बिहीबार, वैशाख १३, २०८१

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको भेटघाट किन रोकियो ?

मेरोन्यूज २०७९ असार ९ गते ७:१०


काठमाडौं । स्थानीय तहको निर्वाचनपछि एमाले र माओवादीबीच गठबन्धन गर्ने चर्चा चलिरहँदा पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट गराउने कोसिस भएको थियो । गत शुक्रबार साँझ नै उनीहरुबीच भेटघाट गराउने कोसिस भएपनि एमाले अध्यक्ष ओली साँझको समयमा घरबाट बाहिर निस्कने अवस्था नबनेकाले रोकिएको थियो । ‘दुवै अध्यक्षलाई भेट गराएर सम्बन्ध सुधार गर्ने कोसिसमा छौ’, माओवादीका एक नेताले भने ‘तर शुक्रबार प्रयास असफल भएपछि आइतबार सम्पर्क भएको थियो तर बालकोटबाट केही खबर आएको छैन ।’
उनका अनुसार दुई वर्षदेखि आलोचना मात्रै गर्दै आएका छन् जसले गर्दा सम्बन्धमा निकै दरार आएकाले भेटघाटको कार्यक्रम बनाउन खोजिएको हो । ‘उहाँहरुबीच गोप्य भेटघाट गर्न खोजेको तर शुक्रबार सबैतिर थाह हुने अवस्था आएकै कारण रोकिएको हो’, स्रोतले भन्यो ।

शुक्रबारलाई भक्तपुरकै कुनै होटल वा नीजि घरमा भेटघाट तय भएको थियो । तर ओलीले त्यसदिन साँझ बाहिर निस्कदा नीजि सुरक्षा गार्ड सँगै लिएर हिड्नु पर्ने भएकाले रोकिएको थियो । ‘राती बाहिर निस्कदा सुरक्षा गार्ड अनिवार्य हुनुपर्छ दिउँसोचाहि सुरक्षा गार्डलाई बाहिर राखेर पनि भेटघाट गर्न सकिन्छ साँझ बाहिर नजाने भन्ने खबर भयो’, त्यस दिनको कुरा सुनाउदै ती नेताले भने । उनका अनुसार अर्को दिन तय गर्ने भनेको भेटघाट पनि रोकिएको छ ।

खासगरी अहिले नै गठबन्धनलाई मूर्त रुप दिन भन्दा पनि दुई नेताहरुबीचको आपसी सम्बन्ध सुधारका लागि भेटघाट गराउन लागिएको हो ।
शुक्रबार चितवनको कार्यक्रममा रहेका प्रचण्ड ओलीसँग भेटघाट गर्ने भनेपछि साँझ नै काठमाडौ आएका थिए । तर समय र स्थान व्यवस्थापनको कुरा मिल्न नसकेपछि त्यसदिन रोकिएको थियो । ‘आइतबार खबर गर्ने भनिएको हो तर त्यसपछि कुनै खबर भएको छैन’, भेटघाटका लागि प्रयास गरिरहेका ती नेताले भने– ‘सकेसम्म यसैसाता भेटघाटको प्रयास हुँनेछ ।’


सकेसम्म वाम गठबन्धन गर्ने नसके एमाले र माओवादी गठबन्धन गरेर जाने कोसिस भैरहेका बेला एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको दोस्रो दिनमै दुई अध्यक्षबीच भेटघाट तय भएको थियो । विहिबार राती एमाले उपाध्यक्ष पौडेल प्रचण्ड निवास पुगेर भेटघाटको वातावरण तयार पारिएको थियो । माओवादी नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेपछि एमाले–माओवादीबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो । ‘सबैतिरबाट वाम गठबन्धनको कुरा उठेको छ, पौडेलले प्रचण्डलाई र श्रेष्ठले ओलीलाई भेटपछि केही हदसम्म सम्बन्धमा सुधार आएको महशुस हुँदैछ’, भेटघाट गराउन सक्रिय रहेका एक नेताले भने ।

स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी मिलेर एमालेलाई हराउन कोसिस गरेका थिए । ‘एमाले विरुद्ध कांग्रेससहितका वामपन्थी दलहरुको गठबन्धन हुँदा एमालेपनि माओवादीसँग नजिक हुन खोजिरहेको छ’, स्रोतले भन्यो ।
स्थानीय तहको निर्वाचनमा कांगेससँगको गठबन्धनबाट बढी नै फाइदा लिएको माओवादी पछिल्लो पटक कांग्रेस र एमाले मध्ये कुनसँग गठबन्धन गर्ने भन्ने बारेमा अलमलमा छ ।

संघीय संसदको चुनावी तालमेलमा माओवादी निर्णायक शक्तिका रुपमा देखा परेपनि गठबन्धन गर्ने विषयमा अलमल हुँदा एमाले र माओवादीका केही नेताहरुले दुई अध्यक्षलाई भेट गराएर सम्बन्ध सुधारको प्रयास गरेका छन् । संघीय संसदको निर्वाचनमा कोसँग गठबन्धन गर्ने भन्ने बारेमा स्पष्ट देखिएको छैन ।

तर एमाले र माओवादीबीका नेताहरुबीच धेरै पटक वार्ता र संवादहरु भएका छन् । माओवादी एमालेसँग नजिक भएको देखाएर कांग्रेससँग धेरै सिट वाँडफाँड गर्ने पक्षमा देखिन्छ । ‘एमालेसँग नजिक भएको देखाउने तर कांग्रेससँग सीट बाँडफाँडमा बार्गेनिङ तह बढाउने पनि हुनसक्छ’, एक एमाले नेताले भने ।
पछिल्लो पटक वामपन्थी नेताहरुले एक आपसमा कम्युनिष्ट शक्ति मिल्नुपर्ने आवश्यकता बारेमा छलफल गरेका छन् । अहिलेको सत्ता गठबन्धन कायमै रहे आगामी मंसिरमा हुने संघ तथा प्रदेश चुनावमा एमाले कमजोर हुन सक्ने आंकलनपछि एमाले नेताहरू माओवादी नेताहरूसँग भित्रभित्रै लविङमा छन् । एमाले अध्यक्ष ओलीले पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसमेतलाई विभिन्न सन्देश पठाइरहेको स्रोतको दाबी छ ।

यसअघि माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले ओलीसँग दुइघण्टा भेटघाट गरेर वाम गठबन्धनको प्रस्ताव गरेका थिए । उनीहरुबीच अहिलेको आवश्यकता नै वाम गठबन्धन भएको र वामगठबन्धबाटै देशले निकास पाउने विषयमा छलफल भएको थियो । त्यसअघि प्रदीप ज्ञावाली र वर्षमान पुनवीच भेटघाट भएको थियो । श्रेष्ठले ओलीलाई भेटेको बाहेक अरु नेताहरुबीच भएको भेटघाट गोप्य राखिएको छ । वामगठबन्धनको विषयमा एमाले र माओवादीका युवा नेताहरुले जोड गरिरहेका छन् । स्थानीय तहको निर्वाचनपछि एमाले र माओवादीका युवा नेताहरुले बाम गठबन्धनलाई जोड दिदै आएका छन् । उनीहरुले सकेसम्म सीट बाँडफाँड गरेर जाने नसके पनि जित्ने स्थानमा एक अर्कालाई सहयोग गरेर जाने नीति अख्तियार गर्न खोजेको स्रोतको दाबी छ ।

प्रतिक्रिया