सोमबार, जेठ ७, २०८१

विद्यार्थीमाथि यौन शोषण

शिक्षक नै किन बन्छन् भक्षक ?

शिक्षकलाई आचरणभित्र राख्न नसक्नु महासंघको कमजोरी होः अन्सरी

दया दुदराज २०७९ जेठ १२ गते १९:३८

मंगलबार (जेठ १०) काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरू एका एक विद्यालय परिसरअगाडि आन्दोलन गर्न थाले । सो कलेजमा अध्ययनरत छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका थिए ।

Advertisement

कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको भन्दै उनीहरू नाराबाजीसहित आन्दोलित बनेका थिए । पटकपटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

तीन जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक अधिकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका शिक्षकलाई अदालतबाट हिरासतमा राख्ने अनुमति लिई प्रहरीले अनुसन्धान जारी राखेको छ ।
०००
गत जेठ ८ गते बिहान एक युवतीले आफूमाथि सात वर्षअघि विद्यालयका प्रिन्सिपलले नै दुई वर्षसम्म बलात्कार गरेको भन्दै आफ्नो घटनाक्रम सुनाएकी थिइन् । आफ्नो पहिचान नखुलाइकन फेसबुकमा ती युवतीले दिएको बयानअनुसार इटहरीका ब्लुमिङ लोटस ईंङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्काले २०७२/०७३ मा उनीमाथि यौन शोषण गरेका थिए ।

१५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेकाबेला आफूमाथि तत्कालीन प्रिन्सिपल राज खड्काले पटकपटक बलात्कार गरेको उनले बताएकी थिइन् । उनले सामाजिक सञ्जालमा प्रिन्सिपलको तस्बिरसमेत सार्वजनिक गरेकी छन् ।

पहिलोपटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेको उनले बताएकी छन् । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याक मेल गर्न थालेको पीडितले सामाजिक सञ्जालमार्फत बताइन् ।

‘म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेण्डरी स्कुलको विद्यार्थी थिएँ, मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे, म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ, जब यो सबै शुरु भयो, मलाई त्यतिबेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारका लागि मेरो बुवाले एकपटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनु भयो, (आमाको खातामा नभई उहाँको खातामा पैसा किन पठाउनु भयो भनेर म पछि बताउने छु) त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सीधै अस्पताल जान भन्नु भयो, प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लग्यो, उसले मलाई केही खान भन्यो तर मैले मानिनँ, म डराइरहेको थिएँ र मलाई पसिना आइरहेको थियो, उसले मलाई ‘यता आऊ यहाँ गर्मी हुँदैन’ भन्दै कोठातिर जान भन्यो, त्यतिबेला म १५ वर्षको थिएँ, उसले कोठामा थुन्यो र ताला लगायो, मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरि मानिनँ, त्यसपछि उसले मेरो स्कुलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्‍यो,’ ती पीडित युवतीले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेकी छन् ।

ती युवतीले एसईई दिइसकेपछि उही शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएकी थिइन् । तर प्रहरीले कुनै चासो नदेखाएको बताइन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कार्कीले यो घटना ०७४ सालामा नै जिप्रकामा दर्ता भएको पुष्टि गरेका छन् ।

बिहीबार (जेठ १२) मा उक्त प्रिन्सिपललाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

०००

गत ०७८ साल चैत ६ गते मोरङ जिल्लाको लेटाङ नगरपालिका ५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भयो । सो विद्यालयमा शिक्षण गर्दै आएका ५६ वर्षीय शिक्षक मनोज पौडेलले ती १२ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरे । गाउँलेले विद्यालय घेरेसँगै विद्यालय परिसर तनावग्रस्त बनेको थियो ।

०७८ चैत ४ गते अर्थात होलीको बिदाका दिन ती छात्राको घरमै पुगेर शिक्षक पौडेलले उनीमाथि दुर्व्यवहार गरेका थिए । चैत ६ गते सो विषयमा स्कुलमा छलफल राखियो । घटनाको जानकारीपछि प्रहरी पनि शिक्षक पौडेललाई नियन्त्रणमा लिन स्कुलमै पुग्यो । तर, आक्रोशित विद्यार्थी र पीडित पक्षले शिक्षक पौडेललाई प्रहरीको जिम्मा लगाउन मानेनन् । शिक्षक पौडेललाई प्रहरी कार्यालय लैजान खोज्दा आक्रोशित समूहले रोकेर उनलाई कालोमोसो र जुत्ताको माला लगाउने अडान राख्यो । तर, प्रहरीले थप अप्रिय घटना हुन नदिन रोक्दा स्थिति तनावपूर्ण बनेको थियो ।

आक्रोशित स्थानीयबासीले छुरा प्रहार गर्दा प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्युसमेत भएको थियो । घटनामा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित ३६ जना घाइते भएका थिए । घाइते हुनेमा २९ प्रहरी र ७ स्थानीय थिए ।

०००

गत फागुन ७ गते चितवनको माडीस्थित एक विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परे । माडी १ मा रहेको सोमेश्वर उच्च माविको कक्षा ९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुरज लामिछाने पक्राउ परेका हुन् ।

मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीस्थित जनता माविका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै गत चैत्र २२ गते कक्षा ४–८ सम्म अध्ययनरत विद्यार्थीले विद्यालयका तीन जना शिक्षकले सिलसिलेबार रुपमा दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड गरेका थिए ।

तीन शिक्षकले गलत नियतले छात्रामाथि दुर्व्यवहार गर्ने गरेको, गलत नियतले बारम्बार छात्राकाे सम्वेदनशील अंगमा छुने गरेको भन्दै फागुन ११ गते अभिभावकले र फागुन २० गते विद्यार्थीले विद्यालय प्रशासनमा मौखिक उजुरी गरे । त्यसपछि पुनः चैत ७ गते विद्यार्थी तथा अभिभावकले संयुक्त रुपमा चैत ७ गते लिखित तथा मौखिक उजुरी दिएको विद्यालयका प्रधानाध्यापक वसन्त राईले बताए ।

गत वैशाख ४ गते नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गरे । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले संवेदनशील अंगमा छुने, अश्लिल भिडियो देखाउने गरेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गरे ।
०००

पछिल्लो चार महिनामा एक दर्जन बढी छात्रामाथि यौन दुर्व्यवहार भएका घटना प्रहरीमा आएको अपराध अनुसन्धान महाशाखा काठमाडौंले जानकारी दिएको छ । माथि उल्लेखित घटनामा शिक्षकले विद्यार्थीमाथि गरेको यौन शोषण तथा दुर्व्यवहार स्पष्ट देखिन्छ । शिक्षा दिने अर्थात दोश्रो अविभावकको परिचय पाएका शिक्षक नै आफ्ना विद्यार्थीमाथि किन यस्ता अनैतिक हर्कत गर्छन् भन्ने प्रश्न पछिल्लो समय उत्कर्षमा छ ।

०००
बलात्कृत हुनेमा बालिका धेरै

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षयता १० हजार बढी बलात्कारका घटना दर्ता भएका छन् । आर्थिक वर्ष ०७४/०७५ सालदेखि आर्थिक वर्ष ०७८-०७९ को चैतसम्म १० हजार १३१ वटा बलात्कारका घटना दर्ता भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले बताए ।

नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा आधाभन्दा बढी १८ वर्षमुनीका छन् । १० हजार १३१ मध्ये ६ हजार ४४५ बालिका छन् । तिन हजार ६८६ जना उजुरी दिनेमा १९ वर्षमाथिका छन् ।

शिक्षक महासंघ भन्छः व्यक्तिगत बदनियतले घटना हुन्छ

शिक्षकले आफ्नै विद्यार्थीमाथि गर्ने यौन दुर्व्यवहार कुनै पेसाको समस्या नभई व्यक्तिगत बदनियत रहेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीईश्वर सुवेदीले मेरोन्यूजलाई बताए । यस्ता घटनालाई लिएर पेसामा जोड्नु उचित नहुने तर यही पेसामा आबद्ध भएका व्यक्तिका कारण पेसा नै बद्नाम भएको महासचिव सुवेदीले बताए ।

सुवेदीले भने, ‘पछिल्लो समय जसरी शिक्षकबाट यौन दुर्व्यवहार भएका घटना बाहिरिएको छ, यस्ता घटनाले पेसामाथि नै प्रश्न उठ्नु स्वभाविक छ, तर केही व्यक्तिको बदनियतले पूरै पेसालाई जोड्नु भने उचित हुँदैन, किनभने यस्ता घटना कुनै पेसासँग सम्बन्धित हुँदैनन्, व्यक्तिसँग सम्बन्धित हुन्छन् ।’

उनले यस्ता घटनामा संलग्न शिक्षकलाई आवश्यक अनुसन्धान गरी दोषी देखिए कडा कारबाही गर्नु पर्ने बताए । सुवेदीले मानसिक समस्या खेपिरहेका शिक्षकका कारण यस्ता घटना दोहोरिने र यस्तै घटनाले शिक्षण पेसामाथि गम्भिर प्रश्न उठ्दै आएको बताए । ‘शिक्षकको मनोसामाजिक समस्याका कारणले गर्दा यस्ता घटना दोहोरिन्छ र केही यस्ता पात्रका कारण पेसामा आबद्ध जनशक्तिमाथि प्रश्न उठ्ने गरेको छ,’ सुवेदीले भने ।

शिक्षकलाई आचरणभित्र राख्न नसक्नु महासंघको कमजोरी होः मोहना अन्सरी

शिक्षकलाई लगाममा राख्न नसक्नु शिक्षक महासंघको कमजोरी रहेको महिला अधिकारकर्मी मोहना अन्सरी बताउँछिन् । यौन दुर्व्यवहार जस्तो जघन्य अपराध पटकपटक दोहोरिदा महासंघले राजनीतिक प्रभावबाट मुक्त भएर नबोल्नाले यस्ता घटना उत्कर्षमा पुगेको उनको बुझाइ छ । उनले मेरोन्यूजसँग भनिन्, ‘शिक्षकले गरेका प्रत्येक कार्य शिक्षक महासंघसँग जोडिन्छ, आफ्नो शिक्षकलाई आचारणभित्र राख्न नसक्नु महासंघको कमजोरी हो, यस्ता घटनामा महासंघले खरो उत्रिनु आवश्यक छ, राजनीतिक प्रभावमा आएर यस्ता घटनालाई वेवस्था गर्ने हो भने यसले ठूलो रुप लिन्छ ।’

महिला अधिकारकर्मी मोहना अन्सरी

शिक्षक र विद्यार्थीबीचको उमेरको ग्याप धेरै नहुनाले समेत यस्ता घटना घट्ने गरेको महिला अधिकारकर्मी अन्सरीले बताइन् । शिक्षक योङ (युवा) हुने र विद्यार्थीसँगको उमेरसँग मिल्दो जुल्दो हुने हुँदा यस्तो घटना बढ्ने उनको तर्क छ ।

‘पहिले यस्ता घटना कमै मात्रामा सुनिन्थ्यो, तर पछिल्लो समय बढी आउन थालेको छ, त्यसको कारण भनेकै गैर जिम्मेवार शिक्षक हुनु हो, पहिलेका शिक्षक धेरै नै उमेरका हुनु हुन्थ्यो, जसकारण उहाँहरु धेरै नै जिम्मेवार हुनुहुन्थ्यो तर पछिल्लो समय शिक्षक र विद्यार्थीबीच खासै उमेरमा भिन्नता पाइन्न, न त विद्यार्थीले शिक्षकलाई सम्मान गर्छन् न त शिक्षकले नै विद्यार्थीलाई सम्मान गर्न सक्छ, त्यसकारण शिक्षकले आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना बढेको देखिन्छ ।’

महासंघले यस्ता घटनाविरुद्धमा विज्ञप्ति निकाल्ने र शिक्षक छनोटमा समेत अपराधिक गतिविधिमा रहेकालाई रोकेर जान खोजेमा यस्ता घटनामा केही सुधार ल्याउन सकिने अन्सारीको बुझाइ छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया