शुक्रबार, वैशाख १४, २०८१

सुन्दर ठाउँ मिक्लाजुंग : चुनौतीको सिँढीमा अवसरको खोजी

मुक्तिनाथ खनाल २०७९ जेठ २१ गते १६:५६

मिक्लाजुंग डाँडा पूर्वतर्फ फर्केर मुस्कुराइ रहेको न्यानो काखमा मिक्लाजुंग गाउँपालिका लुटुपुटु गरेर रमाइरहेको छ । यो गाउँपालिका पाँचथर जिल्लाको दोश्रो ठूलो बजार वा व्यापारिक केन्द्रको रुपमा पनि प्रशिद्द छ । यो मिक्लाजुंग गाउँपालिकाको सदरमुकाम रवि बजारमा रहेको छ । रवि अर्थात सूर्य वा उज्यालो भनेर बुझ्ने गरिन्छ । यो बजार र आसपासमा बसोबास गर्ने मानिसहरु हसिला खुशिला पाइन्छन् । यहाँको वातावरण पनि उज्यालो र सुन्दर छ । प्राकृतिक स्वरुपमा पनि यो ठाउँ एकदमै उज्यालो छ । यो ठाउँ भनेको गुरु प्रपन्नचार्यको कर्म थलो, राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मस्थान र प्राध्यापक डाक्टर नोवलकिशोर राई जस्तो धुरन्धर विद्ववानको जन्म थलो पनि हो । यो ठाउँलाई ज्ञान आर्जनका लागि एकदमै पवित्र स्थान मानिन्छ।

नेपाल एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा रुपान्तरित भएसँगै नेपालमा संघ, सात प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा पाँचथर जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । मिक्लाजुङ गाउँपालिका मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित छ। यो पालिका १६६.६१ वर्ग कि.मी. को विशाल क्षेत्रफलमा फैलिएको छ । विक्रम संवत २०६८ को राष्ट्रिय जनगणनानुसार यस गाउँपालिकाको जनसंख्या २४,६१५ रहेको छ । जसमा पुरुषहरुको संख्या ११,३०२ छ भने महिलाहरुको संख्या १३,३१३ छ । यस पालिकामा जम्मा घरधुरी संख्या ५५५० रहेको छ ।

 विसं २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित भएसँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउनका लागि यस गाउँपालिकालाई जम्मा ८ वटा वडामा विभाजन गरिएको छ। साविकका साराङडाँडा, रवि, आरुवोटे, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गाविसलाई समावेश गरी यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा ईलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा पाँचथरको तुम्बेवा गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र दक्षिणमा धाकुटाको चौबिसे गाउँपालिका र ईलामको माङ्सेबुङ गाउँपालिका रहेका छन् ।

यो पाँचथर जिल्लाको दक्षिण पश्चिम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा १५ प्रतिशत राई १२ प्रतिशत तामाड्ग २ प्रतिशत सुनुवार १० प्रतिशत क्षेत्री बाहुन ५५ प्रतिशत लिम्बु २ प्रतिशत दलित ३ प्रतिशत मगर र १ प्रतिशत नेवार जातीको बसोबास रहेको छ । यो गाउँपालिका सदरमुकाम फिदिम देखि लगभग ४९ किमि टाढा रहेको छ । यसमा प्राकृतिक सम्पदा मिक्लाजुङ डाडा,जरीबुटृ डाडा,छालासुक्वा डाडा, यबराङ छांगा लगायत अन्य थुप्रै प्राकृतिक सम्पदाहरुले सजिएको गाउँपालिका हो । यस पालिकामा आदिबासी जनजातीको बाहुल्यता छ ।

मिक्लाजुंग गाउँपालिका प्राकृतिक भौगोलिक सांस्कृतिक धार्मिक कला आदिले एकदमै सम्पन्न र भरिभराउ छ । नेपाललाई चारजात ३६ वर्णले बनेको मुलुक भनेर चिनिए झैं मिक्लाजुंग गाउँपालिका पनि सबै जातजाती र भाषाभाषिहरुको साझा फूलबारीको रुपमा रहेको छ । यस पालिकामा बसोबास गर्ने सबै नागरिकहरु यति धेरै मिलनसार सहयोगी र कोमल ह्रदय भएका छन कि यसलाई अन्यन्त्रै कुनै पालिकाका नागरिकसँग तुलना गर्नै नमिल्ने र नसकिने खालका छन। यो पालिका सबै प्रकारका अवसरले सुशज्जित र सम्पन्न छ।

स्थानीय तह सदस्य निर्वाचन २०७९

पाँचथर जिल्लामा ८ वटा पालिका रहेकोमा सदरमुकाम रहेको फिदिम नगरपालिकामा जिल्ला न्यायधिशले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सहित फिदिम नगरपालिकाको निर्वाचन गराउँनु भएको थियो भने बाँकि ७ वटा पालिका मध्ये मिक्लाजुंग गाउँपालिकामा मलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त भै काम गर्ने अवसर प्राप्त भएको थियो । यस निर्वाचनमा धेरै अधिकार मुख्य निर्वाचन अधिकृतलाई भएकोले हामी निर्वाचन अधिकृतहरु अलिक गुम्राहामा रहेर पनि काम गर्नु पर्ने बाध्यता रहयो । विशेष गरी जनशक्तिको खटनपटन र समन्वयमा निकै कठिनाइ भएको महसुस रहयो । हामी निर्वाचन अधिकृतहरुले एकजना पनि मतदान अधिकृत र अन्य कर्मचारीहरु पनि नदेखि र नचिनीकन पनि आफ्नो पालिकाको निर्वाचन सम्पन्न गर्नु पर्ने बाध्यता बन्यो जुन विषय निकै नै पिडादायक भएको भए पनि अहिलेको आधुनिक प्रविधिको प्रयोग र रात दिन उनीहरुको समिपमा पुगेर भए पनि काम गर्ने उचित वातावरण बनाउन सफल भएको परिणामस्वरुप स्वच्छ  निष्पक्ष र पारदर्शिरुपमा निर्वाचन सम्पन्न भएको छ ।

वि स २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहका सदस्यका निर्वाचनका लागि यस पालिकामा १८५०४ जना (पुरुष ९५५७ जना र महिला ८९४७ जना) मतदाता रहेकोमा ११४५१ जना (पुरुष ५९०९ जना र महिला ५५४२ जना)ले आफ्नो मताधिकार प्रयोग गर्नु भएको थियो । यस मतदानले अमरराज माखिमको नेतृत्वमा ४२ सदस्यिय गाउँपालिका गठन भएको छ भने १६ सदस्यीय (प्रमुख प्रशासकिय अधिकृतसहित १७ जना) कार्यपालिका गठन भएको छ। यस निर्वाचनमा गाउँपालिकामा १७ जना महिला र २५ जना पुरुष निर्वाचित हुनु भएको छ भने गाउँ कार्यपालिकामा ४ जना महिला र १२ जना पुरुष निर्वाचित हुनु भएको छ। यो पालिका ७५३ पालिका मध्येमा सुरक्षाका दृष्टिकोणले अति सम्वेदनशील पालिका मध्येमा परेको थियो । सबै सरोकारवालाहरुको सहभागिता, सहमति, समन्वय, सहयोग र सहकार्यमा यस पालिकामा शान्तिपूर्ण रुपमा समयमै निर्वाचन गराउन सफलता मिलेको छ ।

आम्दानीको स्रोत

यस पालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा भनेको कृषि हो। यस पालिकामा आलु धान मकै कोदो फापर आदि खाध्यान्न बालीको खेति हुने गरेको छ। यसका अतिरिक्त अलैंची चियाको खेति पनि व्यवसायीक रुपमा हुन थालेको छ। पशुपालन यस पालिकाका मानिसहरुको मुख्य पेशा हो । दूध घिउ चिज मासु लगायतका पशुजन्य उत्पादनको लागि स्थानीय बजारको अभाव भए पनि झापा लगायतका बजारमा उनीहरुको पहुँच रहेको देखिन्छ तर यातायातको राम्रो र निरन्तर सेवा हुन नसक्दा कृषकहरु आफ्नो श्रमको र उत्पादनको मूल्य पाउनबाट बन्चित रहेको सहजै अनुमान लगाउन र देख्न सकिन्छ।  यस पालिकाका युवाहरु भारतिय सेना ब्रिटिश सेना सिंगापुर सेनामा भर्ना हुने गरेका छन । यसका अतिरिक्त कोरिया लगायतका मुलुकमा बैदेशिक रोजगारीमा जानेक्रम भने उच्च नै रहेको छ। यस पालिकाका अलिक हुने खाने परिवारका मानिसहरुको बसोबास भने झापा मोरङ्ग काठमाण्डौं लगायतका मुख्य शहरमा पनि रहेको पाइन्छ ।

  यस पालिकामा उधोगहरुको अभाव भएका कारण श्रमिकहरुका लागि बजारको शुन्यता नै देखिन्छ। सामान्य घरेलु उधोगहरु अलि अलि भए पनि ती नगन्य रुपमै रहेका छन। घर निर्माण लगायत र कृषिमा आधारित श्रमिकहरुले यस पालिकामा सामान्य रोजगारी पाउँन सकेको भए पनि अन्य क्षेत्रका श्रमिकहरु भने अन्यन्त्र नै जानु पर्ने बाध्यता टड्कारो रुपमा देखिन्छ।

