बिहीबार, वैशाख २०, २०८१

‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

मेरोन्यूज २०७९ जेठ २३ गते १८:४५

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एण्ड यतीमा कोकाकोला फाउण्डेसनले समापन समारोह आयोजना गरेको थियो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपाल प्रसाद अर्याल लगायत सरोकारवाला संस्था, अभियान साझेदार र सरकारी अधिकारीको उपस्थिति थियो ।

सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु हिमालबाट ३३ हजार ८०० केजीभन्दा बढी फोहोर (७,२२७ केजी कुहिने र २६,६५० केजी नकुहिने) संकलन भएको छ । संकलन गरिएको फोहोरलाई प्रमाणीकरण पश्चात वर्गीकरण, प्रशोधन र पुनः प्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिने छ ।

सफा हिमाल अभियानका महानिर्देशक अर्यालले भने, ‘सफा हिमाल अभियान २०२२ अन्तर्गत अभियानमा हामीले चार वटा हिमालबाट ३३ हजार केजी फोहोर संकलन गर्न सफल भएका छौँ, प्रतिकुल मौसमी अवस्था र अत्यधिक उचाइका कारण यो काम चुनौतीपूर्ण र जोखिमपूर्ण थियो, तर अभियान पूरा गर्दै राष्ट्रको स्वाभिमान जोगाउने कार्यमा आफ्नो भूमिका निर्वाह गर्न पाएकोमा हामी खुशी छौँ ।’ साथै उनले अभियानमा साथ दिएको भन्दै कोकाकोला फाउण्डेसनलाई धन्यवाद दिए ।

कोकाकोला फाउण्डेसनकी अध्यक्ष साडिया माड्सब्जर्गले भने, ‘माउण्टेन क्लिन–अप क्याम्पेनसँग कोकाकोला फाउण्डेसनको साझेदारी भन्नु नै फोहोरमुक्त वातावरण निर्माणका लागि सम्बन्धित सबैलाई एक ठाउँमा ल्याउने हाम्रो दृढ प्रतिबद्धता हो, यी हिमालहरू आफ्नो प्राकृतिक सौन्दर्यको लागि विश्व प्रसिद्ध हुनुको साथै नेपालीहरुसँग सांस्कृतिक रुपमा पनि जोडिएका छन्, यस्ता कार्यक्रमले नेपाल र विश्वभरि नै अझ बढी जलवायुसम्बन्धि कार्यक्रम सञ्चालन गर्न हौसला दिने छ ।”

प्रतिक्रिया