शुक्रबार, असार १७, २०७९

उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिन्छ : ओली

मेरोन्यूज २०७९ असार ९ गते १६:४६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदेश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताएका छन् । टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदैं अध्यक्ष ओलीले देश ठूलो भएको र देशकै लागि काम गर्नुपर्ने बताउँदै त्यस्तो भनेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, “देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।”

ओलीले प्रजापरिषद् नामेट पार्न एमालेमा गाँभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको पनि बताए । “प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन्”, ओलीले भने ।

उनले टङ्कप्रसाद आचार्यले तत्कालिन समयमा छरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताए । विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा ओलीले मुलुकमा परिवर्तन ल्याउन टङ्कप्रसादले छरेको पर्चाको योगदान महत्वपूर्ण रहेको बताएका थिए ।

आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत ओलीको भनाई थियो ।

उनले टङ्कप्रसाद आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे । “टङ्कप्रसाद आचार्यलाई मुलुकको नेतृत्व दिइन्थ्यो भने उहाँले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो”, ओलीले भने ।

टङ्कप्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चारवटा पर्चा छरेका थिए । सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ । यसैबीच सोही कार्यक्रममा अरविन्द रिमाल र डा महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पु¥याएको योगदानस्वरुप सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टङ्कप्रसाद आचार्यले छर्नुभएको पर्चाले मुलुकमा राजनीतिक जागरण ल्याएको बताएका थिए ।

प्रतिक्रिया