शुक्रबार, चैत १६, २०८०

रुपन्देही जिसस गठनमा सत्ता गठबन्धन र एमाले दुवैको बहुमत नपुग्ने

मेरोन्यूज २०७९ जेठ १७ गते १६:५०

बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीको गठनमा सत्तारुढ पाँच दलीय गठबन्धन अल्पमतमा पर्ने देखिएको छ । रुपन्देहीमा रहेका १६ स्थानीय तहमध्ये कांग्रेस एक्लैले १० वटा स्थानीय तहको प्रमुख जितेको छ ।

अन्य चार दलले कांग्रेसलाई साथ दिँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने देखिएको छ । चार जना उपप्रमुखसहित कांग्रेस एक्लैको १४ मत छ भने जनता समाजवादी पार्टीले एउटा गाउँपालिका प्रमुख जितेको छ ।

गठबन्धनका अन्य दलले कुनै पनि पालिका प्रमुख र उपप्रमुख जित्न सकेनन् । जिल्ला समन्वय समिति गठनका लागि १७ जना चाहिन्छ । तर, गठबन्धनसँग मातभार १५ मात्रै छ ।

उता एक्लै निर्वाचन लडेको एमालेले रुपन्देहीका १६ पालिकामध्ये तीनवटामा प्रमुख र आठ वटामा उपप्रमुख गरी ११ वटामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवारले कञ्चन गाउँपालिकाको उपप्रमुख जिते पनि नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले उनी कांग्रेसकै मानिन्छन् । नेकपा एकीकृत समाजवादीले कुनै पनि पालिकामा विजय हासिल गर्न सकेन ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिको नेतृत्व लिएको थियो । यसपालि एमाले एक्लैको मतभार ११ छ । अब एमालेले ६ जनालाई मनाउन सके उसले समन्वय समितिको नेतृत्व हात पार्ने छ । जिल्ला समन्वय समिति गठनमा लोकतान्त्रिक समाजवादी पार्टी जनता प्रगतिशील र राप्रपा देखिएका छन् ।

Advertisement

लोसपाले एक जना प्रमुख र दुई उपप्रमुख जितेको छ भने जनता प्रगतिशीलले एक एक जना प्रमुख र उपप्रमुख जितेको छ । राप्रपाले पनि एउटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।

सत्ता गठबन्धन बाहिरका ती दलले एमालेलाई साथ दिने गरी छलफल अगाडि बढाएका छन् । भागबण्डा मिलेमा एमालेलाई नेतृत्व दिएर सहमति गरिने राप्रपाका नेता सागर प्रताप राणाले बताए ।

प्रतिक्रिया