आइतबार, जेठ ६, २०८१

‘पिजन होल’मा राखिएको सामग्री नपाएको भन्दै एमालेको बखेडा

मेरोन्यूज २०७९ जेठ २० गते २१:०५

काठमाडौँ । आज साँझ बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमालेले बखेडा निकालेको छ । यौन हिंसासम्बन्धी विधेयकमा छलफल चलिरहँदा पूर्वसभामुख सुवास नेम्वाङले आसनबाट उठेर छलफल भइरहेको विधेयक नपाएको भन्दै बखेडा निकाल्दै प्रश्न गरेका थिए ।

Advertisement

उनले बोलिसकेपछि सभाामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण भएको बताए । तर, एमालेका सांसदहरू उठेर विरोध जनाएसँगै बाँकी विषयमा छलफल नगरी बैठक स्थागित भएको हो ।

तर, पूर्वसभामुख नेम्वाङले बोलेको विषय झुट सावित भएको छ । संघीय संसदको विधेयक शाखाले गत जेठ १७ गते नै यौन हिंसासम्बन्धी विधेयक सबै दलको ‘पिजन होल’मा राखिसकेको जानकारी दिएको छ ।

तर, आजसम्म विधेयकको कपी नपाएको भन्दै संविधानसभा अध्यक्षसमेत रहेको नेम्वाङले बोलेपछि एमालेले संसदमा अवरोध गरेको हो । बाँकी कार्यसूचीमा चढेका विषय हटाएर जेठ २३ गते बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो ।

प्रतिनिधि सभा नियमावलीको नियम १८ को २ मा पिजन होलमा राखेको सामग्री सम्बन्धित सांसदले स्वत पाएको मानिने व्यवस्था छ । नियम १८ को १ मा कागज पत्रको वितरणमा ‘सचिवले आवश्यक कागजपत्र एवं सूचना सदस्यलाई उपलब्ध गराउने छ’ भनिएको छ ।

यसकै दोस्रो नम्बरमा ‘यस नियम बमोजिम सदस्यलाई उपलब्ध गराउनु पर्ने कागजपत्र एवं सूचना सदस्यसँग सम्बन्धित पिजन होलमा राख्ने व्यवस्था सचिवले मिलाउने छ, यसरी पिजन होलमा कागजपत्र एवं सूचना राखिएकोमा सम्बन्धित सदस्यले प्राप्त गरेको मानिने छ’ भनिएको छ ।

संसद सचिवालयले सो विधेयक यही जेठ १६ गते नै संघीय संसदको वेवसाइटमा राखेको छ ।

प्रतिक्रिया