बुधबार, वैशाख १२, २०८१

एकीकृत समाजवादीको बैठक : वाम गठबन्धन कि एमालेसँगको सहकार्य ?

मेरोन्यूज २०७९ असार १० गते १४:२३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटव्यूरो वैठकमा वाम गठबन्धन तथा एमालेसँगको सहकार्यबारे छलफल हुने बताइएको छ । आगामी संघीय निर्वाचनमा सत्ता गठबन्धनभित्र भएको खटपटका कारण एमालेसँगको सहकार्य वा वाम गठबन्धनबारे छलफल हुने बताइएको हो ।


एकीकृत समाजवादी पार्टीले गत जेठ २२ गते मन्त्री परिवर्तन गर्न गरेको सिफारिसलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आलटाल गरेपछि अहिलेको गठबन्धन के का लागि हो भन्ने प्रष्ट नभएको र आगामी निर्वाचनमा एस पार्टीलाई मतदाता मात्रै बनाउने अवस्था आउनसक्ने संभावनालाई ध्यानमा राखेर सो विषयमा छलफल हुने एकीकृत समाजवादीका एक पोलिटव्यूरो सदस्यले भने ।


उनका अनुसार, आगामी निर्वाचन एस पार्टीका लागि त्यति सुविधाजनक नहुने भएकाले बेलैमा आफ्नो अवस्था बलियो बनाउने र अरुको भर पर्ने विषयमा नलाग्ने गरी छलफल हुने बताइएको छ ।

एस पार्टीका सांसद एवं प्रस्तावित मन्त्री मेटमणी चौधरीले वामगठबन्धनको विषयमा छलफल हुनसक्ने बताए । ‘वामगठबन्धनबारे छलफल हुनसक्छ’, उनले भने ।


उनका अनुसार, बैठकमा एमालेसँगको सहकार्यको विषयमा कुरा उठेपनि त्यति सहज नभएकाले अहिले एस पार्टीको ध्यान त्यता हुने छैन। तर केही नेताहरुले अहिले नै एमालेसँगको सहकार्यमा जोड दिन थालेका छन् । गत सोमबार श्रममन्त्री किसान श्रेष्ठले एस पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमालेसँग सहकार्य वा पार्टी एकिकरणमा जोड दिएका थिए ।


उनले कांग्रेस र माओवादी मिलेर एस पार्टीलाई एक्लो बनाएको र स्थानीय तहको निर्वाचनमा पनि एसका उम्मेदवारलाई सहयोग नगरेको दृटान्त पेश गर्दे एमालेसँग वार्ता र संवाद अघि बढाएर आगामी निर्वाचनमा जानुपर्ने सुझाव दिएका थिए । तर माधव नेपालले सो विषयलाई त्यतिधेरै गम्भीर रुपमा लिएका थिएनन ।


‘मन्त्री परिवर्तनको विषयमा कांग्रेसले जसरी पार्टीको निर्णयलाई लत्यायो त्यसले गठबन्धनलाई नै धोका दिएको छ यसबाट आगामी दिनमा झन समस्या पर्न सक्छ’, एस पार्टीका एक स्थायी कमिटी सदस्यले भने ।


उनका अनुसार अहिले पार्टीमा दुई लाइन संघर्ष जस्तै भएको छ । माधव नेपालले अहिलेको गठबन्धनलाई जोड दिएका छन् भने सम्मानित नेता झलनाथ खनालले वामगठबन्धलाई जोड दिएका छन् । अझ उनले आफ्नो जिल्लामा त एमालेसँगै सहकार्य गरिरहेका छन् । एस पार्टीका एक नेताका अनुसार पछिल्लो समय नेपाल र खनालबीच मत बाझिदै आएको छ ।


खासगरी स्थानीय तह निर्वाचनको परिणाम र आगामी संघीय निर्वाचनमा हुने गठबन्धनलाई लिएर खनाल र नेपाल पक्षको दुई थरी मत छ । खनालले वाम गठबन्धनको वकालत गर्दै आएका छन् भने नेपाल हालको गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् ।


पछिल्लो समय एमालेका केही नेताले खनाललगायतका नेतासँग संवाद पनि अघि बढाएको स्रोतको दावी छ । एमालेका नेता विष्णु पौडेल लगायतले माधव नेपालसँग पनि सम्पर्क गरिरहेका छन् । तर उनीहरुले अहिलेको संवादलाई कही कतै बाहिर ल्याएका छैनन ।


एमाले अध्यक्ष केपी शर्मा ओलीले विहिबार राष्ट्रिय सभाका सांसदहरुसँग केही आकस्मिक निर्णय भए आश्चर्य नमान्नुस भन्दै वामगठबन्धन वा माओवादी र एस पार्टीसँगको सहकार्यको विषय जोड्न खोजेका थिए । त्यसले गर्दा पनि एस पार्टीको वैठकमा एमालेसँगको सहकार्य वा वामगठबन्धनको विषयमा कुरा उठ्ने बताइएको छ ।


एस पार्टीले आज पोलिटव्यूरो, त्यसपछि केन्द्रीय कमिटी र राष्ट्रिय प्रतिनीधि परिषद बैठक राख्दैछ । बैठकमा प्रेम बहादुर आलेले कर्मचारीलाई गरेको अभद्र ब्यवहार र मन्त्रीहरुको कार्यशैलीको बारेमा पनि छलफल हुने बताइएको छ । बैठकमा पार्टीका ४ मन्त्रीसहित १० सांसदले ततकाल संसदीय दलको बैठक बोलाउन अध्यक्ष नेपाललाई बुझाएको ८ बुँदे ध्यानाकषर्णपत्रका बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया