आइतबार, जेठ ६, २०८१

पर्वतमा नौ सदस्यीय समन्वय समिति बनाउन सहमति

मेरोन्यूज २०७९ जेठ २१ गते १५:१६

काठमाडौँ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पर्वतको पाँचौँ जिल्लासभा सम्पन्न भएको छ । सभामा जिल्लाका सातवटै स्थानीय तहका नवनिर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी १४ को उपस्थिति रहेको थियो ।

Advertisement

ज्येष्ठ सदस्य फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीको अध्यक्षतामा बसेको सभाले दश बुँदे महत्वपूर्ण निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरबाट सम्पन्न गर्ने नेपाल सरकार, निर्वाचन आयोग जिल्लास्थित निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल तथा राष्ट्रसेवक कर्मचारीलगायतले सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गरेको छ ।

सभाले जिल्ला समन्वय समिति नौ सदस्यीय बनाउने निर्णय गरेको छ । नेपालको संविधान २०७२ का धारा, २२० को उपधारा, ३ बमोजिम एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला र कम्तीमा एक दलित वा अल्पसंख्यकसहित नौ सदस्यीय जिससको निर्वाचन गर्ने व्यवस्थाअनुरुप नौ सदस्यीय समिति रहने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए । उनका अनुसार समितिको निर्वाचनको मिति केही दिनमा तोकिने छ ।

सभाले आर्थिक वर्ष ०७९–८० का लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार र अन्य स्रोतबाट प्राप्त हुने बजेट तथा कार्यक्रम प्राथमिकीकरण तथा वर्गीकरण गरी कार्यान्वयन गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी तीनै तहका सरकारबाट जिल्लामा भइरहेका विकास आयोजना तथा अन्य निर्माण कार्य र राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न र गुणस्तर कायम गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी जिल्लाभित्र रहेका गैरसरकारी संस्थाको अनुगमन गर्ने, जिल्लाभित्र विद्युत्, खानेपानी, साथै अत्यावश्यक सेवाबाट बञ्चित स्थानमा सर्वसुलभ रुपमा उक्त सेवा पुर्याउन सबै स्थानीय तहले आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया