बिहीबार, वैशाख ६, २०८१

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो

मेरोन्यूज २०७९ असार १४ गते २०:०३

काठमाडौँ । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाले सप्तकोसीमा पानीको बहाव बढेको हो ।

कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् ।

पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जलस्तर बढ्दो क्रममा छ ।

यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव बढेसँगै नदीमा डुंगा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया