बिहीबार, वैशाख १३, २०८१

नेपालमा विश्वकै दूर्लभ क्यान्सरको उपचार, भारतबाट आएका थिए विरामी

मेरोन्यूज २०७९ असार १४ गते १७:३०

काठमाडौँ । नेपालमा विश्वकै दूर्लभ प्रकारको क्यान्सरको शल्यक्रिया भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको न्युरो सर्जन युनिट र कार्डियो थोरापिक भास्कुलर युनिट (सीटीभीएस)को टोलीले उक्त क्यान्सरको शल्यक्रिया गरेको हो ।

भारतको बिहार प्रान्तका सात वर्षीय बालकको न्युरोग्याङ्गिलिओमा भएको क्यान्सरको ट्युमरको शल्यक्रिया गरेका अस्पतालले जनाएको हो । यो क्यान्सरको ट्युमर बालकको घाँटीबाट सुरु हुने मेरुदण्डको हड्डी हुँदै फोक्सोसम्म पुगेको थियो ।

शल्यक्रियामा संलग्न प्रमुख न्यूरो सर्जन डा. आलोक दाहालले यस्तो प्रकारको क्यान्सर १० लाखमध्ये एक जनामा हुने बताए । उनले यो क्यान्सर बालबालिकामा देखिनु थप दुर्लभ भएको बताए । क्यान्सरको ट्युमरलाई पहिले न्युरो युनिट र दुई सातापछि सीटीभीएस टिमले शल्यक्रिया गरेका थिए ।

न्युरोग्याङ्गिलिओमाले च्याप्दै लगेपछि बालकको उमेर करिब चार वर्ष नपुग्दै हातखुट्टा चल्न छाडेको थियो भने फोक्सोमा पनि ट्युमर फैलिएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

बालकको अवस्था जटिल हुँदै गएकाले तत्काल मेरुदण्डको ट्युमर हटाउन न्युरो सर्जरी युनिटले शल्यक्रिया गर्ने निर्णय गरेको डा. दाहालले बताए । उनका अनुसार ५ घण्टा लामो शल्यक्रिया गरेर ती बालकको मेरुदण्डमा फैलिएको ट्युमर निकालेको र हिँडडुल गर्न सक्ने भएपछि सीटीभीएसका एसोसिएट प्राध्यापक डा. लोकेश जैसवाल र डा. विजय साहको टोलीले फोक्सोमा फैलिएको ट्युमरको शल्यक्रिया गरेका थिए ।

उनका अनुसार ती बालकलाई उपचारका लागि वैशाख ४ गते भर्ना गरेर गत जेठ १ गते डिस्चार्ज गरिएको थियो । सोमबार फलोअपका लागि बोलाइएका ती बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बीपी प्रतिष्ठानमा बालकको मेरुदण्ड र फोक्सोको ट्युमर निकाल्दा बढीमा ७० हजार रुपैयाँ मात्रै खर्च भएको थियो ।

प्रतिक्रिया