आइतबार, जेठ ६, २०८१

पार्टीभित्र विरोधी मत कुल्चँदै ओली

घनश्याम भुसालमाथी बर्षाउन खोजिएको कारवाहीको आलोचना छोप्न फेरि सातै प्रदेशबाट मागियो अनुशासन उल्लंघनकर्ताको सूची

मेरोन्यूज २०७९ जेठ २३ गते ११:०१

काठमाडौं । स्थानीय निर्वाचनमा दावी गरेजसरी परिणाम नआएपछि आलोचित बनिरहेका एमाले अध्यक्ष केपी ओलीले आफनो कमजोरी छोप्न आफु विरोधीहरुलाई तह लगाउने रणनीति बनाएका छन् ।

Advertisement

ओलीले ४२ महिना सरकार सञ्चालन गर्दा झण्डै – झण्डै दुई तिहाई जनमतको बलियो कम्युनिष्ट पार्टी, संसद, प्रदेश सरकार जोगाउन नसकेको र पार्टीभित्रको घरझगडामा अलोकतान्त्रिक र निरंकुश शैलीमा दुई -दुई पटक संसद भंग गरेको र त्यसैको परिणाम कांग्रेस लगायतले एमालेमाथी घेरावन्दी गरेको र निर्वाचनमा समेत त्यसको असरमा पार्टी खुम्चन थालेको स्वीकारोक्ति अहिले एमालेभित्र चाहेर नचाहेर पनि नेताहरुले बोल्न थालेका छन् ।

एमाले भनेकै ओली र आफ्नो बोली र चाहना नै पार्टीको सर्वाेपरी निर्णय बनाउँदै आएका ओलीलाई पार्टीभित्रै यसरी आलोचक देखिन थालेको पटक्कै मन परेको छैन । सोही कारण पार्टीमा आफ्नो विरोधमा आवाज उठाउनेलाई ओलीले शुरुमै अंकुश लगाउन कारवाहीको डन्डा बर्षाउने नीति अख्तियार गर्न खोजेका छन् ।

माधव नेपाल, झलनाथ खनाल लगायतका नेता पार्टीबाटै वाहिरिएपछि ओलीले एमालेलाई मनमौजी तरिकाबाट चलाउँदै आएका छन् । त्यहाँ उनको विरोधमा आवाज उठाउने र प्रश्न गर्ने नेताहरु कर्नरमा परेका छन् । त्यसको चित्र चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट पनि प्रष्ट देखिएको छ ।

सवै दल मिलेर आँउदा पनि एमाले एक्लै बहुमत पालिका जित्ने ओलीको स्थानीयतह निर्वाचन अगाडीसम्मको हुँकार हुने गर्दथ्यो । तर निर्वाचन परिणाममा एमाले ०७४ को स्थानीय तह भन्दा ८९ पालिका कममा खुम्चिन परेपछि एमालेभित्र नेतृत्वको कार्यशैलीमाथी फेरि क्रमशः प्रश्न उठन थालेको थियो ।

तर ओली आफनो कारणले पार्टी पराजय भएको देखाउन चाहँदैनन ।

उनले माधव नेपाललार्इ एमालेमै रहँदा पार्टीलाई ३३ सिटमा खुम्चाएको, एमालेको नेतृत्वमा रहेर एमाले नै सिध्याउन लागेको जस्ता आरोप लगाएर आलोचना गर्ने गर्दथ्थे । आफु पार्टी नेतृत्वमा आएपछि एमाले खुम्चन नपरेको र अघिल्लो चुनावमा भन्दा पछिल्ला चुनावमा थप बलियो बन्दै गएको ओलीको जिकिर हुने गर्दथ्यो । एमालेको नेतृत्वमा उनी आएपछि नैं एमालेले दुई पटक सरकारको नेतृत्व पाएको र आउने चुनावबाट फेरि एमाले एक्लै बहुमतसहित सरकारको नेतृत्वमा पुग्ने जिकिर ओलीको थियो ।

तर संघीय चुनावको पूर्वसन्ध्यामा भएको स्थानीय तह निर्वाचन परिणामले एमालेलाई फेरि खुम्चाउन थालेपछि ओली आफनो कमजोरी लुकाउन अनेक फन्डा चाल्न थालेका छन् । अझै पनि उनले आफनो कारण पार्टी कमजोर भएको, आफनै कारण अन्य राजनीतिक शक्तिहरु एकढिक्का बन्ने अवस्था आएको र एमाले एक्लिने अवस्थामा पुगेको स्वीकार गर्न चाहेका छैनन ।

त्यसैको कारण हो – स्थानीय तहको चुनावी परिणाम सम्पूर्ण रुपमा नआउँदै ओलीले महासचिव शंकर पोखरेलमार्फत निर्वाचनमा गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाउन लगाएका थिए । कतिपय स्थानमा सत्ता गठबन्धनले वुथ कब्जा सम्म गरेको आरोप एमालेले लगाएको थियो ।

निर्वाचनको सम्पूर्ण परिणाम (बाजुराको बुढीगंगा गाँउपालिकाबाहेक) पछि भने फेरि ओलीले आफनो कमजोरी लुकाउन आफ्नै पार्टीभित्रको अन्तरघातका कारण एमाले हार्नुपरेको बताएका थिए । हुन पनि यो पटक एमालेले ६ महानगरमध्ये कँही पनि जित निकाल्न सकेन । पछिल्लो पटक सिट कम जिते पनि ३८ लाख भोट ल्याएर जनमतमा अन्य दलको तुलनामा एमालेको मत धेरै रहेको भन्दै ओली आफनो कमजोरी लुकाउन खोजिरहेका छन् ।

ओलीको यस्तो अहंम विरुद्ध आवाज उठाउने माथी अहिले उनले सुरुवाती चरणमै मुख थुन्ने प्रयास थालेका छन् । त्यसैको प्रतिक्रिया हो – एमाले स्थायी समिति सदस्य घनश्याम भुसालमाथी लिन खोजिएको ‘एक्सन’ ।

आफनो कमजोरीका कारण पार्टी र कम्युनिष्ट आन्दोलननै असफल भएपछि ओलीले आफ्नो भूमिकामाथि प्रश्न उठाउने नेतामाथि पार्टी अनुशासनका नाममा डन्डा चलाउन थालेका हुन् । एमाले नेता घनश्याम भुसालले सरकारमा रहँदा ओलीले गरेको कमजोरी, पार्टीको दशौं महाधिवेशनका नाममा प्रतिस्पर्धामा लगाएको बन्देज सम्मका कारण एमालेमा ओली निरंकुश वन्दै जान थालेको आवाज निरन्तर उठाईरहेकै छन् ।

भुसालमाथी जुन अन्र्तवार्तालाई कारण बनाएर कारवाहीको डन्डा चलाउन खोजिएको छ, उक्त अन्र्तवार्तामा नेता भुसालले अध्यक्ष ओलीको प्रयोग शतप्रतिशत असफल भएको बताएका थिए । ‘नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएका हुन् समग्रतामा । नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो, तर जनताले इतिहासको हाम्रो मूल्यांकन गरे, आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ।’ भुसालले भनेका थिए ।

अहिलेकै शैलीमा अध्यक्ष ओलीले पार्टी सञ्चालन गरे एमाले समाप्त हुन सक्ने चेतावनीसमेत नेता भुसालले दिएका थिए । ‘यही तरिका हो भने हामी भिरको नजिक-नजिक जाँदै छौँ । हामी एउटा कान्लाबाट खस्यौँ, धेरै कान्लाबाट खसेर भिरको नजिक पुगेका छौँ । म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यसविपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड पर्सेन्ट ९शतप्रतिशत० देखिएको छ,’ भुसालले भनेका थिए ।

ओलीको कार्यशैलीमाथी प्रश्न उठाएकै कारण भुसाल अहिले तारोमा परेका हुन् । यसरी आवाज उठाउने खोज्ने नेता कार्यकर्तालाई बेलैमा वन्देज लगाउन ओलीले पार्टीमा त्यस्ता नेतामाथी अनुशासनको डन्डा चलाउन खोजेका हुन् । एमालेमा नवौं महाधिवेशन अगाडीसम्म अमृत बोहोरा अनुशासन आयोगका अध्यक्ष थिए । नेकपा कालमा पनि बोहोरा नै उक्त आयोगको अध्यक्ष थिए । तर उनी ओलीका कटटर समर्थक बन्न चाहाँदैनथे ।

बोहोरा आफनो लागि अनुकुल नहुने देखेपछि नै ओलीले यसपटक बोहोरालाई उक्त आयोगको जिम्मा दिन चाहेनन । उनले आफनो निकट र विश्वासपात्र केशव बढाललाई उक्त आयोगको अध्यक्षमा ल्याए । यस्तै यस्तै कारणले नै बडाललाई आयोग अध्यक्ष बनाउन ओलीले शुरु देखिनै सोचीविचारी रणनीतिक मूभ चालेको एमालेभित्रकै नेताहरुको टिप्पणी सुन्ने गरिन्छ ।

यसपटक भुसाललाई कारवाहीका लागि पनि दवाव नै दिएको स्रोत बताउँछ । अनुशासन समितिको बैठक डाक्न लगाएर भुसालले सार्वजनिक टेलिभिजन अन्र्तवार्तामा बोलेका अभिब्यक्तिमा कारवाही गर्न दवाव दिएको स्रोत बताउँछ ।

