सोमबार, जेठ ७, २०८१

५१ किलो हेरोईन बरामद

दुबई हुँदै काठमाडौं छिरेको एक अर्ब रुपैयाँको ‘हेरोईन’ कता लगिदै थियो ?

ब्यूरोले कसरी गर्यो ‘सफल अप्रेसन’ ?

दया दुदराज २०७९ असार २ गते १९:३९

काठमाडौं । बिहीबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गर्दै अवैध लागुऔषध ‘हेरोईन’सहित पक्राउ परेका ७ जना विदेशी महिलालाई सार्वजनिक गरेको छ ।
ब्यूरोले फरक फरक मितिमा ७ जना महिलालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबै दक्षिण अफ्रिकन नागरिक हुन् । उनीहरुको साथबाट ब्यूरोले आधा कुइन्टल अर्थात ५१ किलो ‘हेरोईन’ बरामद गरेको हो ।

Advertisement

जसमध्ये ४९ किलो सेतो हिरोइन रहेको र २ किलो खैरो हेरोईन रहेको ब्यूरोका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५१ किलो हिरोइनको बजार मूल्य नेपाली एक अर्ब २ करोड रुपैयाँ पर्न आउछ ।

ब्यूरोले दुई दिनमा ७ जनालाई पक्राउ गरेको ब्यूरोका प्रमुख एसपी श्रेष्ठले बताए । उनका अनुसार गत जेठ २९ गते ‘प्लाई दुबई’द्वारा दुबई हुँदै नेपाल आएका २९ वर्षीया सिब्सी थान्डेकिल र ४६ वर्षकी मुडिकेएल ज्याडुवाजी थाम्बेनी स्नाम्बालाई जेठ ३० गते ठमेलस्थित एक होटलबाट १६ किलो हिरोइनसहित पक्राउ गरेको हो ।

त्यस्तै, गत जेठ ३० गते ‘प्लाई दुबई’द्वारा दुबई हुँदै नेपाल आएका ३९ वर्षकी त्सबालाला खान्यिसिली योब्नीलाई ८ किलो हेरोईनसहित पक्राउ गरिएको थियो सोही दिन नेपाल ओर्लिएका ३६ वर्षकी रोसिनाह ननक्वीली जान्त्जेतलाई समेत ८ किलो हेरोईनसहित एक होटलबाट पक्राउ गरेको थियो ।

गत जेठ २६ गते ‘प्लाई दुबई’द्वारा दुबई हुँदै नेपाल आएकी २९ वर्षकी माह्लाको मौरिन माथिबालाई समेत ब्यूरोले ७ किलो हेरोईनसहित पक्राउ गरिएको थियो । गत जेठ ३१ कतार यएरलाइन्सको उडानद्वारा कतारको दोहा हुँदै नेपाल आएकी ३७ वर्षकी मोरोसी सुजान कोफुलाई ४ किलो सेतो हेरोईन र २ किलो खैरो हिरोइनसहित पक्राउ गरको हो । सोही दिन ‘प्लाई दुबई’द्वारा दुबई हुँदै नेपाल आएकी ३० वर्षीया मार्सेले बाडेन्सोत्सीलाई ६ किलो हेरोईनसहित पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रमुख एसपी श्रेष्ठका अनुसार पक्राउ परेका उनीहरु ६ समुहमा थिए । उनीहरु सातै जना एक अर्कासित अपरिचित रहेकोसमेत प्रहरीको अनुसन्धानले पत्ता लगाएको छ । यद्यपि, जेठ २९ गते नेपाल ओर्लिएका थान्डेकिल र स्नाम्बाभने एक अर्कासँग परिचित थिए । उनीहरूले हिरोइन लगेजभित्र लुकाएर ल्याएका थिए ।

ब्यूरोले कसरी गर्यो ‘अप्रेसन’ ?

जेठ २६ गते काठमाडौं ओर्लिएकी २९ वर्षीया माथिबाबारे प्रहरीले पूर्व सूचना प्राप्त गरेको थियो । काठमाडौंमा अ‍ोर्लिएकी उनी ठमेलस्थित एक होटलमा बसेको ब्यूरोले पत्ता लगाएको थियो । उनी बसेको होटल पत्ता लगाएपछि प्रहरीले उनीप्रति तीव्र निगरानी बढाएको थियो । उनको दैनिकीबारे ब्यूरोले जानकारी लिदै आएको थियो ।

उनको निगरानीसँगै ब्यूरोले अन्य महिलासमेत जोहानेसबर्गबाट हेरोईन बोकेर आउन लागेको सूचना पाएको थियो । सूचनाअनुरुप जेठ २९ गते दुई महिलाहरु त्रिभुवन विमानस्थलमा ओर्लिए ।

उनीहरु अवतरण भएको क्षणदेखि नै ब्यूरोले ती दुई महिलालाई निगरानी बढायो । र ब्यूरोले उनीहरुलाई जेठ ३० गते होटलबाटै नियन्त्रणमा लिएर अन्य व्यक्ति र सामान ल्याइरहेका अन्य महिलाहरुलाई समेत पक्राउ गर्न सफल भएको ब्यूरोका प्रमुख एसपी श्रेष्ठले जानकारी दिए ।

कता लगिँदै थियो हिरोइन ?

५१ किलो अर्थात आधा क्विन्टल ! नेपाल प्रहरीले यति धेरै लागुऔषध (हेरोईन) बरामद गरेको हालसम्म कै पहिलोपटक हो । यसको बजार मूल्य अन्दाजी एक अर्ब दुई करोड पर्ने ब्यूरोका प्रमुख श्रेष्ठले बताए । यति धेरै मात्रामा रहेको हिरोइन नेपाल किन भित्रियो ? भन्ने प्रश्न पछिल्लो समय उत्कर्षमा छ ।

यति धेरै परिमाणको हिरोइन फरक फरक व्यक्तिबाट बरामद भए पनि आउने ठाउँ एकै भएकाले यो लगिने ठाउँसमेत एकै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ब्यूरोले पटक–पटक गरी ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सातै जनाले उक्त लागुऔषध पुर्याउने गन्तव्य एकै हुन सक्ने लागुऔषध ब्यूरोका प्रमुख एसपी श्रेष्ठ बताउँछन् ।

सातै जना महिलाले लगेजमा प्लास बनाएर हिरोइन नेपाल भित्र्याएका थिए । उनीहरुले नेपाल आइसक्दासमेत उक्त लगेज नखोल्नुको कारण उनीहरुले अर्को कोहीलाई नै कुरेको बुझिन्छ । त्यसकारण दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल भित्रिएको उक्त हिरोइन अन्त कतै लजान खोजिएको स्पस्ट बुझिन्छ ।

ब्यूरोका प्रमुख श्रेष्ठले उक्त ५१ किलो हिरोइन नेपाललाई ट्रान्जिट बनाएर भारत लगिन खोजेको बुझिन्छ । एसपी श्रेष्ठले भने, ‘यो कता जान लागेको थियो भन्ने कुनै यकिन त छैन, तर विगतका घटना हेर्दा यो पनि भारततर्फ लगिन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

यसअघि गत वैशाख ३ गते ब्यूरोले दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइनसहित कतार हुँदै नेपाल आएकी जाम्बियन नागरिक कापुटुला अविसर्गलाई पक्राउ गरेको थियो ।

अहिले बरामद गरिएको हेरोइन कारोबारीसँग वैशाख ३ मा पक्राउ परेकी जाम्बियन महिलासँग कनेक्सन देखिएको छ । ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई पनि वैशाख ४ मा पक्राउ गरेको थियो ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया