शनिबार, वैशाख ८, २०८१

मधेसको माओवादी घर-झगडा : प्रचण्डले मिलाउन सक्लान् ?

मधेस प्रदेशका सबै जिल्ला इञ्चार्जलाई काठमाडौँ बोलाएर छलफल गरेका प्रचण्ड केन्द्रीय समिति बैठकअघि विवाद मिलाउने प्रयास

मेरोन्यूज २०७९ असार १३ गते १८:३४

काठमाडौँ । देशभर नेकपा माओावादी केन्द्रले स्थानीय तह चुनावमा उत्साहजनक परिणाम ल्याउँदा मधेस प्रदेशमा परिणाम अपेक्षित ल्याउन सकेन । अघिल्लो चुनावमा माओवादीभन्दा कमजोर रहेको एमालेले मधेसमा परिणाम सुधार्दा माओवादी झन कमजोर बन्न पुगेको छ ।

विं.सं. ०७४ सालको चुनावमा माओवादी केन्द्रले मधेस प्रदेशमा १३ वटा नगर र ८ गाउँपालिका गरी २१ पालिकाको नेतृत्वमा जितेको थियो । त्यस्तै, २४ उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो । यसैगरी ३३१ वडाध्यक्षको स्थानीय तह चुनावमा माओवादीले मधेस प्रदेशबाट जितेका थिए । तर, यसपालि देशभर समग्रमा परिणाम बढाउँदा मधेस प्रदेशमा ९ पालिकाको नेतृत्वमा मात्रै माओवादी खुम्चिएको छ ।

माओवादीको मधेसमा जनमत नै नभएर परिणाम खुम्चेको हो त ? माओवादीका नेताहरु यसलाई स्वीकार गर्न चाहदैनन् । त्यसो भए कसरी खुम्चियो त माओवादी मधेसमा ? माओवादीका मधेस प्रदेश इञ्चार्ज गणेश साह भन्छन्, ‘आन्तरिक गुटबन्दी, मधेसको पार्टीभित्र गुटबन्दीले पार्टीलाई असर गरिरहेको छ, त्यही गुटबन्दीका कारण स्थानीय तहको निर्वाचनमा नराम्रोसँग हार व्यहोर्नु परेको हो ।’

मधेस प्रदेशमा माओवादीको जब्बर दुई गुट छन् । एउटा गुटको नेतृत्व मात्रिका यादवले गरिरहेका छन् भने अर्को गुटको नेतृत्व गिरिराजमणि पोखरेलले । दुई गुटबीचको विवादमा एक अर्कालाई सन्तुलनमा राख्ने गरी गणेश शाह (तेस्रो नेता)लाई माओवादीले प्रदेश इञ्चार्ज बनाएर पठाएको थियो । तर, शाहले पनि विवाद मिलाउन सकेनन् । उनले मधेसका युवा नेतालाई साथमा लिएर अलग तरिकाले पार्टी संगठन चलाउन खोजे । तर, मात्रिका र गिरिराजमणिको गुटबन्दीमा उनले केही गर्न सकेनन् ।

गुटबन्दी यतिसम्म झाँगियो की, गत २०७८ मंसिर २५ मा सबै प्रदेशको एकसाथ सम्मेलन उद्घाटन भई अन्य सबै प्रदेशमा नयाँ नेतृत्व आउँदासमेत मधेस प्रदेशमा अहिलेसम्म समिति बन्न सकेको छैन । मधेसका अधिकांश पालिकामा समेत नेतृत्व विवाद टुंगिएको छैन । विवाद समाधान नगरी स्थानीय तहको चुनावमा होमिएको माओवादी केन्द्रले मधेसमा नराम्ररी धक्का ब्यहोरेको थियो ।

पार्टीको महाधिवेशनमा समेत शहीद रामवृक्ष यादवको शालिकका विषयमा लफडा जन्मियो । मात्रिका पक्षले गिरिराजमणिलाई आरोपित गर्ने गरी महाधिवेशनको बन्द शत्रमै रिर्पोटिङ राख्ने काम गर्यो । त्यसको प्रतिवादमा गिरिराजमणिले एक दिन बन्दशत्र नै बहिष्कारसम्म गरे । अन्ततः प्रचण्डले हस्तक्षेप गरेर त्यो विवाद मिलाउनु परेको थियो ।

यसबाहेक आरोप प्रत्यारोप र एकले अर्कोको अस्तित्व नै नस्वीकार्ने रोग मधेसमा माओवादीभित्र कायमै छ । जसको परिणाम अघिल्लो चुनावमा मधेस आन्दोलनको रापताप कायमै रहँदा माओवादीले एक्लै महोत्तरीको बर्दिवास र गौशाला नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । योपटक दुवै गुमाएको छ । यहाँ अन्र्तघातले माओवादीले चुनाव हारेको माओवादीले बताएको छ ।

पार्टीभित्रको असहिष्णु गुटकै कारण महोत्तरीको बर्दिबास लगायत पालिकामा अन्तर्घात भएको प्रदेश इञ्चार्ज शाह बताउँछन् ।

प्रचण्डले लिए जिल्ला इञ्चार्जसँग रिर्पोटिङ

माओवादी अध्यक्ष प्रचण्डले मधेसमा देखिएको पार्टीभित्रको चरम गुटबन्दी मिलाउने प्रयास थालेका छन् । प्रदेशका सबै जिल्लाका जिल्ला इञ्चार्जलाई उनले केही दिनअगाडि मात्रै काठमाडौँमा बोलाए ।

आफ्नै निवासमा सबै जिल्ला इञ्चार्जलाई सँगै राखेर कुन जिल्लामा कस्तो अवस्था रहेको र चुनाव के कति कारणले अपेक्षित हुन नसकेको भनी रिर्पोटिङ लिने काम गरेका थिए । पार्टीभित्रकै घात अन्र्तघात र असहयोगले मधेसमा पार्टीले चुनावी परिणाम अपेक्षित ल्याउन नसकेको प्राय सवै जिल्ला इञ्चार्जले प्रचण्डलाई बिफ्रिङ गरेको एक जिल्लाका इञ्चार्जले मेरोन्यूजलाई बताए ।

जिल्ला इञ्चार्जहरूको रिपोटिङका क्रममा सप्तरी, सिराह र महोत्तरीमा सबैभन्दा बढी पार्टीभित्रकै गुटबन्दी र असहयोगले पार्टीले चुनाव हार्नु परेको समीक्षात्मक विश्लेषण प्रचण्डलाई सुनाएका थिए ।

‘मुख्यतः सप्तरी, सिराह अनि महोत्तरीमा पार्टीभित्रकै असहयोगका कारण पार्टीले चुनाव हारेको करिब निष्कर्ष रह्यो, त्यहाँका विषय जटिल नै देखियो, त्यसैले ती जिल्लामा छानबिन गर्नु पर्ने गरी अध्यक्षसँगको छलफलमा कुरा उठेको छ,’ ती जिल्ला इञ्चार्जले भने, ‘सम्भवत छानविन समिति बन्छ होला अब त्यहाँका बारेमा अध्ययन गर्न ।’

छलफलका क्रममा माओवादीको आफ्नो पहिचान नदेखिएको, टिकट वितरणमा जित्नेलाई छोडेर गुटबन्दीका आधारमा वितरण भएको, बागी उम्मेदवार उठेको, जातीय, क्षेत्रीय सन्तुलन मिलाउन नसकिएको, पार्टी कमिटी निर्माण गर्न नसकिएको जस्ता कारण मधेसमा पार्टीलाई क्षति पुगेको रिपोटिङ प्रायः जिल्ला इञ्चार्जहरूको थियो ।

जिल्ला इञ्चार्जहरूको रिर्पोटिङपछि प्रचण्डले केन्द्रीय समिति बैठकअगाडि नै विवाद निरुपण गर्ने गरी कुनै समाधानको विधि खोजिने आश्वासन नेतालाई दिएर पठाएका छन् । माओवादीले केन्द्रीय समितिको बैठक असार १९ गतेका लागि बोलाएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल प्रशान्तका अनुसार आगामी असार १९ मा बस्ने केन्द्रीय समितिको बैठकमा मधेस प्रदेशको विवादबारे निर्णय हुनेछ । ढकालले भने, ‘१९ गते केन्द्रीय समितिको बैठक छ, केन्द्रीय समितिकै बैठकले मधेस प्रदेशमा देखिएको विवादलाई मिलाउने विषयमा आवश्यक निर्णय गर्छ ।’

कसरी समाधान हुन्छ विवाद ?

मधेस प्रदेशमा पार्टीका प्रभावशाली नेताकै जब्बर गुट छन् । मात्रिका, गिरिराजमणिका ८ वटै जिल्लामा जब्बर गुट छन् । दुई नेताको टसलले मधेसको पार्टी निर्माणका लागि माओवादीले गणेश शाहलाई इञ्चार्जको जिम्मेवारी दिएर पठाएको थियो । अहिले शाहको बलबुताभन्दा बाहिर मधेसको गुटबन्दी झाँगिएको माओवादी नेताहरू बताउँछन् ।

‘गणेश शाहले मात्र अब विवाद मिलाउन सक्ने देखिदैन, विकल्प नै खोज्नु पर्ने अवस्था देखिएको छ,’ मधेसका एक माओवादी केन्द्रीय सदस्यले भने । मात्रिका, गिरिराज र गणेश तीनै जनाले अब विवाद मिलाउन सक्ने अवस्था मधेसको माओवादीको संगठनमा देखिदैन । माथिबाटै हस्तक्षेपकारी नीति अवलम्बन गर्नु पर्ने अवस्था छ ।

त्यसो हुँदा मधेसको जिम्मेवारी तीनै जना नेताको हातबाट खोस्ने तयारीमा माओवादी देखिन्छ । तर, विकल्पमा कुन नेतालाई मधेसको जिम्मा दिएर पठाउने ? माओवादीले विकल्पमा छलफल गर्दा पनि यही नेता पठाऔँ भन्ने अवस्था देखिएको छैन । जसले केन्द्रीय हेर्डक्वाटर्रबाटै हस्तक्षेप गर्नु पर्ने मत मधेसको माओवादी नेता कार्यकर्ताको छ ।

त्यसो हुँदा प्रचण्ड आफैले मधेसको विवाद मिलाउन सक्रियता बढाउनु पर्ने मत माओवादीमा छ । अध्यक्षले संघ, प्रदेशको चुनावको संघारमा मधेसको पार्टीको ठोस जिम्मा नै आफैले लिएर काम गर्न र समय दिन भ्याउने अवस्था पनि देखिएको छैन ।

यसले मधेसको माओवादी विवाद कसरी मिल्छ ? र अबको विकल्पमा कुन नेताले मधेसको जिम्मा पाउँछन् ? भन्नेमा माओवादीभित्र निक्कै चासोको विषय बनेको छ ।

प्रतिक्रिया