शिक्षा र स्वास्थ्य सेवा

नेपाल सरकारको नीति अनुसार यस पालिकाका सबै वडाहरुमा स्वास्थ्य संस्थाहरु स्थापना भएर नागरिकलाई आधारभूत सेवाहरु दिंदै आएको देखिन्छ। करिव ६० जना विभिन्न विधाका स्वास्थ्यकर्मीहरुले यस पालिकामा बसोबास गर्ने मानिसहरुलाई स्वास्थ्य सेवा दिंदै आएको देखिन्छ। यहाँ केही साना क्लिनिकहरु पनि निजी क्षेत्रले संचालन गरिरहेका छन् । तर विशेषज्ञ सेवाका लागि झापा वा मोरङ्ग वा धरान वा काठमाण्डौं नै पुग्नुको विकल्प देखिदैन ।

यसपालिकामा माध्यमिक विधालय आधारभूत विधालय गरी ५६ वटा रहेका छन । यी विधालयहरुमा करिव ५ हजार जना जति बालबालिकाहरु अध्ययनरत रहेका छन भने यसका लागि सरकारले २५७ जना शिक्षक शिक्षिकाको व्यवस्था गरी पठनपाठन गराइ रहेको छ । यस पालिकामा एकजना शिक्षकले सरदर २० जना विधार्थीलाई शिक्षितर दिक्षित बनाउँनु पर्ने रहेको छ । यसका अतिरिक्त यस पालिकामा १० वटा निजी विधालयहरु संचालनमा रहेका छन ।

समस्या र चुनौतिहरु

कुनै पनि श्रेत्र समस्या रहित हुन सक्दैन । जहाँ समस्या र चुनौतिहरु धेरै हुन्छन त्यहाँ नै अवसरका खानीहरु पनि प्रस्फूटन हुने गर्छन । यो मिक्लाजुङ्ग गाउँपालिका पनि यसबाट अछुतो छैन । यस पालिकामा अनगिन्ति समस्या र चुनौतिका चाँङ्ग रहेका छन ।

२०७८ साल आश्विन कार्तिकमा आएको अवरल वर्षाका कारण भएको बाढी पहिरोका कारण विस्थापितहरुको पुर्स्थापना र पुनः निर्माण गर्नु,  बसाइसराइलाई उचित व्यवस्थापन गर्नु, एकीकृत बस्तिको निर्माण वा व्यवस्थित बसोबासको विकास गर्नु प्रमुख चुनौतिका रुपमा रहेका छन । यसका अलावा गुणस्तरिय शिक्षामा बृद्दि गर्नु,  स्थानीय युवाहरुलाई पालिकामै रोजगारीको सृजना गर्नु,  विशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा आम पालिकाबासीको पहुँचमा पुर्याउँनु, स्थानीय उत्पादनलाई बजारको उपलब्धता दिलाउनु, बाह्रै महिना सवारी साधन चल्ने खालको सडक पूर्वाधारको विकास गर्नु,  विधुत सेवालाई व्यवस्थित बनाइ निरन्तर सेवा प्रदान गर्नु , संचार सेवालाई भरपर्दो र विश्वसनिय बनाउँनु , दूरसंचार र इन्टरनेट सेवालाई सर्वसूलभ बनाँउनु , खेतियोग्य जमीनको संरक्षण गर्नु , जमीनको सही उपयोग हुने सुनिश्चित गर्नु , बजार क्षेत्रको बसोबासलाई स्वस्थ्य र व्यवस्थित बनाउँनु , अपाङ्गता भएका,  पिछडिएका,  अल्पसंख्यक,  लगायतका वर्गका मानिसहरुको संरक्षण गर्नु,  बजार क्षेत्रको फोहोर मैलाको उचित व्यस्थापन गर्नु, वन जङ्गलको संरक्षण गर्नु, कृषि लगायत सबै क्षेत्रको उत्पादन र उत्पादकत्वमा बृद्दि गर्नु,  आम नागरिकलाई अनुशासित कर्तव्यबोध गर्न सक्ने बनाउँनु,  पालिकामा राम्रो शान्ति सुरक्षाको सुनिश्चित गर्नु,  प्रशासनलाई चुस्त दुरुस्त र मितव्ययी बनाउँनु, कृषक मजदुर लगायत सबैले आफ्नो श्रमको उचित मूल्य पाउँन सक्ने अवसरको सृजना गर्नु,  शहरीकरणलाई व्यवस्थित र स्वास्थ्य वातावरणको निर्माण गर्नु, प्राकृतिक स्रोतको उचित संरक्षण गर्नु,  विकास निर्माणलाई दिगो बनाउँनु, शिक्षालाई जीवनोपयोगि बनाउँनु,  नागरिकलाई सक्रिय र निरोगी बनाइ उनीहरुबाट उचित लाभ लिनु, लोपोन्मुख र बहुमुल्य जडिबुटीको संरक्षण गर्नु, परम्परागत प्रविधि र ज्ञानको उचित संरक्षण र सम्बर्धन गर्नु, प्रशासनिक खर्चलाई नियन्त्रणमा राख्नु, फजुल खर्चलाई नियन्त्रण गर्नु ,  सुशासन पारदर्शिता र जवाफदेहिता कायम गर्नु आदि प्रमुख रुपमा रहेका छन ।

अवसरहरु

आर्थिक प्राकृतिक भौतिक मानविय र अन्य सबै प्रकारका साधन र स्रोतबाट यो मिक्लाजुङ्ग गाउपालिका सुसज्जित रहेको छ । यहाँको हावापानी अति नै आनन्ददायी छ भने कृषि उधोग पर्यटन जलस्रोत लगायतको क्षेत्रमा लगानी बढाउन सकेमा रोजगारी सृजना गर्न गरिबी न्युनीकरण गर्न बसाइ सराइलाई पूर्णरुपमा रोक्न सकिने देखिन्छ । यस पालिकामा रहेका प्रमुख अवसरहरुमाः मानव स्रोतको विकास र विस्तार गर्न सकिने कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व बढाइ खाधान्नमा आत्मनिर्भर हुन सकिने पर्यटनको विकास र विस्तार गरी विदेशि मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्न सकिनेछ। पर्यटनको विकासका लागि यस पालिकामा होमस्टेको विकास र विस्तार गरी पर्यटनको क्षेत्रमा नमूना पालिका बनाउन सकिनेछ । चिया, क्युवी, अलैची, कुचो, दूध, जडिबुटी, फलफूल, तरकारी, सागसब्जी आदिको बैज्ञानीक तरिकाले खेती गर्न सकिनेछ । यस पालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खेलकुद, र पर्यटनको हव नै निर्माण गर्न सकिनेछ । यसका लागि यहाँ जन्मिएर अन्यन्त्र कार्यरत र सेवा निवृत्त भएका मानिसहरुलाई नीतिगत कानूनी र विधिसम्मत तरीकालले उनीहरुले यहाँ फर्केर काम गर्ने वातावरण निर्माणको जरुरी छ । यसबाट उनीहरुको ज्ञान, सीप, अनुभव र क्षमताको प्रयोग गर्न सकिनेछ ।  आयुर्वेदिक र परम्परागत चिकित्सा सेवाको विकास र सेवा विस्तार गर्न सकिनेछ । यी सबै अवसरलाई सही समयमा सही तरिकाले नीति निर्माण र कार्यान्वयन गर्दा ५ वर्षभित्रमा यो मिक्लाजुंग गाउँपालिका सबै क्षेत्रमा आत्म निर्भर हुने अवसर पाउने निश्चित छ ।

अहिलेको नेतृत्वले गर्नु पर्ने मुख्य मुख्य कार्यहरु

 यस मिक्लाजुंग गाउँपालिकाका मतदाताले विगत ५ वर्षदेखि यस पालिकाको पिताको रुपमा कार्यरत पालिका पितालाई नै आगामी ५ वर्षका लागि पनि नागरिकको सेवामा काम गर्ने गरी निर्वाचित गरिदिएका छन् । नवनिर्वाचित उपाध्यक्ष र धेरै वडा अध्यक्ष र सदस्यहरु पनि गत निर्वाचनमा विभिन्न पदमा निर्वाचित भएर अहिले पुन थप जिम्मेवारी बहन गर्ने अवसर यस पालिकाका मतदाताले प्रदान गरेका छन । यसबाट यस पालिकामा बसोबास गर्ने नागरिकको अपेक्षा स्पष्ट छ कि पालिकामा अनुभवि नेतृत्वले विगतमा उनीहरुले थालनि गरेका कामहरु सबै पूरा गरुन र आम मतदाता समक्ष विगतको निर्वाचन र अहिलेको निर्वाचनताका गरेका प्रतिबद्दताहरु समयमै पूरा गरेर यस पालिकालाई समृद्द पालिकाको रुपमा विकास गरुन भन्ने रहेको छ ।

यसका लागि जननिर्वाचित प्रतिनिधिहरुले विगतका अधुरा कामहरुलाई पूरा गर्दै निम्न कार्यहरु गर्नै पर्ने देखिएको छ ।

१) यस पालिकामा हाल उपलब्ध मानविय, भौतिक, वित्तिय, प्राकृतिक, साधन स्रोतहरुको अनुमान गरी आगामी ५ वर्षका लागि आवश्यक पर्ने साधन स्रोतको सही तरिकाले प्रक्षेपण गर्ने  र त्यसको सही तरिकाले वितरण र उपयोगको वातावरण बनाउने ।

२) यस पालिकामा वि स २०६८ को जनागणनामा भन्दा २०७८ को जनगणनामा जनसंख्या घटेको पाइएको छ । यसका विभिन्न कारणहरु मध्ये मूल कारण भनेको शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षामा यस पालिकामा बसोबास गर्ने नागरिकले विश्वास गर्न नसक्नु नै हो । यो समस्या समाधानका लागि पालिकाले नीति र कानून नै निर्माण गरी शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षालाई पहिले प्राथमिकतामा राखेर लगानी र क्षमता बढाउँनमा केन्द्रित हुनै पर्ने देखिन्छ ।

३) वि स २०७८ साल आश्विन र कार्तिक महिनामा बेमौषमी पानी परेर बाढी पहिरोले यस पालिकालाई क्षतविक्षत बनाउँनुका साथै धेरै ठूलो मानविय भौतिक र प्राकृतिक क्षति भएको स्पष्ट छ । यस प्रकारको क्षति हुनुमा मौषम र वातावरण परिवर्तन त हुँदै हो यसका अतिरिक्त डोजरे विकासलाई पनि नजर अन्दाज गर्न सकिन्न । यस महाविपत्तिबाट धेरै नागिरकहरु यहाँबाट विस्थापित भैसकेका र हुनेक्रम जारी रहेको देखिन्छ । यसको समाधानका लागि स्पष्ट नीति रणनीति र दीर्घकालिन योजनाको आवश्यक छ । यस काममा संघीय सरकार र प्रदेश सरकारसँग पनि सहकार्य र लगानीमा साझेदारी गर्नै पर्छ । यसको नेतृत्व र उपयुक्त वातावरणको निर्माण वर्तमान पालिकाको नेतृत्वले गर्नै पर्ने देखिन्छ ।

४) यो पालिका हावापानी, माटो, प्राकृतिक स्रोत साधन, जनशक्ति लगायतको क्षेत्रमा एकदमै सम्पन्न छ । यस पालिकामा नफल्ने र उत्पादन नहुने कुनै पनि अनाजहरु सायद छैनन होला । नेपालमा रहेका ७५३ वटा पालिका मध्येमा यत्तिको सबै कुराले सम्पन्न पालिका सायदै होलान । यहाँ आवश्यक छ केवल पहिचानको, प्रथमिकिकरणको र काम गर्ने उचित वातावरण निर्माणको । यो काम अहिलेको निर्वाचित पालिका सरकारले गर्न सक्छ र गर्नै पर्ने छ ।

५) यस पालिकाका नागरिकहरु पिडित भएको भनेको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा बाहेक विधुत खानेपानी र संचार सेवाबाट हो । पालिकाले यी तिनवटै क्षेत्रमा आजैबाट काम गर्न शुरु गरिहाल्नु पर्ने देखिएको छ । गुणस्तरिय खानेपानीको व्यवस्थाका लागि दीर्घकालिन योजना बनाएरै लाग्नु पर्ने भए पनि विधुत र संचारका लागि एक निर्णय नै काफी हुने देखिन्छ । कार्यपालिकाको पहिलो बैठक नै विधुत सेवामा निरन्तरता र गुणस्तरिय संचार ‌(मोवायल र इन्टरनेट) का लागि पर्याप्त हुने निश्चित छ ।

६) रवि बजार लगायत यस पालिकाभित्र धेरै ठाउँमा शहरिकरण शुरु भएको छ । अहिलेबाटै शहरी क्षेत्रका लागि आवश्यक पर्ने विधुत, खानेपानी, सडक , फोहरमैलाको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, र सुरक्षाको लागि दीर्घकालिन योजना बनाउँन सकिएन भने यो दिनदिनै क्रोनिक भएर जाने निश्चित छ । यसका लागि पालिकाले अहिलेबाटै प्राथमिकताका साथ काम गर्न शुरु गरिहाल्नु पर्ने देखिन्छ ।

७) यस पालिकाको अर्को प्रमुख समस्या भनेको रोजगारी सिर्जनाको हो । यस पालिकाबाट अधिकांश युवाहरु रोजगारीकै लागि विदेशिने गरेको देखिएको छ । रोजगारी सिर्जनाका लागि यस पालिकाभित्र तत्कालै गर्न सकिने भनेको कृषिमा शिक्षामा पर्यटनमा घरेलु उधोग लगायतमा छ भने युवाहरुको क्षमता विकासका योजना बनाएर उनीहरुलाई स्वारोजगारी सिर्जना गर्ने उचित नीतिगत र कानूनी मार्ग पालिकाले बनाएर अघि बढाउनु पर्ने आवश्यता छ । यसका लागि पालिकाले आजैबाट दीर्घकालिन सोच सहित अघि बढ्नु पर्ने देखिन्छ ।

८) यस पालिकामा धेरै जात जाती र भाषाभाषीहरुको बसोबास रहेको छ । यहाँ बसोबास गर्ने प्रायः हरेक जातजातीको आआफ्नै भाषा, संस्कृति, भेषभुसा, रितिरिवाज र परम्पराहरु रहेका छन । बसाइसराइ विश्व व्यापिकरणले गर्दा यी सबै दिनानुदिन लोप हुने अवस्थामा पुगिसकेको कुरालाई नजर अन्दाज गर्नु हुँदैन । यी भाषा धर्म संस्कृति परम्परा भनेका राष्ट्रका सम्पत्ति हुन । यिनको संरक्षण र सम्बर्धन गर्नु सबैको दायित्व र कर्तव्य पनि हो । यसका लागि पालिकाको नेतृत्वले आजैबाट दीर्घकालिन नीति र सोचसहित काम गर्नु पर्ने देखिन्छ ।

९) पालिकामा छरिएर बसोबास रहेकोले समयमै आधारभूत सेवाहरु नागरिकको घरदैलोमा पुर्याउन नसकिएको यथार्थ हो । यस प्रकारको बसोबासले एकातिर सामान्य सेवाका लागि पनि ठूलो धनराशीको आवश्यक परिरहेको छ भने अर्कोतिर नागरिकहरु पनि असुरक्षित भएको पाइएको छ । यो समस्या समाधानका लागि सबैलाई पायक पर्ने र सुरक्षित ठाउँमा सबै प्रकारका सेवा र सुविधा सहित एकीकृत बसोबासको योजना पालिकाले बनाउँनु पर्ने देखिएको छ । यो काम एकै पटक ठूलो क्षेत्रमा नगरि सानो स्केलमा शुरु गर्न सकिएमा नागरिकहरुले विश्वास पनि गर्ने र सहभागि हुने वातावरण पनि बनाउँन सहयोग पुग्ने हुनाले पालिकाले यसमा गृहकार्य सहित अघि बढ्न उपयुक्त हुने देखिन्छ ।

१०) यहाँका कृषक एवं व्यसायीहरुले आफ्नो उत्पादनको बजारको अभावमा उत्पादन घटाउने वा घाटा खाएर व्यवसाय गर्नु पर्ने वा यहाँबाट पलायन हुनु पर्ने अवस्थालाई पालिकाले नजरअन्दाज गर्न नहुने देखिन्छ । यसका लागि कृषक उधोगी व्यावसायी लगायतको मनोवल बढाउनु त छँदै छ यसका अतिरिक्त यस पालिकाभित्र हाल उत्पादन भैरहेका बस्तु र सेवाको उचित बजारको व्यवस्था गरिदिनु पालिकाको पहिलो कर्तव्य र दायित्व पनि हो । वर्तमान उत्पादनका लागि बजार व्यवस्था सहित आगामी दिनमा यहाँ उत्पादन हुने बस्तु र सेवाको पहिचान गरी आम नागरिकलाई सुसुचित गर्नु र गराउँनु पनि पालिकाकै काम र कर्तव्य भएकोले दीर्घकालिन नीति रणनीति र योजनासहित पालिका अघि बढ्नु पर्ने देखिएको छ ।

११) गाउँपालिका भनेको जनताको सबैभन्दा नजिकको सरकार हो । सरकार भनेपछि उसँग आन्तरिक साधनस्रोत हुनै पर्छ । अहिलेको संविधानले सबै स्थानीय सरकारले न्युनतम साधनस्रोत व्यवस्था आफै गरी आत्म निर्भर हुनु पर्ने सोच राखेको छ । यसका लागि पालिकाले न्युनतम प्रशासनिक खर्च त आफ्नो आन्तरिक स्रोतबाट गर्न सक्ने हुनु पर्छ । हालसम्म पनि यस पालिकाले यसमा खासै काम गरेको देखिएको छैन । अहिलेबाटै यस क्षेत्रमा पालिकाले काम गर्न सकेन भने पछि पालिकालाई निकै कठिनाइ पर्न सक्छ । यसमा पालिकाको नेतृत्व सचेत हुनुका साथै काम पनि सँगसँगै अघि बढाउनु पर्ने देखिन्छ ।

१२) नेपालको संविधानले सबै नागरिकको सरकारी काम र सेवा सुविधामा पहुँच सुनिश्चित हुने गरी स्थानीय सरकारबाट सेवा प्रवाह हुनु पर्ने प्रावधान राखेको छ । स्थानीय सरकार जनताको सबै भन्दा नजिक हरेक सुखदुःखको सारथी भएको हुनाले यसले प्रदान गर्ने हरेक सेवाहरु पनि चुस्त दुरुस्त विधि र प्रकृयाबाट पारदर्शिरुपमा एकद्वार प्रणालीबाट प्रवाह गर्नु सबै पालिकाको पहिलो कर्तव्य र जिम्मेवारी पनि हो । यस पालिकामा यस अघि निर्माण भएका र हाल निर्माणाधिन संरचनालाई हेर्दा संविधानको मर्म र भावना बमोजिमका संरचना बनेका हैनन कि भनी प्रश्न गर्ने ठाउँ दिएको छ । अब बन्ने सबै संरचनाहरु संविधान र कानूनले तोकेका मापदण्ड र प्रकृयाबाट बन्न सकेमा नागरिकलाई प्रदान हुने सेवाहरु एकद्दार प्रणालीबाट वितरण हुने खालको बनाउन पालिकाको अहिलेको नेतृत्व अघि बढ्नु पर्ने देखिन्छ ।

१३) नागरिकले प्राप्त गर्ने हरेक सेवा सुविधाहरु सम्बन्धित सरकारको पूर्वाधारमा निर्भर गर्दछ । त्यसैले सरकारले निर्माण गर्ने हरेक पूर्वाधारहरु जनमैत्री र नागरिकको पहुँचयोग्य पनि हुनु पर्दछ । विधुत, खानेपानी, सडक, पूल, कूलो, संचार, आदि पूर्वाधारहरु कम लागतमा जनताको आवश्यकता र चाहनालाई पूरा हुने र दिगो रुपमा संचालनमा ल्याउन सकिने खालको निर्माण गर्न सकिएमा थोरै लागतमा नागरिकलाई अधिकतम लाभ पुग्ने गरी सेवा प्रवाह गर्न सकिन्छ । त्यसैले यस पालिकामा हाल निर्माणाधिन र भविष्यमा निर्माण हुने हरेक पूर्वाधारका संरचना नागरिकलाई प्रवाह हुने हरेक प्रकारका सेवा र सुविधालाई केन्द्रमा राखेर गर्नु पर्ने हुन्छ। यस पालिकाको वर्तमान नेतृत्व यस कार्यमा सचेत हुनुको साथै नेतृत्वदायी भूमिका बहनमा पनि रहनु पर्ने हुन्छ ।  

१४) नेपालमा तिन तहको सरकार भएकोले एउटा सरकारको काम कारबाहीले अर्को तहको सरकारलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । यस विषयलाई ह्रदयङ्गम गरी हरेक तहका सरकारले आपसमा समन्वय र सहकार्यमा जोड दिनु पर्ने हुन्छ । समन्वय र सहकार्यलाई चुस्त दुरुश्त बनाउन सकिएमा कुनै पनि तहको सरकारलाई साधनस्रोतको कमि पनि हुदैन र समयमै विना विध्नबाधा र अवरोध कम लागतमा गुणस्तरिय कार्य पनि गर्न सकिन्छ । यसका लागि संघीय सरकार र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार बढी सक्रिय हुनु पर्दछ । विगतका अनुभव र शिकाइबाट पनि यस पालिकाको वर्तमान नेतृत्व यस कार्यमा अघि बढ्न सकेमा पालिकाका आम नागिरकलाई कम लागतमा समयमै गुणस्तरिय सेवा प्रदान गर्न सक्षम हुने कुरामा दुईमत नहोला ।

१५) स्थानीय सरकारले नागरिकका हरेक सुखदुखमा साथ दिनु पर्छ । यसले नगर्ने र गर्न सक्दिन भन्ने काम कुनै पनि हुँदैन । मानिसको भ्रूणदेखि चिहानसम्मका सबै क्रियाकलापमा स्थानीय सरकार जान्ने बुझ्ने सुन्ने र सहयोग गर्ने र सहभागि हुनु पर्ने हुन्छ । यसका लागि पालिकाको निर्वाचित नेतृत्व माथि उल्लेखित लगायतका जनताले माग गर्न सक्ने हरेक क्षेत्रमा सहभागि हुन र सहयोग गर्न तत्पर भएर अग्रसर हुन सकेमा जनताको मनमा सधैं रहिरहने छ ।

१६) अनुगमन मूल्यांकन हरेक विकास आयोजना र क्रियाकलापहरुको अभिन्न अंग हुनुपर्छ । स्थानीय सरकारले अनुगमन मूल्याकनको लागि नीति, योजना, र चेकलिष्ट बनाएर यो कार्यगर्दा अति उपयुक्त हुन्छ । पालिकामा कार्यरत कर्मचारीहरु जनप्रतिनिधिहरु र विज्ञहरुले पनि यही नीति, योजना, र चेकलिष्टका आधारमा अनुगमन र मूल्यांकन गरेमा विकास योजनाहरु समयमा सम्पन्न हुने, आर्थिक पारदर्शिता कायम हुने, सम्बन्भित सरोकारवाला र आम नागरिकहरु सुसुचित हुने र आमनागरिहरुले सरकारले संचालनमा ल्याएका योजना र कार्यक्रमहरुको स्वामित्व पनि लिने हुँदा सरकार बलियो र नागरिकप्रति समर्पित भएको प्रमाणित हुने निश्चित छ ।

निष्कर्षः

नेपालको संविधानले नेपालमा अहिले ६१ वटा सरकारको निर्माण गरेको छ । यी ६१ वटा सरकार तिन तहमा विभाजित छन । संघीय सरकार एउटा छ र यो केन्द्रीय सरकारको रुपमा कार्यरत छ । प्रदेश सरकार ७ वटा छन भने स्थानीय सरकार ७५३ वटा रहेका छन ।

यी सरकारको कामहरु पनि नेपालको संविधानले स्पष्टरुपमा किटान गरेको छ । संघीय सरकारको काम भनेको नीति र कानून निर्माणमा नेतृत्व प्रदान गर्ने र अन्य सरकारहरुसँग समन्वय र सहकार्यका आधारमा साधनस्रोतको व्यवस्था गर्ने रहेको छ । यसै गरी प्रदेश सरकारको भूमिका भने समन्वय गर्ने र संघीय सरकार र स्थानीय सरकाबीचमा पुलको काम गर्ने रहेको छ । स्थानीय सरकार भनेको जनताको घरदैलाको सरकार हो । यो जनताको मन मष्तिक र मुटुमा बस्नु पर्ने सरकार हो । जनताका हरेक दुख सुखको सारथी भनेकै स्थानीय सरकार हो । स्थानीय सरकार जति चुस्त दुरुस्त र सक्षम भयो उति नै जनताले सेवा सुविधा प्राप्त गर्न सक्छन र जनताले सरकार आफ्नो अविभावक भएको ठान्दछन ।

स्थानीय सरकार जनताले खोजेको समयमा भेटिने जनताले बोलाउँदा बोल्ने कराउँदा सुन्ने जनताले छुन खोज्दा सामिप्यता बढाउने र हरपल जनतासँगै काँधमा काँध मिलाएर अघि बढ्नु पर्ने भएकोले यो सरकार जनताको हरपलको साथी हुनुपर्छ । यसका लागि यस सरकारले गर्ने हरेक काम कारवाहीहरु जनमैत्री र जनआकांक्षा अनुरुप हुनै पर्छ । यसो हुन स्थानीय सरकार नीति, नियम, विधि र प्रकृयाबाट संस्थागतरुपमा संचालित हुनैपर्छ ।

यो सरकारले गर्ने हरेक कामहरु आम नागरिकलाई दीर्घकालिनरुपमा सकारात्मक प्रभाव पार्ने खालका हुनै पर्छ । यसका लागि स्थानीय सरकारको नेतृत्वकर्ताले नीति, कानून र संरचना निर्माण गर्दा जनतालाई प्रत्यक्षरुपमा सहभागि गराउँनु पर्छ भने,  जनताको आधारभूत सेवा प्रवाह गर्न, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा, साधन स्रोतको पहिचान र वितरण एवं पूर्वाधार निर्माणमा ध्यान दिनु अनिवार्य छ । स्थानीय सरकारले प्रदान गर्ने सेवाहरु एकद्वार प्रणालीबाट पाउने वातावरण बनाउनु पर्ने हुन्छ ।  भरसरक एकै छानाबाट सेवा प्रवाह हुन सक्दा जनताले बढी भन्दा बढी लाभ प्राप्त गर्न सक्नेछन र नेतृत्व पनि सफल हुनेछ । 

(लेखक खनाल नेपाल सरकारका उपसचिव हुन्)

प्रतिक्रिया