आइतबार, जेठ ६, २०८१

भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७९ जेठ २१ गते १८:०२

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ । पछिल्लोपटक थप एक जनामा कोरोना संक्रमण देखा परेको हो ।

Advertisement

शुक्रबार २१६ जनामा परीक्षण हुँदा एक जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षण गरिएको थियो । जेठ ३ गतेपछि १८ दिनपछि यस प्रदेशमा अर्कोमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमण बढेपछि भारतसँग सीमा जोडिएका नाकामा सतर्कता अपनाइएको छ । सतर्कताअनुरुप सीमा नाकामा हाल परीक्षण कार्य जारी छ । यस प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको हो ।

सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टिजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतमा अझै पनि संक्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्न सक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ थियो ।

यसैबीच सुदूरपश्चिममा हालसम्म पाँच लाख ४१ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ६४७ जनामा संक्रमण देखिएकामा हालसम्म ६३३ जनाको ज्यान गइसकेको जनाइएको छ ।

प्रतिक्रिया