बिहीबार, वैशाख १३, २०८१

प्रचण्ड, माधव पुगे उपेन्द्र निवासमा

मेरोन्यूज २०७९ असार १३ गते १०:०८


काठमाडौं । सत्ता गठबन्धन दलका कांग्रेस बाहेकका मुख्य तीन घटक नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरु बीचको भेटघाट वाक्लो हुन थालेको छ ।
आगामी संघ प्रदेशको चुनावमा गठबन्धनको तयारीमा रहेका सत्ता गठबन्धन दलका यी मुख्य तीन घटक बीच केही साता यता निरन्तर भेटघाट र छलफल भईरहेको छ । केही दिन अगाडी मात्रै पनि उपेन्द्रकै निवासमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका वीचमा भेटवार्ता भएको थियो । आज पनि यी तिनै दलका मुख्य शीर्ष नेताहरु प्रचण्ड, माधव र उपेन्द्रका बीचमा भेटघाट शुरु भएको छ । ललितपुर हात्तिवनस्थित उपेन्द्र यादवको निवासमा केही बेर अगाडीबाट प्रचण्ड, माधव र उपेन्द्रका बीचमा भेटवार्ता शुरु भएको हो ।

केही दिन अगाडीसम्म मन्त्री हेरफेरको लफडामा सत्ता गठबन्धन दलमध्येको एकीकृत समाजवादी र जनता समाजवादी रहेका थिए । तर एकीकृत समाजवादीका मन्त्री हेरफेरको निर्णय आइतबार कार्यान्वयन भएर सोमबार सपथ ग्रहणको कार्यक्रम समेत तय भएपछि यो विषयले अब चुनाव अगाडी च्याप्टर क्लोज भएको छ ।

जनता समाजवादीमा पनि मन्त्री फेर्न चर्को दवाब भएपनि उपेन्द्र यादव र डा. बाबुराम भटटराइृका बीचमा देखा परेको अन्तरविरोधका कारण त्यो सम्भव हुन सकेन । अहिले यो विषय अव टुङगिएपछि उनीहरुका बीचमा आउने संघ प्रदेशको चुनावको गठबन्धन देखि कांग्रेससँगको सिठ वाँडफाँड देखि नयाँ समाजवादी केन्द्र निर्माण सम्मका विषयमा सिलसिलेवार छलफल भईरहेका छन् ।आजको छलफल पनि सोही विषयमा केन्द्रीत भएर भएको हुनसक्ने बताईएको छ ।

प्रतिक्रिया