आइतबार, जेठ ६, २०८१

एकीकृत समाजवादीका मन्त्रीहरू यसरी परे थमौतीमा

सोमबार राति नै प्रचण्ड र मंगलबार बिहान प्रधानमन्त्रीसँग एकीकृत समाजवादीका मन्त्रीहरुले थमौतीका लागि चर्काे लविङ गरे

शितल शर्मा २०७९ जेठ २३ गते २०:४४

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरी सोमबार हर्षित मुद्रामा थिए । ८ महिनाअगाडि नै मन्त्री बन्ने लाइनमा रहेका उनले बानेश्वर संसद भवनपछाडि रहेको राष्ट्रिय पोशाक घरबाट दुई जोर दौरा सुरुवाल सिलाएका थिए । त्यसबेला उनको चर्चा पर्यटन मन्त्री बन्ने थियो । माधव नेपालको एमालेसँगको विद्रोहमा बलियो पिल्लरका रुपमा उनै चौधरी थिए ।

Advertisement

त्यसैले उनको मन्त्री पद करिब पक्का जस्तै थियो । तर, अन्तिम समयमा एकीकृत समाजवादीका मन्त्रीका आकांक्षी बढी र मन्त्रालयको संख्या कम भएपछि कसलाई मन्त्री बनाउने/नबनाउनेमा गल्फत्ती चल्यो । एमालेसँग अन्तिम चरणमा विद्रोह गरेर प्रेम आले आधा दर्जन बढी सांसदसहित एकीकृत समाजवादीमै फर्किए । त्यस क्रममा उनको शर्त आफूलाई मन्त्री बनाउनु पर्ने थियो ।

आलेको टिम नै पार्टीमा थपिएपछि उनीसँगै किसन श्रेष्ठ मन्त्री बन्ने लाइनमा देखिए । त्यसपछि चौधरीको मन्त्री पद पाएनन् । तर, त्यसबेला आकांंक्षी रहेका तर, मन्त्री बन्न नसकेका नेतालाई माधव नेपालले ६-६ महिना आलोपालो भागबण्डा हुने गरी सहमति जुटाए । त्यसपछि चुनावी सरकारमा सहभागी हुने आशमा चौधरीसहितका नेता बसेका थिए ।

जब ६ महिना सरकारमा जानेहरूको समयावधि पुग्यो । एकीकृत समाजवादीभित्र मन्त्री फेर्ने बारेमा कुरा चल्न थाल्यो । प्रधानमन्त्रीले पनि बजेटपछि सोचौँला भनेपछि बजेटसम्मको समय सबैले कुरे । जब बजेट संसदमा प्रस्तुत भयो । त्यसपछि फेरि एकीकृत समाजवादीभित्र मन्त्री फेर्न चर्काे लविङ शुरु भयो ।

जब उनीहरू बालुवाटार पुगे । त्यसपछि एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको नाम सार्वजनिक भयो ।

स्थानीय तह चुनावी परिणाममा चित्त नबुझाइरहेका र गठबन्धन वाम नै उपयुक्त हुने तर्क गरिरहेका झलनाथ खनाललगायतका नेताहरूको पनि मन्त्री फेर्न माधव नेपाललाई दबाब पर्न थाल्यो । त्यसपछि माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग साथ खोजे । देउवाले पनि आइतबार माधव नेपाललाई पार्टीले फेर्न चाहेको भए सहयोगी बनिदिने बचन दिए ।

प्रधानमन्त्रीको साथ हुने देखेपछि माधव नेपालले पार्टी बैठकमा आएर मन्त्री फेर्ने निर्णय लिए । नयाँ मन्त्री पठाउने जिम्मा शीर्ष नेताहरूसँगको परामर्शका आधारमा आफैले लिए । मन्त्री नयाँ सेट तयार पारेर उनले पार्टीका नेताहरू विजय पौडेल र प्रमेश हमाललाई सूची बोकाएर बालुवाटार पठाए ।

जब उनीहरू बालुवाटार पुगे । त्यसपछि एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको नाम सार्वजनिक भयो । सबैभन्दा बढी हौसिएर मेटमणिले निकट रहेका व्यक्ति र सञ्चारमाध्यमहरूसँग मन्त्रीको नामका बारेमा सूची नै टिपाए । उता मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्रीलगायतका नेताहरू निर्णयमा पूरै बेखबर थिए । पुरानालाई फिर्ता बोलाउने र नयाँलाई पठाउने एकीकृत समाजवादीको निर्णय थियो ।

नामै सार्वजनिक भएपछि र आइतबार सार्वजनिक बिदाको दिन परेर सपथ रोकिने भएपछि अहिले थमौतिमा परेका मन्त्रीहरूले पनि नयाँ शिराबाट चलखेल शुरु गरे । माधव नेपालले मन्त्रीको सेट नै फेरेर बालुवाटार प्रस्ताव पठाएपछि त्यसको सबैभन्दा बढी प्रेसर जनता समाजवादी पार्टी (जसपा)मा पर्‍यो । लोसपालाई समेत दुइटा मन्त्रालय दिएर सरकारमा ल्याउने भित्री तयारीमा रहेका प्रधानमन्त्रीलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार नै बालुवाटारमा पुगेर भेटे ।

‘एकीकृत समाजवादीको निर्णयले अन्य पार्टीमा चर्काे दबाब पर्ने देखियो, चुपचाप बसेका नेताहरूका बीचमा तरंग ल्याउने गरी एकीकृत समाजवादीको निर्णय आयो, यसले जसपा र अन्य दललाई पनि नदुखेको टाउको दुखाउने काम गर्ने भयो, के गर्ने ? ′ भन्दै यादव बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा यादवले कांग्रेस र माओवादीले पनि आफ्ना मन्त्रीहरूमा केही हेरफेर गर्न खोजेको हो र ? भन्ने प्रश्न देउवासँग गरे ।

एकीकृत समाजवादीका नेतासमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे सोमबार नै प्रचण्डलाई भेट्न खुमलटार पुगे ।

माओवादीले अहिलेकै मन्त्रीलाई कायमै राख्ने र कांग्रेसभित्र पनि यसमा अहिले खासै छलफल नचलेको तर एकीकृत समाजवादीको निर्णयले प्रेसर पार्न सक्ने प्रधानमन्त्रीको प्रतिक्रियापछि यादव सकेसम्म अहिले केही समय रोकौँ, दलहरूको आन्तरिक निर्वाचन समीक्षा सकेपछि सबै दलबीच छलफल गरेर एकैपटक केही हेरफेर गरौंला भन्दै बालुवाटारबाट बाहिरिए ।

पार्टी निर्णयले प्रदेशतिरको सरकारमा पनि तलमाथि हुने देखेपछि एकीकृत समाजवादीका नेतासमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे सोमबार नै प्रचण्डलाई भेट्न खुमलटार पुगे । केन्द्रको सरकार हेरफेरले प्रदेशमा बाछिटा लैजाने र त्यसको असर फेरि प्रदेशतिरको सरकार हेरफेरमा समय खर्चिन् पर्ने भएकाले त्यसरी सोच्न नहुने तर्क पाण्डेको थियो ।

पण्डेले पनि आलोपालो सरकारको नेतृत्व गर्ने गरी कांग्रेसका ईन्द्र बानियाँसँग सम्झौता गरेका थिए । केन्द्र सरकारमा उठ्ने सरोकारले प्रदेश सरकारमा विषय तरंगित हुने देखेपछि पाण्डेमा अर्काे तनाव थियो । मुख्यमन्त्री पाण्डे प्रचण्ड निवास खुमलटारमा हुँदै गर्दा आइतबार साँझ ५ बजे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रचण्डवीच छलफल भयो । नेपालले आफ्नै सम्धी सोमप्रसाद पाण्डेलाई साथमा लिएर प्रचण्ड निवास पुगेका थिए ।

झण्डै दुई घण्टा लामो नेताहरूबीच छलफल भयो । माधव नेपालले आफ्नो पार्टीको बाध्यता देखाउँदै मन्त्रिपरिषद् पुर्नगठनको निर्णयमा पुगेको जानकारी प्रचण्डलाई गराए । प्रचण्डले प्रधानमन्त्री पनि तयार रहेको र पार्टीमा देखा पर्न खोजेको समस्या पनि समाधान हुने भएकाले हेरफेर गर्ने निर्णयमा पुगिएको नेपालको निर्णयलाई स्वभाविक माने ।

तर, जब प्रचण्ड निवासबाट माधव नेपालहरू बाहिरिए । त्यसको झण्डै ४५ मिनेटपछि हट्न लागेका मन्त्रीहरूको ताँती पुग्यो, प्रचण्ड निवासमा । राति पौने ८ बजे खुमलटारमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी किवास मन्त्री रामकुमारी झाँकीलगायत मन्त्री पुगेका थिए । उनीहरूले कानुनमन्त्री गोविन्द बन्दी (जो नेकपा एकीकृत समाजवादीकै भए पनि गठबन्धनका साझा बाँडफाँड सूचीमा रहेका गैह्र सांसद)लाई पनि लिएर प्रचण्डनिवासमा पुगेका थिए ।

