शुक्रबार, जेठ ४, २०८१

नेपाल टेलिकमको एपमा थप सेवा ‘अपडेट’

मेरोन्यूज २०७९ जेठ १७ गते १८:४६

काठमाडौँ । नेपाल टेलिकमको एप थप सुविधासहित अपडेट गरिएको छ । टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि विभिन्न सुविधा प्रयोग गर्दै आएकोमा थप एफटीटीएच सेवाका लागि अपडेट गरिएको हो ।

Advertisement

अब ‘नमस्ते पे’मार्फत रिचार्जसमेत गर्न सकिने छ । त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने छ ।

फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सीपीई रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सक्ने छ ।

नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीमार्फत नवीकरण गर्न सकिने छ । त्यसैगरी डिलरहरुले एमपोससमेत लगइन गर्न सकिने छ ।

नेपाल टेलिकमले आफ्नो मोबाइल एपलाई परिमार्जन गरी सेवाग्राहीका लागि उपयोगी विशेषता थप गर्दै नयाँ रुपमा प्रस्तुत गर्ने गरेको छ । एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्न सकिने छ । साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्तलाई विभिन्न प्याकेज उपहार पठाउन सकिन्छ ।

यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।

यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न शुरुवातमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नु पर्दछ ।

प्रतिक्रिया