शुरुमा आयोगको बैठक बोलाउन निर्देशन र दवाव दिइएको र बैठक बसेपछि कारवाहीको डन्डा चलाउन निर्देशन गरिएको एमाले स्रोतको भनाई छ । आयोगका एक सदस्यका अनुसार, भुसाललाई शुरुमा आयोगले कारवाही आफैले गर्न खोजेको थियो । तर प्रक्रिया नमिल्ने भएपछि फेरि केन्द्रीय कमिटिमा कारवाहीको लागि आग्रह गदै पचात्रार गर्ने निर्णय गरेर अध्यक्ष ओलीलार्इ पत्र पठाएको हो ।

जेठ १९ गते बैठक बसेर भुसालमाथी यो खालको निर्णय एमालेको अनुशासन आयोगले गरेको हो ।

भुसालले भने आयोगले अतिरिक्त सक्रियता प्रर्दशन गरेको टिप्पणी गरेका छन् । उनले आयोगको यस्तो निर्णय औपचारिक रुपमा आफुँलाई जानकारीमा नआईसकेको तर सुनेको भन्दै साँच्चै त्यसो गरिएको भए अनुशासन आयोग ‘कंगारु अदालत’को भूमिकामा देखिन खोजेको टिप्पणी गरेका छन् ।

’उनीहरूले ममाथि प्रश्न उठाएको हो भने त्यो अंग्रेजीमा कंगारु कोर्ट भन्छ- आफैले अदालत गठन गर्ने, न्यायाधीश नियुक्त गर्ने र आफैले मुद्दा लाउने, आफैले फैसला गर्ने । सबैथोक आफैले गर्ने । यदि त्यसो गरेको हो भने नेकपा (एमाले)को अनुशासन आयोगको गरिमालाई यो आयोगका मान्छेहरूले धुलीसात पार्ने भए भन्ने मलाई चिन्ता छ ।‘ भुसालले एक सञ्चारमाध्यमसँगको अन्र्तवार्तामा भनेका थिए ।

भुसालमाथी कारवाहीको डन्डा अगाडी बढाएपछि अब यस विषयको निर्णय गर्ने अधिकार एमाले विधानअनुसार सचिवालय र केन्द्रीय कमिटीलाई छ । पदाधिकारी सबै रहेको केन्द्रीय सचिवालयमा १९ सदस्य छन् । आयोगको कारबाहीसम्बन्धी सिफारिसलाई सदर गर्न बहुमतका लागि १० जना चाहिन्छ ।

विगतमा माधव नेपाल समुहमा रहेका तर पार्टी विभाजनमा नेपालसँग नगई एमालेभित्रै १० बुँदे सहमति गरेर बसेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई भुसालको पक्षमा खुल्ने देखिन्छन् ।

तर ओलीले कारवाही नै चाहेपछि सचिवालयमा ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल कारवाहीको पक्षमै उभिनेछन् । पृथ्वीसुब्बा गुरुङ भने ओली निकट रहेपनि भुसालमाथीको कारवाहीको विपक्षमा उभिन सक्ने उनको हाउभाउ र स्वभावले देखाँउछ । अन्य ओली पक्षका नेताहरु भने ओलीका अगाडी बोल्न नसक्ने अवस्थामा रहेका कारण उनले जे चाहयो त्यही निर्णय गराउन सक्छन् ।

सोही कारण अहिले भुसालमाथी अनुशासन आयोगको कारवाही सिफारिसले एमालेमा नयाँ खालको तरंग पैदा भएको छ । यसले एमालेमा मात्र होइन, एमाले वाहिरी वृत्तमा समेत ओली आलोचना सहन नसक्ने नेता बनेको भनी थप आलोचित बन्न थालेका छन् । निर्वाचनमा आफैले एमाले अन्तरघातका कारण हारेको भन्ने, त्यसरी अन्र्तरघात गर्नेहरुमाथी कारवाहीको डन्डा नचलाउने तर ओलीको नेतृत्वशैलीको आलोचना गरेकै आधारमा भुसालमाथी भने कारवाहीको डन्डा चलाउने अनुशासन आयोगको निर्णयपछि आयोग र ओलीको थप आलोचना एमालेवृत्तमै शुरु भएको छ ।

त्यसपछि भने आलोचना छोप्न फेरि अनुशासन आयोगलाई नै मोहोरा बनाईएको छ । अहिले आयोगमार्फत सातै प्रदेशबाट निर्वाचनमा घात अन्र्तघात गर्ने, अनुशासन उल्लंघन गर्नेहरुको सूची मागिएको छ । त्यसका लागि आयोगले प्रदेश अध्यक्षहरुलाई पत्राचार गरेको छ ।

आयोगबाट आउने पत्रसहितलाई छलफल गर्ने गरी जेठ ३१ गते आयोगको अर्काे बैठक बोलाइएको छ । एमालेमा भुसाल कारवाही प्रकरणले कुन रुप लेला यसको कही दिन अझै पर्खनुपर्ने देखिएको छ ।

प्रतिक्रिया