आइतबार, जेठ ६, २०८१

भारतीय भूमि हुँदै गएर तिंकरमा कार्यपालिका बैठक

मेरोन्यूज २०७९ जेठ २० गते २०:०२

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले व्यास गाउँकार्यपालिका बैठक तिंकरमै राख्ने बताएका छन् । सदरमुकाम खलंगाका कार्यालय प्रमुखसँगको परिचयात्मक कार्यक्रममा उनले सबैभन्दा विकट मानिने व्यास १ को छाङ्ग्रु र तिंकरमा कार्यपालिका बैठक राख्ने बताए ।

Advertisement

‘यो ठाउँमा अब कार्यपालिका बैठक राख्छु,’ अध्यक्ष धामीले भने, ‘यो बैठकमा कार्यालय प्रमुखलाई निम्तो हुन्छ, आइदिनुहोला ।’ भारतीय भूमि भएर पनि कार्यालय प्रमुख र सरोकारवालालाई छाङ्ग्रु र तिंकरमा लगेर बैठकमा राख्ने योजना रहेको उनको भनाइ थियो ।

यो क्षेत्रका लागि राज्यले नेपालतिरबाट घोरेटो बाटो बनाउन सकेको छैन । सेनाले सडक निर्माण कार्य सुरु गरे पनि गति लिन सकेको छैन । ‘सडक र घोरेटो बाटो एकसाथ चाँडो बनाउन सबैले पहल गर्नुपर्छ,’ उनले भने ।

राज्यले यो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पछिल्लो समय स्थापना गरेको छ । यसअघि नेपाल प्रहरी मात्रै राज्यको उपस्थितिका रूपमा रहेको थियो । सरकारले यो क्षेत्रलाई विशेष महत्व दिएको छ ।

छाङ्ग्रुका नागरिकका लागि खाद्यान्न डिपो भए पनि तिंकरमा डिपो छैन । छाङ्ग्रुबाट तिंकर पुग्न पाँच घण्टाभन्दा बढी समय लाग्छ । नेपालतिर बाटो नहुँदा यहाँका नागरिक भारतीय भूमि हुँदै गाउँ पुग्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया