शुक्रबार, चैत १६, २०८०

नेपाली कर्मचारीको कार नै लुट्ने तीन भारतीय पक्राउ

मेरोन्यूज २०७९ असार १३ गते १८:३८

काठमाडौँ । डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका १ स्थित भित्री सडकमा पर्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ घर भएका १८ वर्षीय साहिल बादलिसे, २० वर्षीय सन्नी जोट र २१ वर्षीय भगत सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान कञ्चनपुरको महेन्द्रनगरबाट भण्डारीको सहयोग मागेर खानीडाँडा घुम्ने भन्दै आएका भारतीय नागरिकले भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ को सेल्फी डाँडा नजिकैबाट उनलाई कुटपिट गर्दै लुटेर भागेका थिए ।

उनीहरुले भण्डारी सवार प्रदेश–३–०१०२३ च ८७२१ नम्बरको कार पनि नियन्त्रणमा लिएका थिए । उक्त कार गोदावरी नगरपालिका–१ स्थित शान्तिनगर जाने भित्री सडकखण्डमा वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया