सोमबार, वैशाख ३१, २०८१

सिभिलको निर्देशकमा डा. विधाननिधिका एक वर्ष : क्षमता विस्तारदेखि क्रिटिकल नर्सिङ पढाइसम्म

३५७ बेड सञ्चालनमा आउने, १६ वेडको सुविधासम्पन्न मोडुलर आईसीयु बन्दै

मेरोन्यूज २०७९ जेठ १७ गते १९:४०

काठमाडौं । सिभिल सर्विस अस्पताललाई एकेडेमीलाई लैजाने प्रयास स्वरुप क्रिटिकल नर्सिङको अध्यापन गराउने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले बीएन क्रिटिकल नर्सिङको ३० सिटमा अध्यापन न्याम्ससँगको सहकार्यमा सुरु गर्न लागिएको जानकारी दिए ।

Advertisement

‘त्यो प्रक्रियामा छ, हामीले त्यसका लागि फ्याकल्टी पनि विकास गरिसकेका छौं,’ कार्यकारी निर्देशक नियुक्त भएको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी उनले भने, ‘त्यसका लागि आवश्यक पर्ने स्कील ल्याब, एकेडेमिक प्रोग्राम तयार पारेर एक दुई हप्तामै विद्यार्थी आएपछि पढाउने अवस्थामा छौँ ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)सँगको सहकार्यमा केही रेजिडेण्टको पढाइ सिभिलमा हुने गरेको जानकारी उनले दिए । ‘दोस्रो वर्षमा उहाँहरु आउनुहुन्छ, तर हामीले आफ्नै विद्यार्थी पढाउने गरी एमडी÷एमएस र डिएम कार्यक्रम यही सिभिलमै चलाउने गरी काम गरिरहेका छौं,’ उनले थपे, ‘१० जेठमा एउटा सम्झौता भएको छ । त्यसबाहेक न्याम्ससँग अन्य सम्झौता पनि भएका छन् ।’ जसअनुसार न्याम्सले विद्यार्थी छनोट गरिदिने र सिभिलले पढाउने गरी काम भइरहेको छ ।

१२ वर्षदेखि १३२ शैय्यामै सिमित रहेको सिभिल अस्पताल आफू आएपछि क्षमता विस्तारमा विशेष ध्यान दिएको उनले बताए । अहिले १४० वेड सञ्चालनमा ल्याइएको र कोभिड १९ कै समयमा ५० वेडको प्रिफ्याब भवन बनाएर थपिएको बताए । त्यस्तै, चीन सरकारले बनाएको ११५ बेडको सर्जिकल भवन हस्तान्तरण हुने अन्तिम तयारीमा रहेको जानकारी दिए ।

‘अब हामीसँग ३५७ बेडको हस्पिटल हुन्छ,’ उनले भने, ‘पहिले ४ वटा आईसीयु थिए, २ महिनादेखि हामीले १२ वटा आईसीयु सञ्चालन गरेका छौँ ।’ यसले रिफर गरेर जानुपर्ने बिरामी कम भएको उनले दाबी गरे । यसैगरी, निकट भविष्यमै नेपालमै सबैभन्दा राम्रो १६ बेडको मोडुलर आईसीयु बनाउने गरी काम अगाडि बढेको उनको भनाइ छ ।

‘यस्तो सुविधासम्पन्न मोडुलर आईसीयु केही ठूला कर्पोरेट अस्पतालमा मात्रै छ,’ उनले भने, ‘जसमा बस्दा प्रति रात बिरामीले डेढ लाखसम्म खर्च गर्नुपर्छ, त्यस्तो मोडुलर आईसीयु बन्ने प्रक्रियामा छ, हामीले १० देखि १५ हजारमै त्यो उपलब्ध गराउँछौँ ।’

आँखाको विशेषज्ञ सेवा सुरु गरिएको र चश्मा पनि अस्पतालभित्रैबाट बिक्री गर्न थालिएको उनले बताए । यस्तै अस्पतालभित्रै बैकिङ काउन्टर, अनलाइन टिकेटिङ, वाटर एटीएम सञ्चालनमा ल्याइएको उनले सुनाए ।

साथै, १२ वर्षदेखि रिनोभेसन हुन नसकेर पानी चुहिनेजस्ता समस्या देखिएको ठाउँमा रिनोभेसन गर्ने काम पनि अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अत्याधुनिक विशिष्टीकृत एमआरआई, इन्टरोस्कोपी, रेडियोथेरापी मेसिन खरिदको प्रक्रियामा रहेको उनको भनाइ थियो । अस्पतालले विहान ७ बजेबाटै अल्ट्रासाउण्ड सेवा सुरु गरिएको डा. पौडेलले जानकारी दिए । ‘६—७ महिनापछि सर्वसाधारणले सिभिलमा रेडियोथेरापी सेवा पाउनेछन्,’ उनले भने, ‘हामी त्यसमा काम गरिरहेका छौँ ।’

हेमाटोलोजीको बिरामी सबैतिरबाट रिफर भएर आउने भएकाले रेडियोथेरापी भवनमा चार तला थप गरेर ५० जना बिरामी भर्ना हुने क्षमता बनाइने छ । ओपीडी विस्तारमा पनि अस्पतालले काम गरिरहेको उनको भनाइ थियो ।

आफू कार्यकारी निर्देशक नियुक्त भएलगतै अस्पताललाई रिफरल सेन्टरका बनाउने कार्ययोजनामा काम गरेको उनले सुनाए । अस्पतालमा कार्यकारी निर्देशक बनेलगतै कोभिड १९ म्यानेजमेन्ट टिम गठन गरेर काम गरेको उनले बताए ।

कोभिड १९ को आईसीयुको व्यवस्था नभएका बेला सामान्य बिरामीलाई भर्ना गर्ने क्रिटिकल बिरामीलाई रिफर गर्ने गरेको उल्लेख गर्दै आफू आएर डेडिकेटेड कोभिड अस्पतालमा रुपान्तरण गरेर नन कोभिड सेवा पनि प्रवाह गरेको उनले जानकारी दिए । ‘कोभिड १९ को १५ बेडको आईसीयु सञ्चालनमा ल्यायौं,’ उनले भने, ‘५० बेडको एचडियु बनायौं र १ सय जना बिरामीसम्म भर्ना गरेर उपचार गर्‍यौं ।’ अक्सिजनको जोहो गर्नुपर्ने बाध्यताकैबीच बिरामी व्यवस्थापन गर्ने आफूहरु सफल भएको उनको दावी थियो ।

डा. पौडेलले आफू कार्यकारी निर्देशक बनेर आइसकेपछि अस्पतालमा बिरामी र अस्पतालका समस्या थाहा पाउनका लागि नियमित चिकित्सक, नर्स र अन्य कर्मचारीको मर्निङ कन्फरेन्स सुरु गरेको पनि बताए । ३५० सिलिण्डरको अक्सिजन प्लान्ट सूर्य नेपालले बनाइदिएको उल्लेख गर्दै त्यो पनि अस्पतालको ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

निजामती कर्मचारीले निजामती अस्पतालबाट पाउने सेवा सुविधा ७ वटै प्रदेशबाट दिने सन्दर्भमा केही प्रगति हासिल भएको उनले सुनाए । त्यसका लागि सिभिल अस्पतालको ७ वटै प्रदेशमा सेवा विस्तारका लागि पाँच वटा प्रदेशमा समन्वय गरिसकेको बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै समन्वय गर्न बाँकी रहेको डा. पौडेलले जानकारी दिए ।

अस्पतालको वृहत्तर विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन भएर काम गरिरहेको उनले जानकारी दिए । अस्पतालको वृहत्तर विकासका लागि अध्ययन अगाडि बढाइसकेको उनको भनाइ थियो ।

‘मेरो लक्ष्य चार वर्षभित्रमा कमसेकम ४ सय बेड अस्पताल सञ्चालन गर्ने हो,’ उनले थपे, ‘३ सय ५७ बेड अब निकट भविष्यमै सन्चालनमा आउँछ । थप भवन बनाएर थप बेड सञ्चालनमा ल्याउने योजना छ ।’ ६४ रोपनीमा क्षेत्रमा रहेको सिभिल अस्पतालको क्षमता ४ सय शैय्यामा पुर्‍याउन सकिए बिरामीको चाप धान्न सहज हुने आंकलन उनको छ । त्यसका लागि ओएनएम सर्वेक्षण पनि जारी रहेको उनले बताए ।

निजामती कर्मचारी दिवसका अवसरमा वृक्षारोपण, फलफूल वितरणका साथै राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गर्ने कार्यक्रमको थालनी भएको उनले सुनाए ।

प्रतिक्रिया