शुक्रबार, वैशाख १४, २०८१

‘विश्वभर नेपाली युवा उद्यमीको नेटवर्किङ बनाउने उद्देश्य छ’

मेरोन्यूज २०७९ जेठ ३१ गते १७:४२

स्वदेशमै केही गरौँ भन्ने हुट्हुटी भएका युवा व्यवसायी हुन्, स्वतन्त्र प्रताप शाह । उनले पहिल्यैदेखि उद्यमी बन्नु पर्छ भन्ने संकल्प बोके । अध्ययनका लागि अष्टे«लिया पुगे शाहले त्यहाँ पढाइमा मात्र सिमित भएनन्, उद्यमी बन्ने बाटोमा लागे । गैर–आवासीय नेपाली संघको स्थापना कालदेखि नै राष्ट्रिय समन्वय परिषद अस्ट्रेलियाको विभिन्न तह र तप्कामा रहेर काम गरे । उनी गैर–आवासीय नेपाली संघको अभियानमा क्रियाशिल छन् ।

फिने (अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ)का संस्थापक अध्यक्ष हुन्, उनी । यस संस्थाले नेपालबाहिर रहेका नेपाली युवा र स्वदेशमा बसेर काम गरिरहेका उद्यमी युवालाई जोड्न पुलको काम गरिरहेको छ । युवालाई एकत्रित गरेर स्वदेशमा लगानी र सीप भित्र्याउनु यस संस्थाको उद्देश्य हो । महासंघले आगामी अक्टोबरमा काठमाडौँमा युवा उद्यमी सम्मेलनको बृहत आयोजना गर्दै छ । यसै सेरोफेरोमा महासंघका संस्थापक अध्यक्ष शाहसँग नरेन्द्र रौलेले मेरो न्युजका लागि गरेको कुराकानी :

महासंघले अक्टोबरमा युवा उद्यमी सम्मेलन गर्दै छ, यो कस्तो खालको सम्मेलन हो ?

हामीले आयोजना गर्न लागेको ‘युवा उद्यमी सम्मेलन’ नेपालमै फरक खालको सम्मेलन हुनेछ । उद्यम, व्यापार गर्नेबीच राम्रो नेटवर्क बनाउन यो एकदमै राम्रो थलो बन्ने मैले विश्वास लिएको छु । यस सम्मेलनमा १५ देखि २० मुलुकमा रहेका नेपाली युवा उद्यमीको सहभागिता रहनेछ । कुनै न कुनै व्यवसायमा संलग्न युवा सहभागिता रहने छ ।

यस सम्मेलनको उद्देश्य के हो ?

विश्वभरि छरिएर रहेका युवा उद्यमी, व्यापारी साथीलाई जोड्ने, नेटवर्किङ बनाउने हाम्रो उद्देश्य हो । नेपाली समाजको विश्वव्यापीकरण भइरहेको छ । नेपाली हस्तकला र घरेलु उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय बजारमा लैजाने हामीलाई त्यतातिर चासो छ ।

नेपाली सामान बाहिर निर्यात गर्न, नेपाली युवाले कस्तो भूमिका खेल्न सक्छन् । त्यसबारे छलफल, बहस हुने छ । दुई दिनसम्म चल्ने यस सम्मेलनले युवालाई उद्यम कसरी गर्ने भन्ने राम्रो अवसर प्रदान गर्ने छ ।

यस सम्मेलनबाट युवाले कसरी फाइदा लिन सक्छन् ?

आइडिया हुने, पैसा नहुने र पैसा हुने र आइडिया नहुनेले यस सम्मेलनबाट फाइदा लिन सक्ने छन् । सबैका लागि यो सम्मेलन फाइदाजनक हुनेछ । उद्यमीले व्यापार गर्दाका आइडिया र त्यसको पछाडिका चुनौतीबारे आ-आफ्ना अनुभव, आइडियाहरु सेयर गर्र्नेछन् ।

यस्तै सम्मेलन स्थलमा नेपाली घरेलु तथा हस्तकलाका उत्पादनको स्टल रहने छन् । नेपाली उत्पादन बाहिर पठाउने च्यानल बनोस् भन्ने हाम्रो चाहना हो । त्यसले अवसरका ढोका खोल्ने छ ।

सम्मेलनमा आइडिया हुने, पैसा नहुने र पैसा हुने र आइडिया नहुनेले सम्मेलनबाट फाइदा लिन सक्नेछन् भन्नु भयो । कसरी फाइदा लिन सक्नेछन् ?

