शनिबार, वैशाख ८, २०८१

दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने 

मेरोन्यूज २०७९ असार १४ गते १७:०४

काठमाडौं । सिसडोलदेखि बन्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरका कारण बन्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहोर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बन्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहोरको डंगुर पार गर्नुपर्ने बाध्यता छ ।

वर्षाको समय सुरु भएसँगै फोहोर कुहिन थालेको छ । कुहिएको फोहोर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहोर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ ।

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन् ।
सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहोरका गाडी बन्चरेडाँडा पुग्ने गरेका थिए । वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहोर व्यवस्थापन हँदै आएको छ । हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।
गत फागुनदेखि जेठसम्ममा सिसडोल–बन्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । सिसडोल–बन्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बने पनि बाटोको कारण सहज भने भएको छैन ।

यसैबीच, कामपाले आउँदो साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहोर संकलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेकपटक ५०० रुपैयाँ जरिवाना गरिनेछ । रासस

प्रतिक्रिया