शुक्रबार, वैशाख १४, २०८१

गायिका दिलमाया मृत्यु प्रकरण : प्रेमी श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

मेरोन्यूज २०७९ असार १३ गते १८:०९

काठमाडौँ । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कर्तव्य ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर हालसम्म सुनारको मृत्युको कारण खुलेको छैन ।

सिन्धुपाल्चोकको साँगाचोकगढीका श्रेष्ठले दिलमाया झुन्डिएको भनिएको सल महाराजगञ्जस्थित झाडीमा फेला परेको छ । मोबाइल भने अझै भेटिएको छैन । श्रेष्ठले आफूले हत्या नगरेको बताए पनि गतिविधि शंकास्पद पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

दिलमायाको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले पोष्टमार्टमसँगै दिलमायाको आत्महत्या वा हत्या भन्ने प्रष्ट हुने बताए ।

प्रतिक्रिया