आइतबार, जेठ ६, २०८१

जिसस सिन्धुपाल्चोकमा कांग्रेस–नेकपा एस मिल्दा माओवादी पराजित

मेरोन्यूज २०७९ जेठ २९ गते १४:४८

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादी गठबन्धनको प्यानल निर्वाचित भएको छ । आइतबार सम्पन्न निर्वाचनमा जिसस प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् ।

Advertisement

श्रेष्ठ बाह्विसे ४ बाट वडा सदस्यमा निर्वाचित हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई एमालेको समर्थन थियो । तर, गठबन्धनबाट खस्नु पर्ने ११ मतमध्ये विकले १० मत प्राप्त गरेका छन् । एक मत खाली रहेको थियो ।

उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी भएका छन् । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंगप्रताप सिलवाल (जेपी)ले ११ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका ४ विन्जेलबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

जिससको सदस्यमा समाजवादी र कांग्रेस गठबन्धनबाट जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया, सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपालीले १३–१३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

प्रतिक्रिया