शुक्रबार, जेठ ४, २०८१

बुवा हराएको ६२ वर्षपछि किरिया सकेलगत्तै पूर्वसांसद थापाको निधन

मेरोन्यूज २०७९ जेठ २८ गते २०:३४

काठमाडौँ । पूर्वसांसद भद्रबहादुर थापाको निधन भएको छ । रामपुर नगरपालिका १० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा आज निधन भएको हो ।

Advertisement

पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटु रोगको बिरामी थिए । स्व. थापाको कालीगण्डकी नदीको बर्दले घाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनी विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए ।

नेकपा एमालेबाट निर्वाचित भई विसं २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षका रूपमा सेवा गरेका थापा २०५४ मा जिल्ला विकास समिति पाल्पाको उपसभापति, २०५६ मा पाल्पा क्षेत्र नं १ को प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । स्व. थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

आफ्ना बुवाको किरिया गरेर पिण्ड दिँदै गर्दा किरियाकर्म सम्पन्न नहुँदै उनको बिहान ९ बजेतिर निधन भएको हो । बुवा ६२ वर्ष अगाडिदेखि बेपत्ता भएकामा अब जीवितै नरहेको निष्कर्षका साथ उनले १२ दिन अगाडिदेखि बुबाको किरियाकर्म गरिरहेका स्थानीय दामोदर तिमिल्सिनाले जानकारी दिए । बुवाको किरिया सकेलगत्तै उनको निधन भएको हो ।

पाल्पाका नेकपा एमाले र नेपाली कांग्रेसका नेता, जनप्रतिनिधि, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवीलगायत कालीगण्डकी नदीमा पुगेर थापाको पार्थिक शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रतिक्रिया