मंगलबार, वैशाख ११, २०८१

कहाँ कहाँ भेटियो राजधानीमा हैजा संक्रमण ? कसरी जोगिने ?

उपत्यकाका १२ स्थानमा हैजाका संक्रमण देखा परिसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ

मेरोन्यूज २०७९ असार १४ गते ८:३६

काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्म १२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । दुई साताअघि बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा पहिलो पटक हैजा देखिएको थियो । त्यसयता यसको संक्रमण क्रमश: विस्तार हुने क्रममा छ । उपत्यकाका काठमाडौं र ललितपुरमा संक्रमण पुष्टि भईसकेको छ । भक्तपुरमा भने यो देखिइसकेको भने छैन ।

हैजा संक्रमण पुष्टि भएका विरामीहरुको उपचारका लागि सरकारले डेडिकेडेड अस्पतालका रुपमा पाटन अस्पताललाई तोकेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएको र विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

हैजाका जीवाणु देखिएका बिरामीको टेकु, पाटन, बयोधालगायत अस्पतालमा उपचार भइरहेको छ। पाटन अस्पताल र वयोधा अस्पतालमा एकएक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जना हैजाका बिरामी उपचाररत छन् ।

के हो हैजा ?
हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ । नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक संक्रामक रोग भनेर लेखिएको छ । यसका लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन् ।


हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ । यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ । शरीरमा भएको जलवियोजनका कारण छाला नीलो भएर जान सक्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् ।

हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरियाका कारणले हुने रोग हो । जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन् । यो रोग प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ ।
हैजाका मुख्य लक्षणहरू ठूलो मात्रामा पानी जस्तै- पातलो पखाला लाग्नु तथा बान्ता हुनु हुन् ।

प्रायजसो यी लक्षणहरू शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र अचानक देखा पर्छन् । हैजाका कारणले हुने पखाला चौलानीजस्तै सेतो हुने हुनाले यसलाई अंग्रेजीमा राइस वाट भनिन्छ । यस्तो पखालाको गन्ध माछाको जस्तै हुन्छ ।

यी ठाँउमा देखिए हैजाको संक्रमण

काठमाडौंमा : बागबजार, डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप, बूढानिलकण्ठ र कोटेश्वरमा
ललितपुरमा : सानेपा

कसरी जोगिने ?

  • स्ट्रिट फुडको गुणस्तरमा ध्यान दिनुपर्ने
  • जार, धारा, क्यान्डिल फिल्टरको पानी मात्र नभई सकेसम्म सबै खालको पानी राम्ररी उमालेर मात्र सेवन गर्ने
  • मम: हालिने झोल, पानीपुरीको पानी, झिंगा भन्केको, चिसो तरल खाद्य पदार्थ हालका लागि सेवन नगर्ने
  • स्कूल, कलेज, कार्यालयहरुको क्यान्टिनको सरसफाई र खानेकुराको गुणस्तरमा ध्यान दिने
  • विद्यार्थीलाई नङ काट्ने, नुहाउने र सरसफाईमा ध्यान दिन लगाउने

प्रतिक्रिया