बुधबार, वैशाख १२, २०८१

राष्ट्रपति -प्रधानमन्त्री भेटवार्ता : एसपीपी देखि प्रधानन्यायाधीसको महाअभियोगसम्मका विषयमा छलफल

मेरोन्यूज २०७९ असार १४ गते २१:१०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । मंगलवार शीतल निवासमा बेलुकी साढे ५ देखि साढे ६ बजेसम्म दुई नेताका वीचमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेटन समय लिएर शित्तल निवास पुगेका थिए । प्रधानमन्त्री कार्यालयले भने यसलाई नियमित भेटघाट भएको बताएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टिका ढकालले पनि भेटवार्तालाइृ नियमित ब्रिफिङका रुपमा भएको भेटवार्ता भएको बताएका छन् ।

भेटमा राष्ट्रपतिले जनसरोकार र राष्ट्रियतासँग सम्बन्धित विविध विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको शित्तल निवास स्रोतले बताएको छ । पछिल्लो समय चर्चामा रहेको एसपीपीका विषयमा पनि राष्टपतिले चासो राखेको स्रोतको दाबी छ । उनले ‘एसपीपी’ को उच्चारण नगरीकन नेपालको असंलग्न परराष्ट्र नीतिमा आँच आउन दिन नहुनेबारे प्रधानमन्त्रीसँग छलफल गरेकी थिइन् । भण्डारीले एमाले निकट पत्रकारहरुलाइ शित्तल निवासमा बोलाएर यस अगाडी नै यसबारेमा आफनो चासो सार्वजनिक गराएकी थिइन् ।

जवाफमा प्रधानमन्त्रीले एसपीपीको विषयमा सबै दलहरूबिच समान धारणा रहेको भन्दै यसको समाधान भइसकेको बताएका थिए ।

‘संविधानमा उल्लेखित नेपालको परराष्ट्र नीतिअनुसार अगाडि बढ्न सरकार प्रतिबद्ध छ’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजनीतिक दलहरूलाई विश्वासमा लिएर सरकार अघि बढ्छ ।’

भेटका क्रममा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि चासो व्यक्त गरेकी थिइन् ।

संसद्मा पेस भएको महाअभियोग प्रस्तावलाई छिटो निकास दिनुपर्नेमा उनको जोड रहेको स्रोतले बताएको छ । ‘प्रस्ताव दर्ता गरिसकेपछि छलफलमै नलैजानु प्रजातान्त्रिक हुँदैन,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

मनसुनको सिजन सुरु भएर बाढी–पहिरोका खबर आउन लागेको विषयमा पनि भण्डारीले चासो राखेकी थिइन ।

जवाफमा देउवाले सरकारका निकायहरू अलर्ट अवस्थामा रहेको जानकारी राष्टपति भण्डारीलाई गराएका थिए ।

प्रतिक्रिया