सोमबार, वैशाख ३१, २०८१

राष्ट्रपतिसँग केपी ओलीको दुई घण्टा वार्ता, चर्चामा बाम गठबन्धन

मेरोन्यूज २०७९ जेठ २१ गते २१:२४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न ओली शितल निवास पुगेका हुन् । उनीहरुबीच दुई घण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।

Advertisement

सरकारले संघीय संसदको निर्वाचन घोषणा गर्ने चर्चा गरिरहेका बेला एमालेका अध्यक्षसमेत रहेका ओली राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । जावलाखेलको भोटो जात्रा सकेर राष्ट्रपति शीतल निवास पुगेपछि ओली शितलनिवास पुगेका थिए ।

संसदमा बजेट अधिवेशन चलिरहेको छ । केही दिनमै बजेट पास गराउने सरकारी तयारी रहेको छ । साथै, संघीय संसदको आयू कहिले र कुन मितिसम्म रहने भन्ने बहस सिर्जना भएको बेला राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो ।

यसै साता नेपालको राजनीतिमा बाम गठबन्धनको चर्चा पनि शुरु भएको छ । एमालेबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चुनावी सरकारको प्रधानमन्त्री बन्ने अफर गएका चर्चा चलेको छ ।

यद्यपि, यी चर्चालाई एकले अर्को पार्टीबाट खण्डन भइरहेका छन् । एमालेले होइन भनिरहेको छ । एमालेका नेताभन्दा नेकपा एसका सम्ममानित नेता झलनाथ खनालले बाम गठबन्धनमा जोड दिइरहेका छन् ।

शनिबार मात्रै नेकपा एसको सचिवालय बैठकमा नेता खनालले बाम गठबन्धनको आवश्यकता र औचित्यबारे लामो भाषण गरेका गरेका थिए । त्यतिमात्र होइन सञ्चारकर्मीसँग उनले बाम गठबन्धनको विषयमा आफ्ना धारणा राखेका थिए ।

‘यतिबेला बामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले बामपन्थी एकताको पक्षमा देखिनु हुन्न, यसो हुनाले तत्काल बामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावना चाहिँ निकै कमजोर छ,’ उनले भने, ‘हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं, किनभने यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन, त्यो नभएकाले हामी असन्तुष्ट छौं, त्यो असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौं, हामी आफैं पनि समीक्षा गर्दै छौं, अब हामी ठ्याक्कै यो समीक्षाको बीचमा छौं, समीक्षा गरिसकेपछि अब के के निस्कन्छ, त्यस आधारमा हामी तपाईहरुसँग फेरि कुरा गर्दछौं ।’

यस्तो परिस्थितिमा एमाले अध्यक्ष ओलीले राष्ट्रपतिसँग भेटघाट गर्नुको रहस्य भने केही खुलेको छैन ।

प्रतिक्रिया