आइतबार, वैशाख ३०, २०८१

दुधे बालक च्यापेर अनसन

‘कुमारी आमा’को रोदन : न्याय पाउन अनसन अन्तिम विकल्प हो, प्रहरीले हस्तक्षेप गर्दै छ

आरोपी शिवराज श्रेष्ठ भन्छन्, ‘मैले बलात्कार गरेको छैन’

दया दुदराज २०७९ जेठ ३० गते १९:०४

०७६ साल कात्तिक महिनाको ६ गतेका दिन सँगै बसेर पढ्ने भन्दै निहारिका राजपुत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ स्थित आफ्नो साथीको घरमा पुगिन् । त्यो समय उनी ११ कक्षामा अध्ययनरत थिइन् । राजपुतलाई साथीकै दाइले मन पराउँथे ।

Advertisement

उनले पटक–पटक प्रेम प्रस्ताव राखेका थिए । तर, राजपुतले स्वीकार गरेकी थिइनन् । ‘म कक्षा ११ मा पढ्थेँ, एक दिन साथीले सँगै बसेर पढौँ न भनेपछि म उसको घरमा गएँ,’ उनले भनिन्, ‘मेरो साथीका दाइ थिए, शिवराज श्रेष्ठ । उनी मलाई मन पराउँथे, उनले मलाई पटकपटक प्रेम प्रस्ताव राखेका थिए, तर मैले अस्वीकार गरेँ ।’

कम्बाइन स्टडी गर्न साथीको घरमा पुगेकी राजपुतलाई साथीको दाइ (शिवराज श्रेष्ठ)ले खाने कुराको प्रस्ताव गरे । तर, शिवराजले उक्त खाने कुरामा नशालु पदार्थ मिसाएको राजपुतलाई थिएन । साथीको दाइले आफ्नै बहिनी सम्झिएर दिएको ठानेर उनले खाने कुरा खाइन् । तर, खानेबित्तिकै उनको होस् हरायो र त्यही मौका छोपेर शिवराजले उनीमाथी बलात्कार गरे ।
‘साथीको घरमा पुगेको दिन मलाई खाने कुरामा नशालु कुरा मिलाएर दिइयो, त्यसपछि मेरो बलात्कार भयो,’ निहारिकाले भनिन् ।

बलात्कार भएको कुरा उनले समाजमा खुलेर भन्न सकिनन् । उनले आफ्नो मनभित्र भित्रै गुम्स्याएर राखिन् । र, आफ्नो परिवारसँग समेत लुकाउन बाध्य भइन् । दिनप्रतिदिन आफू पीडामा गएपछि उनले आफ्नो स्वास्थ्य परीक्षण गराउने मनस्थिति बनाइन् । र, परीक्षण गरिन् ।

‘मैले मेडिकल टेष्ट गरेपछि मलाई थाहा भयो म गर्भवती रहेछु,’ निहारिकाले भनिन्, ‘त्यसपछि मैले परिवारको इज्जत जाने डरले १५÷१६ दिन बोलिन् ।’

आफ्नो परिवारको इज्जतलाई हेरर चुप बसेकी निहारिका धेरै समय भने चुप बस्न सकिनन् । उनले बलात्कारीविरुद्ध लड्ने र त्यो बच्चालाई जन्माउने अठोट गरिन् । उनी धेरै ठाउँमा साहयोग जुटाउन हिँडिन् । तर, उनको कुरा धेरैले सुन्न चाहेनन् । कतिपयले उनलाई बच्चा फाल्न सुझाव दिए । ‘धेरै ठाउँमा सहयोग मागेँ, महिला सेलहरूमा भनेकी थिएँ,’ उनले भनिन्, ‘धेरैले मलाई बच्चा फाल्ने सुझाव दिनु भयो तर, मेलै मानिनँ ।’

त्यसपछि आमरण अनसन…

कतैबाट सहयोग मिल्ने छाटकाँट नदेखिएपछि उनले प्रशासन गुहार्ने निधो गरिन् । उनले घटना भएको ४ महिना ५ दिनपछि शिवराज श्रेष्ठविरुद्व जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । प्रहरी हँुदै उनी जिल्ला अदालत धनुषा पुगिन् । तर, न्यायलय पुगेर उनले न्याय पाउन सकिनन् । ‘प्रहरीले मलाई भेष्ट र पाइन्ट लगाएको देखेर तँ नै गलत होस् भन्यो, मेरो कपडा हेरेर मलाई नै अपराधी घोषणा गरिदयो,’ उनले भनिन्, ‘जिल्ला अदालतले पनि मलाई न्याय दिन सकेन, उल्टै आरोपीलाई नै सफाइ दियो ।’

जिल्ला अदालतले नै आरेपी शिवराजलाई सफाइ दिए पनि उनको आशाका भावहरू भने निमोठिएको थिएन । उनी न्याय पाइन्छ कि भन्ने आशा बोकेर उच्च अदालत धनुषा पुगिन् । तर, उच्च अदालतले समेत न्याय दिन अनाकानी गरेको उनको गुनासो छ ।

