मंगलबार, वैशाख ४, २०८१

पूर्व पोलिटब्युरो सदस्य पुनसहित चार नेताले छाडे विप्लव नेतृत्वको नेकपा

मेरोन्यूज २०७९ असार ९ गते ११:३८

धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई थप धक्का लागेको छ । केही समय अगाडी मात्रै स्थानयि तह निर्वाचनलाई उपयोग गर्ने, नगर्ने विषयमा देखिएको विवादका कारण उक्त पार्टीमा फुट आएको थियो ।

पार्टीमा रहेका प्रभावशाली नेताहरु धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली लगायत नेताहरुले विप्लवको साथ छोडेर नेकपा (बहुमत) नामको अलग्गै कम्युनिष्ट पार्टी घोषणा गरेको छोटै समयमा विप्लवका पार्टीका अर्का प्रभावशाली नेता ओमप्रकाश पुन (निर्माण) सहितका थप ४ नेताले पनि विप्लवको साथ छोडेका छन् ।

विप्लव गोलचक्करमा फसकेको निश्कर्षसहित नेता ओमप्रकाश पुनसहित चार नेताले सामुहिक राजिनामा दिएका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले विहीबार एक संयुक्त विज्ञप्ति जारी गरेर सामुहिक राजिनामा दिएका हुन् ।

पार्टी प्रशिक्षको क्रममा महासचिव विप्लव सुदूरपश्चिम प्रदेश पुगेकै बेला नेताहरुले सामुहिक राजिनामा दिएका हुन् । धनगढीमा हुने सुदूरपश्चिमस्तरिय कार्यकर्ता प्रशिक्षणको लागि विप्लव अछाम हुँदै कैलाली पुगेका छन् ।

विदलिँदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

“अहिलेको विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं । नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्दै व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महशुस गरी त्यसैकोको प्रयासरुवरुप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौ” विज्ञप्तिमा भनिएको छ ।

पुन सो पार्टीका पूर्व पोलिट्ब्यूरो तथा सेती महाकाली ब्यूरो इन्चार्ज समेत हुन् भने पार्टी निकट किसान र सुकुम्बासीँ संगठनको केन्द्रीय अध्यक्ष समेत हुन् । त्यस्तै, खड्का पूर्व सभासद् र सेती ब्यूरो इन्चार्ज र हाल केन्द्रीय सदस्इ हुन्, धामी केन्द्रीय सदस्य र परियार दार्चुला र कञ्चनपुर जिल्ला इन्चार्ज हुन् ।

पुनले विप्लव आफू क्रान्ति गर्न पनि नसक्ने माओवादी शक्तिहरुलाई एकीकृत र ध्रुविकृत गर्न पहल नगरेकै कारण आफूहरुले सामुहिक राजिनामा दिएको बताएका छन् ।


अब जनयुद्ध र जनाआन्दोनलको उपलब्धीहरुको रक्षा गर्दै सरकार र सदनको मोर्चाबाटै जनताको परिवर्तनको चाहनालाई पूरा गर्न एक मात्र विकल्प आफूहरुले देखेको कारण विप्लवसँग अलग भएको बताउँदै पुनले अब छिटै एकता र ध्रुविकरणको पहलमा लाग्ने पुनले बताएका छन् । उनीहरुको माओवादी केन्द्रका नेताहरुसँग पनि छलफल चलिरहेको छ ।

प्रतिक्रिया