शुक्रबार, वैशाख १४, २०८१

को हुन् पर्यटनमन्त्री बनेका जीवनराम श्रेष्ठ ?

मेरोन्यूज २०७९ असार १३ गते १२:०७

काठमाडौं । जीवनराम श्रेष्ठ पर्यटनमन्त्री नियुक्त भएका छन् । आगामी मंसिर पहिलो सातासम्म सरकारले संघ प्रदेशको चुनाव गराउने गरी तयारी गरेमा पर्यटनमन्त्री नियुक्त भएका श्रेष्ठको कार्यअवधी लामो हुने छैन । उनी करिब ५ महिना मात्रै सरकारमा रहन पाउनेछन् । त्यसपछि चुनावबाट आउनेले सरकार चलाउनेछ । तर अहिले आफ्नै पार्टीको विवादमा आईरहन रुचाउने प्रेम आलेले सम्हालेको पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्न उनी सिंहदरबार पुगेका छन् ।

खेलकुद क्षेत्रमा धेरैका सामु चिनिएका उनीसँग खेलकुदको बारेमा राम्रो अनुभव छ । तर पर्यटनमा उनको नयाँ अनुभव हुनेछ । उनी पनि मन्त्रीका रुपमा नयाँ अनुहार लिएर सरकारमा सहभागी भएका हुन् । नेपाली खेलकुद क्षेत्रमा बलियो शक्तिका रुपमा अहिले पनि जीवनराम श्रेष्ठ चिनिने गर्छन् ।

खेलकुद क्षेत्रबाटै राजनीति शुरु गरेका श्रेष्ठ दुईपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र तीनपटक ओलम्पिक कमिटी नेपालका अध्यक्ष भएका भएका व्यक्ति हुन् । उनी एकीकृत समाजवादीका संसदीय दलको प्रमुख सचेतक पनि थिए । उनी पनि प्रत्यक्ष तर्फ निर्वाचित सांसद हुन् ।

काठमाडौंका उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका थिए । उनले कांग्रेसका नविन्द्रराज जोशीलाई पराजित गरेर सांसद बनेका थिए । उनी राखेपमा विसं २०५३ सालमा पहिलो पटक सदस्य–सचिवका रुपमा नियुक्त भएका थिए ।
एकवर्ष मात्र सदस्य–सचिव पद सम्हालेका उनी २०६३ सालमा दोस्रो पटक सदस्य–सचिवका रुपमा नियुक्त भए । उनी १२ औँ र १६ औँ सदस्यसचिव थिए । जीवनराम श्रेष्ठ हालको नेपाल ओलम्पिक कमिटीको निर्वाचित अध्यक्ष हुन् ।

त्यस्तै, सन् १९७७ मा एक वर्ष कमिटीको अध्यक्ष भए । त्यसपछि सन् २०१५ बाट हालसम्म दुई कार्यकालका लागि ओलम्पिक कमिटीका अध्यक्ष बने ।

उनी नेपाल ओलम्पिक कमिटीको पूर्व महासचिव पनि हुन् । श्रेष्ठ नेपाल स्की संघका अध्यक्ष पनि हुन् । विसं २०२२ पुस १५ गते काठमाडौँमा जन्मिएका श्रेष्ठले विसं २०४२ देखि नेकपा ९माले०मा प्रवेश गरेर राजनीति शुरु गरेका थिए ।
तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना हुँदा श्रेष्ठ सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बनेका थिए ।

नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले उनलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो । उनले पनि एमाले विभाजित हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजे । उनकै क्षेत्रका सिनियर नेतृ तर प्रदेश सांसद बनेकी अष्टलक्ष्मी शाक्य लगायत नेताहरुले माधव नेपाल छोडेर पार्टी विभाजनलाई साथ नदिएपनि उनले भने माधव नेपाललाई साथ दिएका थिए ।

श्रेष्ठका अगाडी निक्कै चुनौति छ । अघिल्ला आफ्नै पार्टीका मन्त्री प्रेम आलेले चर्चामा आईरहन गर्ने अनेक स्टन्डबाजीलाई चिरेर मन्त्रालयमा आफनो छुटटै पहिचान उनले छोडनु पर्ने छ । जो कोही पनि मन्त्रीको रुपमा गएपछि आफनो केही न केही पदचाप छोडन चाहान्छन् । उनका लागि अघिल्लो मन्त्रीले चर्चामा आउन गरेको अनेक स्टान्डबाजीलाइृ चिरेर आफनो छुटटै पहिचान देखाउने चुनौति उत्तिकै छ । त्यसमाथी निजी क्षेत्रका हवाई मालिकहरुले गर्ने घेरावन्दीलाई तोडेर उनले कसरी आफनो पहिचान देखाउन सक्छन् ? त्यो उनको आउने कामबाटै पुष्टि हुनेछ ।

प्रतिक्रिया