शनिबार, वैशाख १५, २०८१

एसपीपी पत्राचार विवादमा बोले ओली

‘ईश्वरी पौडेलले कांग्रेसी पल्टिन दोष लगाउन खोज्नुभएछ, अमेरिकी दूतावासले यसमा सत्य बोल्नुपर्छ’

एसपीपीको पत्र म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको थियो, यसबारे सत्य अमेरिकी एम्बेसीले बोलोस् भन्ने चाहान्छु

मेरोन्यूज २०७९ असार १४ गते १९:४०

काठमाडौँ । सरकारले च्याप्टर क्लोज गरिसकेको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अमेरिकी दूतावासले बोल्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले बताएका छन् । आफुले दुतावासलाई पत्र पठाएको भनी सरकारले आफनो काँधमा आरोप हालेको भन्दै अध्यक्ष ओलीले दुतावासले यसबारेमा सत्यतथ्य बोलेर कन्फूयजन हटाईदिनुपर्ने बताएका हुन् ।


मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । ओलीले आफुले नभइ आफु भन्दा अगाडीका कांग्रेसका तत्कालिन सभापति समेत रहेका शुसिल कोइराला नेतृत्वको सरकारले पत्र पठाएको बताए ।

‘२७ अक्टोबर भनेर मिति लेखिएकोमा त्यो २७ चाहिँ हातले लेखिएको छ । र अरु सबै टाइप । किनभने त्यसमा हातले केरमेट गर्नुपर्‍यो । त्यो मोटाएर २७ तारिख लेखिएको छ । किनभने केपी ‌ओलीलाई कोच्नका लागि आज लेखिएको हो त्यो २७ तारिख । अहिले लेखिएको हो’ अध्यक्ष ओलीले भने, ‘चलानी नम्बर पहिलेको फेरिएर ८५ कसरी भयो । हातले किन लेख्नु पर्‍यो ? सबै लाइनमा छ । बीचको ८५ चाहिँ छैन । सबै टाइप गरिएको छ र बीचको ८५ कसरी हातले लेख्नु पर्‍यो ? यो छली काम अहिलेको सरकारले गरेको छ।’

उनले आफु प्रधानमन्त्री नहुँदै पठाइएको पत्रका बारेमा अमेरिकी दुताबासले सत्य तथ्य बोल्नुपर्ने बताए । ‘यो पत्र म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको थियो । यसबारे सत्य अमेरिकी एम्बेसीले बोलोस् भन्ने चाहान्छु,’ ओलीले भने । अध्यक्ष ओलीले हाल निर्वाचन आयोगका सदस्य रहेका तत्कालीन रक्षासचिव ईश्वरी पौडेलले पत्र लेख्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीलाई जानकारी रहेको भनेर दिएको अभिव्यक्तिको पनि खण्डन गरे । यसबारे ओलीले पौडेललाई कांग्रेसी पल्टिन खोजेको भनी आरोप लगाए ।

‘अहिले निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले केपी ओलीको पालामा भनेर निकै कांग्रेसी पल्टिन खोज्नु भयो । सत्ता पक्षीय पल्टिन खोज्नुभयो । उहाँ रक्षासचिव हुनुहुन्थ्यो केपी ‌ओलीलाई बताएको थिएँ भन्नु भएछ । उहाँले केपी ओलीलाई भेट्नु भयो ? केपी ओली हेडक्वाटर गयो ? वा पत्राचार गरेर सोध्नु भयो ?’ ओलीले पौडेललाई लक्षित गर्दै प्रश्न गरे ।

ओलीले पत्रमा मिति र चलानी नम्बर हातले लेखेको विषयलाई लिएर पनि सेनाप्रति आपत्ति जनाए । ‘एसपीपी सम्बन्धमा म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनुसक्छ, चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ । पहिलेको हटाएर, पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ, हातले । सबै टाइप छ, पछि हातले किन लेख्नु पर्छ । टिपेक्स लगाएर मेटाएर हातले लेखेको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहान्छु,’ अध्यक्ष ओलीले भने ।

यसअघि एमालेका सांसदहरूले पनि यो विषयलाई संसदीय समितिमा उठाएका थिए । समितिमा उपस्थित रहेका प्रधान सेनापति प्रभुराम शर्माले तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको जवाफ दिँदै पत्रमा हस्ताक्षर गर्ने अधिकारीले नै हातले मिति लेख्ने चलन सेनामा भएको भनी प्रष्टीकरण दिएका थिए ।

ओलीले भने यसबारे पूर्वसेनापति क्षेत्रीसँग सोध्नुपर्ने प्रतिक्रिया दिएका थिए । ‘त्यस समयमा प्रधान सेनापति राजेन्द्रबहादुर क्षत्री जीवितै अमेरिकामा हुनुहुन्छ । उहाँसँग सोधे हुन्छ नि त । त्यस समयको रक्षामन्त्री र प्रधानमन्त्रीलाई बताउनु भएको थियो कि थिएन ? नेपाली सेनाले बतायो कि बताएन ? त्यो बताएको भए सेनाले पत्राचार गर्ने कुरा सरकारले रोक्थ्यो । सेनालाई एम्बेसीलाई पत्र लेख्ने कुरामा रोक्थ्यो,’ ओलीले भने ।

एसपीपी कार्यक्रमका विषयमा देशभित्र चौतर्फी विरोध पछि सरकारले कार्यक्रम अश्वीकृत गर्ने क्याविनेट बैठकबाटै निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयले यस सम्वन्धमा अमेरिकालाई पत्र नै लेखेर जानकारी गराउन परराष्ट मन्त्रालयलाई पत्राचार गर्नलाई निर्देशन गरिसकेको छ ।

प्रतिक्रिया