४ महिनासम्म पुनरावेदनले पेसी नतोक्नु र ३ वर्षसम्म न्याय नपाउने भएपछि उनले अन्तिम विकल्पका रुपमा आमरण अनशनमा बसेकी छन् । ‘उच्च अदालत धनुषामा पुनरावेदन दिएकी छु, तर ४ महिना भइसक्यो अदालतले पेसी तोकेको छैन,’ उनले भनिन्, ‘३ वर्ष भइसक्यो न्यायका लागि भौतारिरहेको छु, तर कतैबाट न्याय पाइनँ, त्यसपछि अहिले म आमरण अनशन बसेकी छु यही नै अन्तिम विकल्प हो जस्तो लाग्छ ।’

अन्तिम विकल्पका रुपमा आमरण अनशनलाई रोजेकी निहारिकालाई प्रहरीले धरपकड गरेको उनको गुनासो छ । ‘अस्ति रात परेपछि प्रहरीले हामीलाई माइतीघरबाट जर्बजस्ती लतारेर लग्यो, मेरो छोरालाई मबाट छुटाए, त्यसपछि छोरा रोयो ।’
उनले थपिन्, ‘२१ महिनाको बच्चालाई रोएको भनेर प्रहरीले २ झापड हान्यो, हामीलाई प्रहरीले छाडेपछि बसन्तपुरमा आमरण अनशन बस्ने भनेर बसेका हौँ, मैले पानी पनि खाएको छैन, बाबुले दुध खान खोज्छ तर कमजोर भइसकेको छु, उसलाई दुध खुवाउन पनि सक्दिनँ ।’

अदालतले आरेपीलाई किन सफाइ दियो ?

धनुषाका जिल्ला न्यायधीश परशुराम भट्टराईको ०७८ माघ २४ गतेको फैसलाले निहारिकाको जाहेरी, वादी, प्रतिवादी र साक्षीको बयान र प्रमाणहरुको आधारमा जबरजस्ती करणी अपराध भएको भन्ने स्थापित नभएको भन्दै श्रेष्ठलाई सफाइ दिएको थियो ।

निहारिकाले आफू श्रेष्ठको जबरजस्ती करणीबाट गर्भवती भएको र श्रेष्ठ र उनको परिवारले पटक पटक गर्भपतन गर्न दबाब दिएको दाबी गरेकी थिइन् । तर, अदालतले उनको गर्भ परीक्षणकै क्रममा अस्पतालमा उनले श्रीमान् श्रीमती लेखेको र जिल्ला प्रहरी कार्यालयमा त्यसअघि दिएका निवेदनमा आफू श्रीमान् श्रीमती भएको उल्लेख गरेको आधारमा आरेपी श्रेष्ठलाई सफाइ दिएको हो ।

निहारिकाले आफू २०५९ फागुन ७ गते जन्मिएकी बताएकी छन् । तर, उनको नागरिकतामा जन्म मिति ०५६ साल असार १९ गते उल्लेख छ । अदालतले उनको नागरिकताको आधारमा नाबालिग नभएको कुरालाई समेत आधार मानेको छ ।

आरोपी भन्छन्– बलात्कार गरेको छैन
निहारिकाले आफूलाई आरोपी श्रेष्ठले बलात्कार गरेको बताएपछि उनले भने आरोप आधारहिन रहेको अदालतमा आफ्नो बयानमार्फत बताएका छन् । उनले बकपत्रका क्रममा पीडितलाई आफ्नो डेरामा नलगेको र जबरजस्ती करणी पनि नगरेको भनेका छन् । यद्यपी ०७८ भदौ १३ गते जिल्लाको थुनछेक आदेशबाट भने पुर्पक्षका लागि थुनामा भने पठाइएका थिए ।

आरोपी श्रेष्ठले अदालतको बयानमा भनेका छन्, ‘निज पीडित राजर्षी कलेजमा पढ्छिन् भने म मोडल कलेजमा पढ्दै छु, निजले आफ्नो जाहेरीमा आफू गर्भवती रहेको कुरा उल्लेख गरेकी छिन्, त्यो सम्बन्धमा मलाई केही थाहा छैन, निज पीडितलाई मैले चिनेको छु र मेरो साथी भएकाले निजले आफ्नो ट्याटु मेटाउनका लागि मसँग पैसा मागिन् । मैले निजलाई म विद्यार्थी मान्छे भएकाले मसँग पैसा छैन भनेकोमा निजले सोही कुराको रिसइबीले म उपर झुठो व्योहोरा लेखाई जाहेरी दिएको हो ।’

आरोपी श्रेष्ठले अदालतमा दिएको बयानका आधारमा भने उनले आफू बलात्कारी नभएको जनाएका छन् ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया