शुक्रबार, वैशाख १४, २०८१

उपेन्द्र निवासमा गठबन्धनका तीन दलको अलग्गै बैठक

कांग्रेसलाई एकल बहुमत नजिक पुग्न बाट रोक्ने रणनीतिमा तीन दल, सिट बाँडफाँड मापदण्डका विषयमा छलफल केन्द्रीत

शितल शर्मा २०७९ असार ८ गते ११:२४

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा नहुँदै गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सिट बाँडफाँडमा कांग्रेससँग कसरी प्रस्तुत हुने भन्नेमा अलग्गै छलफलमा जुटन थालेका छन् ।

कांग्रेसले चुनावपछि गठबन्धनमा खटपट भयो भने पनि अर्को कुनै सानो दलसँग मिलेर सरकार बनाउने रणनीति अनुसार प्रत्यक्ष तर्फका १ सय सिट आफनो भागमा राखेर वाँकी ६५ सिटमा मात्र भागवन्डा गर्ने तयारी अनुरुप आफनो दलमा आन्तरिक छलफल गरेको जानकारी पाएपछि गठबन्धनमै रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पनि अलग्गै छलफलमा बस्न शुरु गरेका हुन।

गठबन्धनमा सिट भागवन्डामा कसरी कांग्रेसलाई खुम्चाउने र उसलाई बहुमत नजिक हुन नदिने भन्ने रणनीतिमा यतिवेला गठबन्धनका बाँकी दलहरु छन् । त्यसैको तयारी स्वरुप उनीहरुले वुधबार विहान उपेन्द्र यादवको हात्तिबनस्थित निवासमा छलफल गरेको स्रोतले बताएको छ ।

यादव निवासमा भएको छलफलमा जसपाका अध्यक्ष यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए ।

विहान यी तीन दलका शीर्ष नेताहरुले झण्डै साँढे २ घण्टा छलफल गरेको स्रोत बताउँछ । ‘मुख्य तीन दलका शीर्ष नेताहरुको छलफल भएको हो, छलफलमा आसन्न प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनको विषयमा गठबन्धन दलभित्र कसरी सिट बााडफाँड गर्ने, कांग्रेससँग कसरी प्रस्तुत हुने र कांग्रेस लचक नभए कसरी जाने भन्ने सम्मको विकल्पमा केन्द्रीत रहेर छलफल भएको छ,’ यादव निकट स्रोतले मेरोन्यूजलाई बतायो ।

सत्तारूढ पाँच दलमा यसअघि नै प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने सैद्धान्तिक सहमति छ । तर एक्लै बहुमत नजिक पुग्ने दाउमा कांग्रेस छ भने त्यही हैसियतमा पुग्न नदिने रणनीतिमा अन्य चार दल देखिन्छन् ।गठबन्धनभित्रका माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी विगतमा आफ्ना दलले जितेका सिट यथावत् राखेर एमालेले जितेका (एकीकृत समाजवादीबाहेक) भागबन्डा गरेर जाने गरी मापदण्ड बनाउनु पर्ने पक्षमा छन् ।

एमालेले प्रत्यक्ष जितेको ६८ सिट हो । सामान्यतया पहिला कांग्रेसको २३, एकीकृत समाजवादी १२, माओवादीको ३२, जसपाको १३ (रेशम चौधरी र हरिनारायण रौनियारसहित) र राष्ट्रिय जनमोर्चाको १ सिट थियो । यो यथावत राखेर एमालेले जितेकोमा दलहरुका वीचमा भगवन्डा लगाउनु पर्नेमा यी दलहरु करिव सहमति नजिक छन् ।

तर कांग्रेस भने त्यसमा सजिल्यै सहमत हुने देखिएको छैन । कांग्रेसभित्र ६५ प्रत्यक्ष सिटमा मात्र गठबन्धनका दलहरुका वीचमा भागवन्डा लगाएर बाँकी एक सय सिट आफैले लिनुपर्ने आवाज बाक्लो छ । देउवालाई पार्टीभित्र प्रत्यक्ष तर्फका एक सय सिट नछोडन तीव्र दबाब छ । तर अडानमा रहँदा कतै गठबन्धन भत्कने र बाम गठबन्धनतिर मुलुक जाने हो की भन्ने भय पनि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवालाई छ । सोही आधारमा उनी केही लचक भएरै भएपनि गठबन्धन टिकाउनु पर्ने पक्षमा छन् ।

देउवा गठबन्धनमा लचक हुन सक्ने देखेरै कांग्रेसलाई गलाउने रणनीतिमा मुख्य तीन दल आन्तरिक छलफलमा बसेका हुन् । जसपाभित्र भने उपेन्द्र यही गठबन्धनको निरन्तरताको पक्षमा छन् । तर डा बाबुराम भटटराई भने आफु अनुकुल जुन गठबन्धन बनाउँदा फाइदा हुन्छ त्यसरी जानुपर्ने पक्षमा छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादी भित्र पनि बाम गठबन्धन बनाएर जानुपर्ने पक्षमा मत छ । त्यसो हुँदा उनीहरुले कांग्रेसले गठबन्धनभित्र कसरी सिट बाँडफँड गर्न चाहेको छ, त्यस आधारमा मात्र निर्णयमा पुग्ने तयारी गरेका छन् ।

उपेन्द्र निवासमा गठबन्धनका मुख्य तीन दलका शीर्ष नेताहरुको छलफल अगाडी मंगलबार साँझ मात्रै पनि हात्तिवनस्थित सिटिस्केप हाउजिङस्थित गोकुल भण्डारीको निवासमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठका वीचमा छलफल भएको स्रोतले जिकिर गरेको छ । सरकारले मंसिर पहिलो सातासम्ममा प्रदेश र संघको चुनाव तयारी गरेको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया