बिहीबार, वैशाख १३, २०८१

सुविना गिरी मृत्य प्रकरण : ‘झुण्डिएको नभई घाँटी थिचेर हत्या’

मेरोन्यूज २०७९ असार ९ गते १५:३४

बुटवल । गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका-१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्रहरीले विहिबार पक्राउ गरेको हो ।

शव परीक्षण रिपोर्टमा झुण्डिएको नभई घाँटी थिचिएका कारण मृत्यु भएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

“शव परीक्षण रिपोर्टमा झुण्डिएर नभई ‘नेक प्रेसर’का कारण मृत्यु भएको भन्ने आयो त्यसैले घटना शङ्कास्पद छ, अब आरोपितबाट पनि धेरै कुरा खुल्छ”, प्रमुख केसीले भने ।

सुविनाका श्रीमान् सञ्जयले सुविनालाई तिलोत्तमा–६ पश्चिम पहुनीमा रहेको मिलन फेमिली रेष्टुरेन्टको कोठामा जेठ ३१ गते राति १ बजे झुण्डिएको अवस्थामा फेला पारी सुविनालाई क्रिमसन अस्पताल पु¥याएपछि आफन्तलाई खबर गरेका थिए । सुविनालाई अस्पताल पु¥याउँदा चिकित्सकले पहिले नै मृत्यु भएको बताएका थिए ।

यता सुविनाको घाँटी थिचेर मृत्यु भएको पुष्टि भएकाले दोषीलाई कारबाही गर्न सुविनाका आफन्तले माग गरेका छन् । सुविनाका बाबु नरु गिरीले शव परीक्षण रिपोर्टअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै न्याय दिन आग्रह गरेका छन् । “शव परीक्षण रिपोर्टले घाँटी थिचेर हत्या भएपछि झुण्ड्याइएको प्रष्ट पारेको छ, दोषीलाई तत्काल कारबाही हुनुपर्छ”, उनले भने ।

यसअघि सुविनाका बाबु नरुले गत जेठ ३१ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा ज्यानसम्बन्धी कसुरमा छानबिन गरी कारबाही गरियोस् भनी जाहेरी दिएका थिए । बुधबार किटानीसहितको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मध्यरातमा आफ्नै आगाडि झुण्डिएको र आफैँले अस्पताल ल्याएको दाबी गरेका सुविनाका पति सञ्जयको बयानसमेत नमिलेको देखिएकाले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । गत जेठ ३० गते राति घरदेखि केही परको होटलमा झगडा भएपछि सोही होटलको कोठामा सुविना एक्कासी झुण्डिएको सञ्जयको बयान थियो । झुण्डिएको हो वा होइन भन्नेमै आशङ्का रहेका बेलामा आएको शव परीक्षण रिपोर्टले भने झुण्डिएर मृत्यु नभएको यकिन गरिदिएको छ । “घाँटीमा हातले थिचेको छ, टाउकामा पनि चोट देखिएको त्यसैले स्पष्ट भन्ने आधार छैन”, डा आहना श्रेष्ठ भने ।

झुण्डिएको अवस्थामा देख्ने कोही नभएको र पतिकै व्यवहार शङ्कास्पद लागेपछि माइतीले सुरुदेखि नै गहिरो अनुसन्धान गर्न माग गरेका थिए । झुण्डिएको भनिएको दिन बिहानैदेखि दिउँसोसम्म घरमा झगडा भएको, नन्द, आमाजुलगायतले पनि गालीगलौज गरेको, अघिल्लो रात पतिले मदिरा सेवन गरी कुटपिट गरेको, आफ्नै सामुन्ने कुटपिट गर्दा पनि सासुले रोक्ने पहल नगरेको र मानसिक तथा शारीरिक यातना दिनदिनै दिने गरेको खुलेको माइती पक्षको दाबी छ ।

सुविनाकी फूपू छमा गिरीले सुरुमै सूचना दिने बेलादेखि नै पति (सञ्जय) र परिवार तथा नातेदारको भूमिका शङ्कास्पद लागेको बताए । झुण्डिएर मरेको भन्ने कुरा शव परीक्षणमा पुष्टि नभएपछि पतिले नै परिवार तथा नातेदारको सहयोगमा कर्तव्य गरेर मारेको आशङ्का रहेकाले प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिएको सुविनाका काका निमु गिरी बताउँछन् ।

शरीरमा लागेको चोटपटक, भुत्ल्याइएको कपाल, नङका डाम, विभिन्न ठाउँमा निल डाम प्रष्टै दिखिएकाले पनि सुरुमै आत्महत्या होइन भन्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । सुविनाको मृत्युपछि दुई नाबालक सन्तानको संरक्षण, हेरचाह र भविष्य सुनिश्चितताका लागि चल–अचल सम्पत्ति व्यवस्था गर्नसमेत माइती पक्षको माग छ ।

प्रतिक्रिया