सम्मेलनमा आफूसँग आइडिया छ भने सेयर गर्न सकिने छ । यदि, कोही उद्यमी, व्यापारीलाई त्यो आइडिया मन पर्‍यो भने लगानी गर्न सक्नेछन् । त्यस्तै पैसा हुने तर आइडिया नहुनेलाई कुनै नयाँ व्यापार, व्यवसाय उद्यम गर्न मन छ भने त्यस सम्मेलनमा अबाट आइडिया लिन सक्नेछन् । आफ्नो रुची र इच्छा भएका विषयमा उद्यम गर्नका लागि अरुबाट सरसल्लाह, सहयोग लिन, दिन सक्नेछन् । अरुको अनुभव र गाइडलाइन पाएपछि त्यसले सजिलो हुनेछ ।

सरकारसँग समन्वय गरेर अगाडि बढ्ने योजना छ कि ?

हामी सरकारसँग कुराकानी गर्ने तयारीमा छौँ । हामी यसमा आशावादी छौँ । पछिल्लोपटक हामीले सुदूरपश्चिम प्रदेशमा कुराकानी पनि गर्‍यौं । कहाँ, कसरी सम्मेलन गर्ने भन्नेबारे आउने दिनमा छलफल हुनेछ । यो सम्मेलनको आयोजनापछि हरेक वर्ष यस्तो खालको सम्मेलन आयोजना गर्ने छौँ ।

यस्तो खालको सम्मेलन आयोजना गर्ने र उद्यमीको भेला गर्ने सोच कसरी आयो ?

म एनआरएनएमा लागिरहँदा यस्तो खालको सोच उब्जिएको हो । अहिले ११ वटा देशमा बेग्ला बेग्लै कार्य समिति छ । चाडै धेरैभन्दा धेरै देशमा हामी फैलिदै छौँ । नेपालमा आयोजना हुने सम्मेलनमा सबै देशका उद्यमी, व्यापारी भेला हुन्छन् । बाहिर हरेक देशमा युवा भेला हुन्छन ।

फिने कस्तो खालको संस्था हो ? यसले कस्तो खालको काम गर्छ ?

फिने (अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ) भनेको विशुद्ध व्यवसायमा लागेका साथीको संगठन हो । विदेशमा गएर बसिरहेका चाहे सानो होस्, या ठूलो आफ्नो उद्यम गरिरहेका साथीको संगठन हो । प्रायः नेपालबाट बाहिर जाने भनेको अध्ययन गर्नका लागि हो ।

त्यसपछि कतिले आफ्नै उद्यम थाल्नु हुन्छ । हामीले एक आपसमा सूचना आदान प्रदान गर्न, आइडिया सेयर गर्न र नेपाली जोडिनका लागि बनाइएको संगठन हो । अहिलेसम्म ११ वटा देशमा हाम्रो संगठन छ । भविष्यमा ४०-५० देशमा विस्तार गर्ने योजना छ । व्यापार, व्यवसायमा अघि बढिसकेका हाम्रो संस्थाका अग्रज व्यक्तिले उद्यममा संलग्न हुन चाहने नयाँ साथीलाई आवश्यक सेवा, परामर्श, सरसल्लाह प्रदान गर्ने छन् ।

विदेशमा गएका नेपालीलाई स्वदेशमा लगानी गर्न प्रेरित गर्ने, नेपाली उत्पादनलाई विश्व बजारमा विस्तार गर्नेलगायत यस संस्थाका उद्देश्य रहेका छन् । नेपाली कफी, हस्तकलाका राम्रो–राम्रा सामान उत्पादन हुँदै आएका छन् । तिनलाई निर्यात गर्न पाए नेपालको अर्थतन्त्रमा केही टेवा पुर्‍याउन सकिन्थ्यो । त्यसका लागि हामीले संस्थागत रुपमा पहल गर्न खोजेको हो ।

संस्थाको भावी योजना के छ ?

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघलाई विश्वभरि छरिएर रहेका युवा उद्यमी साथीको सञ्जाल बनाउने उद्देश्यले हामी आएका छौँ । देशमा केही गरौँ भन्ने हाम्रो सोच र योजना छ । नेपालको सिस्टम सोचे जति सजिलो छैन । चाहेर पनि हामीले धेरै गर्न सकेका छैनौँ । विदेशमा बस्ने साथीको स्वदेशमा केही गरौँ भन्ने सोच छ । विभिन्न देशमा हामीले टिम विस्तार गर्ने तयारी थालेका छौँ ।

प्रतिक्रिया