बिहीबार, वैशाख २०, २०८१

झाँक्रीलाई विस्थापित गर्ने शहरी विकास मन्त्री चौधरी को हुन् ?

मेरोन्यूज २०७९ असार १३ गते १२:०६


काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र नेताहरुलाई आलोपालो सरकारमा भाग दिने नीति अनुसार मन्त्री मण्डल हेरफेर भएको छ । एकीकृत समाजवादीका ४ मन्त्री सरकारबाट बाहिरिँदै उनीहरुले नै सम्हाल्दै आएका मन्त्रालयमा एकीकृत समाजवादीकै नयाँ ४ मन्त्री सरकारमा सहभागी भएका छन् ।
प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मन्त्रीपरिषद् हेरफेर गरेकी थिइन् । सरकारमा सहभागी नयाँ मन्त्रीहरुको सपथ ग्रहण पनि आजै (सोमबार) भएको छ ।
एकीकृत समाजवादीका सचिव समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले ८ महिना लामो समय सम्हालेको शहरी विकास मन्त्रालयको जिम्मेवारी उनकै पार्टीका मेटमणि चौधरीको काँधमा पुगेको छ । चौधरी यस अगाडी नै मन्त्री बन्ने सूचीमा थिए । तर अन्तिम समयमा उनको मन्त्री पद खोसिएको थियो र दोस्रो लटमा मन्त्री बन्ने गरी उनलाई राखिएको थियो ।

गत २२ जेठमा एकीकृत समाजवादीले सरकारमा सहभागी आफना पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलार्इ पठाउने निर्णय गरेपछि शहरीमा चौधरी मन्त्री बनेका हुन् । रामकुमारीले मन्त्री पद छोडदै गर्दा निक्कै चित्त दुखाएर छोडेकी थिइन् । मन्त्रालयमा उनको विदाईका लागि आयोजना गरेको कार्यक्रममा उनी रुदै बाहिरिएकी थिइन् । उनको स्थानमा आएका चौधरी सरल स्वभावका छन् ।

को हुन् शहरी विकास मन्त्री चौधरी ?

पहिलो पटक क्याबिनेट मन्त्रीका रुपमा सरकारमा सहभागी भएका चौधरीसँग मन्त्रालय चलाएको अनुभव छैन । आफ्नै पार्टीकी नेतृ रामकुमारी झाँक्रीले चलाउँदै आएको मन्त्रालयमा उनकै विडो थाम्ने गरी मन्त्रीमा पुगेका चौधरीलाई मन्त्रालय चलाउने चुनौति उत्तिकै छ । अवसर र चुनौति दुबै बोकेर शहरी विकास मन्त्रालयको जिम्मेवारीमा पुगेका चौधरी २०२९ साल चैत १० गते दाङको गढवा गाउँमा जन्मिएका हुन् ।

पिता भगवती प्रसाद चौधरी र माता शिव रात्रिदेवी चौधरीका कोखबाट उनको जन्म भएको थियो । ५० वर्षीय चौधरीले दुई वर्षको प्रेमपछि २०५८ सालमा खुमा कुमारी चौधरीसगँ प्रेम विवाह गरेका थिए । खुमा कुमारी पनि राजनीतिमा सक्रिय नै छिन् ।

चौधरी नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष पनि हुन् । उनी उक्त पार्टीको पोलिटब्यूरो सदस्य छन् । राजनीतिक परिवारमा जन्मिएकैले उनलाई सानै देखि राजनीतिमा रुची थियो । सोहीकारण पनि चौधरी सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने गर्दथे ।

बुबा पनि राजनीति लागेकोले सानैदेखि राजनीतिमा रुचि भएको उनी बताउँछन् । चौधरीको बुबा २०५१ सालको मध्यवर्धी निर्वाचनमा चुनाव उठेका थिए । उनको ठुलो दिदी दाङ जिल्लाको गढवा गाउँपालिका निवर्तमान उपाध्यक्ष हुन् ।

अर्की दिदी पार्टीको शिक्षक सङ्गठनमा छिन् । राजनीतिक र सामान्य परिवारमा हुर्केको उनको राजनीति यात्रा भने विद्यार्थी राजनीतिबाट २०४६ सालपछि मात्रै शुरु भएको हो । नम्र बोली, मिलनसार व्यवहारका धनी मेटमणि दाङ देउखुरीका स्थायी बासिन्दा हुन् । उनले शुरुमा अनेरास्ववियु छौटौँबाट राजनीति सुरु गरेका थिए ।
अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष , जिल्ला सदस्य, अध्यक्ष,राप्ती अञ्चल कमिटीको सदस्य,कोषाध्यक्ष,सचिव,संयोजक र केन्द्रीय सदस्यसम्म उनी बनेका थिए । पाटी राजनीतिमा नेकपा एमाले दाङ क्षेत्रीय कमिटी १ को सचिवको जिम्मेवारीवाट शुरु गरेका चौधरीले क्षेत्रीय कमिटी सचिव,अध्यक्ष हुँदै २०५५ सालमा दाङ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए ।
केन्द्रीय स्कुल विभागको सदस्य हुँदै पाटीको नवौँ महाधिवेशनमा उनी एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि दाङ जिल्लाको उनी इन्चार्ज बनेका थिए । नेपालमा रहेका तत्कालीन दुई ठुला कम्युनिस्ट पाटीको एकता भएर वनेको नेकपाको केन्द्रीय सदस्यमा समेत उनले रहेर काम गरेका थिए ।

सानै देखि खरो स्वभावका चौधरी नेकपा विभाजन भएर नेकपा एमालेमै रहे । तर केपी ओलीले संविधान विपरीत ससंदको दुई दुई पटक विघटन गरेपछि उनी ओलीको कटटर आलोचक बनेर निस्किए । केपी ओली प्रवृत्तिको खुलेर कडा रूपमा आलोचना गर्दै विरोधमा निरन्तर लागिरहे । त्यसपछि उनी माधव नेपालसँगै एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा पुगे ।

२०७४ सालमा दाङ जिल्लाको क्षेत्र नम्बर १ बाट करिब १४ हजार मतान्तरले प्रतिनिधि सभामा निर्वाचित चौधरी हाल एकीकृत समाजवादी पाटीका तर्फबाट प्रतिनिधि सभा सदस्यका रूपमा रहेका छन् ।

राजनीति यात्राकै क्रममा उनले २०५९ सालमा जेल जीवन समेत बिताएका थिए । मानव अधिकार जागरण मञ्च दाङको संयोजक,कमैया मुक्ति समाजको केन्द्रीय सदस्य,थारु विद्यार्थी समितिको केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारी सघको केन्द्रीय सदस्य लगायत जिल्लामा रहेका विभिन्न सामाजिक सघ संस्थाहरूमा समेत संलग्न रहेर काम गरेको उनीसँग अनुभव छ ।

चौधरीले अर्थशास्त्र र राजनीति शास्त्रमा एमए गरेका छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालयबाट पिएचडी समेत गर्दै छन् । उनको श्रीमती, १ छोरी र १ छोरा छन् ।

प्रतिक्रिया