताइरहेका थिए ।

बैठकमा आएका नेता कार्यकर्ताले वामगठबन्धन र एमालेसँगको सहकार्यलाई खुला गर्नुपर्ने सुझाव दिदै गर्दा नेपालले सो कुरा बताए । उनले वामगठबन्धनको विषयमा केही कुराहरु भनिरहँदा पार्टीको बैठक चलिरहेका बेला आफूलाई प्रधामन्त्रीको अफर आएको फेरि बताउन भ्याए ।

उनले गोप्य रुपमा कोही व्यक्तिले प्रधानमन्त्रीको अफर लिएर आएको र त्यसलाई आफूले अस्वीकार गरेको बताए । तर नेपालले प्रधानमन्त्रीको अफर गर्ने व्यक्ति वा समूह भने खुलाउन चाहेनन ।

‘मैले अहिलेलाई यति भने यस्ता अफरमा म विश्वास गर्दिन’, माधव नेपालको भनाई उद्यृत गर्दे बैठकमा सहभागी एक नेताले भने ।

यसअघि नेकपा एमालेको तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड र एस पार्टीका अध्यक्ष नेपाललाई एमालेले प्रधानमन्त्रीको अफर गरेको हल्ला चलेको थियो । तर एमालेले सो विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।

वैशाख २५ गते केपी ओलीले माओवादीलाई लक्षित गर्दै दूध भात दिन सकिने मात्रै बताएका थिए । त्यसपछि स्थानीय तहको निर्वाचनमा होमिएका दलहरुबीच संवाद गर्ने अवस्था बनेको थिएन । स्थानीय तहको निर्वाचनपछि एमाले र माओवादीबीच निरन्तर कुराकानी र भेटघाट भैरहेका छन् । तर औपचारिक कुराकानीको सन्र्दभ भने बाहिर आएको छैन ।
तर मंगलबार साँझ नेकपा एस पार्टीका अध्यक्ष नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको पार्टीको केन्द्रीय परिषद बैठकमा बताएका थिए । यसअघि काठमाडौं बाहिर पुग्दा पत्रकारसग नेपालले प्रचण्ड र आफुलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए ।

राष्ट्रिय प्रतिनीधि परिषदको बैठकलाई सम्बोधन गर्ने क्रममा फेरि सो कुरा बताएपछि कार्यकर्ताहरुमाझ पनि कौतुहलता सिर्जना भएको थियो । ‘मलाई केही दिन अघि मात्रै, पार्टीको बैठक आयोजना गरिरहँदा कहिँ कतैबाट प्रधानमन्त्रीको अफर आएको थियो तर म त्यस्तो प्रलोभनमा लोभिने मानिस होइन’, नेपालले भने ।

खासगरी वामगठबन्धनको कुरा चलिरहेको बेला अध्यक्ष नेपालले सो विषयलाई वैठकमा उजागार गरेका थिए । ´कोही साथीले प्रधानमन्त्रीको अफर लिएर आउनु भयो, यस्ता प्रस्तावहरु छन्, तर म समग्र साथीहरुको हित चाहन्छु’, उनले भनेका थिए ।

तर यो विषयमा बैठकपछि थप चर्चा नभएपनि कार्यकर्ताले कुन पक्षबाट माधब नेपाललाई त्यस्तो प्रस्ताव आएको हो भन्ने बारेमा केही अनुमान लगाउन नसकेको एक नेताले बताए ।

प्रतिक्रिया