त्यहाँ उनीहरूको एउटै तर्क थियो– यो हाम्रो पार्टीको निर्णयलाई रोक्न सहयोग गरिदिनुपर्‍यो । माधव नेपालसँग कुरा गरिदिनुपर्‍यो । सम्झाईदिनुपर्‍यो ।

उनले प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताहरूसँग एक चरण छलफल गरेर ठोस निष्कर्षमा पुगौँला भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूलाई बताए ।

उनीहरुको तर्क थियो, ‘बजेट अधिवेशन चलिरहेको समयमा बजेट प्रस्तुत गरेको मन्त्री परिवर्तनको कुरा अन्तर्राष्ट्रिय प्रचलनभन्दा बाहिरको विषय हो, जिम्मेवार पार्टी र नेताले यस्तो निर्णय गर्दैन, यसले अन्य गठबन्धनको पार्टीलाई पनि मन्त्री हेरफेरका लागि थप प्रेसर पार्छ, चुनाव नजिकिँदै गर्दा अझ यसले राम्रो सन्देश दिँदैन, गठबन्धन र बजेटमा पनि यसले नकारात्मक असर पार्न सक्छ ।’

त्यसपछि प्रचण्डले आफूलाई पनि अहिले मन्त्री हेरफेर गरिहाल्नु पर्छ भन्ने नलागेको तर एकीकृत समाजवादीको पार्टीको आन्तरिक समस्याले आफूले केही नबोलेको जवाफ दिए । त्यसपछि उनले प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताहरूसँग एक चरण छलफल गरेर ठोस निष्कर्षमा पुगौँला भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूलाई बताए ।

सोमबार राति एकीकृत समाजवादीका मन्त्रीहरूको आन्तरिक छलफल भयो । प्रचण्ड निवासबाट फर्केपछि उनीहरूले आन्तरिक रुपमा गरेको छलफलमा प्रधानमन्त्रीसँग समेत यस विषयमा भेटेर दबाब बढाउने निष्कर्ष निकाले । त्यसपछि सामूहिक रुपमा प्रधानमन्त्री भेट्ने, आआफनो च्यानलमार्फत दबाबको सन्देश प्रधानमन्त्रीमा पुर्‍याउने योजना बनाए ।

बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीले बोलाएका थिए । त्यसअगाडि प्रधानमन्त्रीलाई भेट्ने योजना उनीहरूले बनाए । त्यसपछि सोमबार बिहानै थमौतीमा परेका एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटे । प्रधानमन्त्रीलाई पनि उनीहरूले ‘कन्भिन्स’ गराए ।

आफ्नो पार्टीभित्र मन्त्रीका लागि पर्ने रस्साकस्सी, गठबन्धनमा पर्न सक्ने चुनौती यी सबैलाई देखेपछि प्रधानमन्त्रीले गठबन्धन बैठकमा माधव नेपालको प्रस्सतावमा सहमति जनाएनन् । उनले तत्काल मन्त्री फेर्दा यसले पार्न सक्ने असरका बारेमा चर्चा गरे । अहिले अझै गठबन्धनकै पार्टीभित्र थप छलफल गरौँ, तर अहिले हेरफेर नगरिहाल्यौँ भन्ने प्रस्ताव प्रधानमन्त्रीले राखे । माओवादी अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीको कुरामा साथ दिए ।

माधव नेपालले सपथका लागि राष्ट्रपति कार्यालय पत्र पठाउन गरेको आग्रहमा देउवा र प्रचण्डले केही समय रोकौँ भन्ने प्रस्ताव गरेपछि अन्तत: एकीकृत समाजवादीका मन्त्रीहरू थमौतीमा परे । एकीकृत समाजवादीका मन्त्रीहरूले आफ्नो पद जोगाउन गरेको दौडधुप नकारेका छैनन् ।

‘दलीय व्यवस्थामा पार्टी कार्यालयमा मन्त्री जानु, प्रधानमन्त्रीलाई मन्त्रीले भेट्नु, राति बास बस्न घरमा जानु पनि कुनै न्युजको विषय हो र,’ थमौतीमा परेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया