सोमबार, जेठ ७, २०८१

काठमाडौं क्षेत्र नम्बर १ र ५ मा नयाँ उम्मेदवारको चासो किन ?

०७४ को संघीय निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशमान सिंह र ५ बाट एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए

दया दुदराज २०७९ जेठ २९ गते १९:५७

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगर र तीन उपमहानगरसहित अन्य कतिपय स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भए । अझ देशकै राजधानी काठमाडौँको जनमत बुझ्नै नसक्ने गरी अदलबदल हुन थालेको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहको चुनावी परिणामले पुष्टि गरेको छ ।

Advertisement

स्थानीय तहमा देखिएको प्रभाव अबको कात्तिक-मंसिरमा हुने संघीय निर्वाचनमा पर्ने देखिएको छ । काठमाडौँमा स्वतन्त्र उम्मेदवार बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले राजनीतिक दलका उम्मेदवारविरुद्ध सानदार जित निकालेसँगै संघीय निर्वाचनमा समेत स्वतन्त्रबाट उम्मेदवारी दिनेको संख्या बढ्ने देखिएको हो ।

निर्वाचनको पूर्वसन्ध्यामा अहिले धमाधम स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी घोषणा शुरु भएको छ । आइतबार मात्रै पनि भारतमा कृषिको अध्ययन गरेर आएका ३४ वर्षीय हेम बम्जोनले काठमाडौँ ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।तर, स्वतन्त्र उम्मेदवारहरूको आकर्षण भने काठमाडौँको १ र ५ मा देखिन थालेको छ ।

क्षेत्र नम्बर १ र ५ मा उम्मेदवारका आकांक्षी बढ्दो

काठमाडौँमा कूल १० वटा निर्वाचन क्षेत्रहरू छन् । जसमध्ये सधैँ जसो चर्चामा रहने निर्वाचन क्षेत्र भनेको १ र ५ हो । जहाँ प्रत्येक निर्वाचन वर्षमा नयाँ उम्मेदवारहरूले उम्मेदवारी दिँदै आएका छन् । आसन्न संघीय निर्वाचनको मिति तय भएको छैन । यद्यपि, उम्मेदवारी दिने चर्चा गरिरहेका अधिकांशले काठमाडौँको क्षेत्र नम्बर एक र पाँच नै रोज्न थालेका छन् । यी दुई क्षेत्र कांग्रेस र एमालेका हेभिवेट नेताको निर्वाचन क्षेत्र हो ।

बलियो पार्टीका हेभिवेट नेताले निर्वाचन जितेको क्षेत्रमा सिति मिति कुनै स्वतन्त्र उम्मेदवारले हतपती चुनाव लड्ने घोषणा गर्दैनन् । तर, ०७४ यताका निर्वाचन हेर्दा र अहिलेको स्थानीय तहको चुनावपछि शहरी क्षेत्रका हभिवेट नेताहरूको निर्वाचन क्षेत्रमै स्वतन्त्रले उम्मेदवारी घोषणा तीव्र पार्न थालेका छन् ।

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको संघीय निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए । क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले)का ईश्वर पोखरेल विजयी भएका थिए । यी दुई क्षेत्रमै स्वतन्त्र र युवा पुस्ताका उम्मेदवारहरू आकांक्षी देखिएका छन् ।

राजनीतिमा लामो समयदेखि क्रियाशील र पटकपटक मन्त्रीसमेत भइसकेका एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेल र का‌ग्रेसका वरिष्ठ नेतामध्येका केन्द्रीय सदस्य सिंहको निर्वाचन क्षेत्रमा युवा पुस्ताका नयाँ अनुहारले स्वतन्त्र र केहीले दलभित्रैबाट पनि उम्मेदवारी दिन तम्सिएको देखिन्छ ।

आइतबार मात्रै नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले आसन्न संघीय निर्वाचनमा काठमाडौँको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषण गरेका छन् । त्यस्तै, गत जेठ २० गते मात्रै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नै ‘इनफ इज इनफ’ अभियान्ता पुकार बमले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ मा विवेकशील साझाका नेता रविन्द्र मिश्रले समेत उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघिको संघीय निर्वाचनमा मिश्र यही निर्वाचन क्षेत्रमा कांग्रेसका प्रकाशमानसँग पराजित भएका थिए ।

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ मा समेत धेरै जनाले उम्मेदवारी दिने तयारी थालेका छन् । कतिपयले उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन् । विवेकशील नेपालीकी पूर्व नेतृ रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेकी छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले त्यसबेला २३ हजार ४३९ मत पाएकी थिइन् ।

योपटक उनले संघीय निर्वाचनमै काठमाडौँको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्ने तयारी थालेकी छन् । विवेकशील साझामा विग्रह आएसँगै पार्टीबाट स्वैच्छिक राजीनामा दिएर स्वतन्त्र भूमिकामा रहेकी उनले संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी हुन् । यसअघि रञ्जु दर्शनाकै संस्थापक नेता उज्ज्वल थापाले यो निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए । थापालाई नेकपा एमालेका ईश्वर पोखरेलले पराजित गरेको थियो ।

जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले काठमाडौँ क्षेत्र नम्बर ५ या ७ बाट संघीय सांसदमा उम्मेदवारी दिने तयारी गरेकी छन् । २०६५ मा भएको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालयबाट सचिवमा निर्वाचित भएकी यमीलाई जसपाले काठमाडौँबाट निर्वाचन लड्न प्रस्ताव गरेको उनले दाबी गरेकी छन् ।

उनी अखिल क्रान्तिकारीका पूर्व नेतासमेत हुन् । यो क्षेत्र नभए उनी काठमाडौँ ७ बाट उम्मेदवार बन्न सक्ने छिन् । काठमाडौँ ७ भने उनकै आमा हिसिला यमीको पनि निर्वाचन क्षेत्र हो । २०६४ मा यमीले यो क्षेत्रबाट निर्वाचन जितेकी थिइन् ।

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ बाट ०७४ सालको संघीय निर्वाचनमा कांग्रेसले हालका प्रवक्ता प्रकाश शरण महतलाई उठाएको थियो । योपटकको निर्वाचनमा कांग्रेसले अर्थविद् स्वर्णीम वाग्लेलाई सो निर्वाचन क्षेत्रबाट उठाउने तयारी थालेको स्रोतको दाबी छ । यद्यपि, नैनसिंह महर, प्रदीप पौडेलदेखि नरहरि आचार्यको श्रीमती शारदा शर्मासम्मको काठमाडौँ ५ मा चर्चा छ । कांग्रेस प्रवक्ता महत भने नुवाकोट जाने वा नजानेमा दोधार छन् । उनको सोच नुवाकोट क्षेत्र नम्बर १ जाने भए पनि गत चुनावमा माओवादीका हितबहादुर तामाङले जितेको यो निर्वाचन क्षेत्रमा स्थानीय तह चुनावमा झन् माओवादी एक्लै चुनाव लड्दा पनि बलियो बनेर देखा परेको छ । जसका कारण महत दोधारमा देखिएका छन् ।

निर्वाचन क्षेत्र १ र ५ नै किन ?

स्थानीय तहको निर्वाचनर प्रदेश चुनवामा जहाँ मतदाता नामावली छ, उम्मेदवार हुन चाहे त्यही स्थानबाट उम्मेदवारी दिनु पर्ने व्यवस्था छ । तर, संघीय निर्वाचनमा यो नियम लागु हुँदैन । देशभरका जुनसुकै स्थानबाट पनि उम्मेदवारी दिन पाउने व्यवस्था छ । यसको फाइदा उठाउँदै देशभरका विभिन्न स्थानका व्यक्तिहरूले काठमाडौँबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । काठमाडौँको १० निर्वाचन क्षेत्रमध्ये पनि क्षेत्र नम्बर १ र ५ मा उम्मेदवारी दिने घोषणा गर्नेको संख्या ह्वात्तै बढेको छ ।

काठमाडौँ महानगरको वडा नम्बर १०, ११, २९ र ३१ लाई समायोजन गरेर निर्वाचन क्षेत्र नम्बर १ तोकिएको छ । उक्त निर्वाचन क्षेत्रमा बानेश्वर, त्रिपुरेश्वर, डिल्लीबजार र भिमसेन गोलालगायतका क्षेत्र पर्दछ । त्यस्तै, काठमाडौँ महानगरको वडा नम्बर २, ३, ४, ५ र बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ लाई संयोजन गरेर निर्वाचन क्षेत्र नम्बर ५ तोकिएको छ । उक्त निर्वाचन क्षेत्रमा लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, हाडीगाँउ लगायतका स्थानहरू पर्दछन् ।

काठमाडौँमा नेवार समुदायको बाहुल्यता भएता पनि यी क्षेत्रहरूमा भने मिश्रित समुदायको बसोबास छ । काठमाडौँभित्र पनि धेरै विकशित टोल वा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् । यी दुई निर्वाचन क्षेत्रहरू १ र ५ मा बसोबास गर्ने व्यक्तिहरू मिश्रित समुदायका मात्रै नभई, शिक्षित जनता बस्ने टोल वा स्थानका रुपमा समेत परिचित छ ।

नेवार समुदायको बाहुल्यता धेरै भएको निर्वाचन क्षेत्रमा आफूहरूले धेरै मत प्राप्त गर्न नसकिने तर, शिक्षित र मिश्रित समुदायले नयाँ विकल्पको खोजी गर्ने आशंका साथ निर्वाचन क्षेत्र १ र ५ मा बढी उम्मेदवारी आउने देखिन्छ ।

सरकारले आगामी कात्तिक-मंसिरमा प्रदेश र संघीय निर्वाचन घोषणाको तयारी गरेको छ । निर्वाचन आयोगसँगको परामर्शमा कात्तिक २७ र मंसिर ३ मा गरी दुई चरणमा सरकारले निर्वाचन मिति तोक्ने तयारी गरेको छ ।

काठमाडौँ महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाह उर्फ बालेनले आसन्न निर्वाचन मितिसम्म काठमाडौँमा राम्रो काम गरेको खण्डमा संघीय निर्वाचनमा उम्मेदवारी दिने युवा र स्वतन्त्र उम्मेदवारले राम्रो मत प्राप्त गर्ने आकलन गर्न सकिन्छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया