आइतबार, वैशाख ३०, २०८१

स्थानीय तह निर्वाचन

उपत्यकामा किन कमजोर माओवादी ?

रामकृष्ण अधिकारी २०७९ जेठ १० गते २१:१६

काठमाडौं । सहरको आफ्नै विशेषता हुन्छ, छिटो साथी बनाउने र छिट्टै छाडिदिने । नेकपा माओवादी केन्द्रको हकमा ठिक त्यस्तै मनोविज्ञान सहरले पालेको छ । अर्थात, जनयुद्धपछि शान्ति प्रक्रियामा आएलगत्तै संविधानसभा चुनावमा माओवादीलाई सहरले भरोसा गर्‍यो । काठमाडौं, ललितपुर र भक्तपुरका १५ निर्वाचन क्षेत्रमा माओवादीलाई जुन जित दियो, त्यो उसैलाई विश्वास नहुने गरी ।

Advertisement

त्यसबेला माओवादीले एमालेसँग उपत्यकाभित्र चुनावी तालमेल गर्न चाहेको थियो । तर, एमालेले माओवादीको तालमेल प्रस्तावलाई काठमाडौंको १५ क्षेत्र छाडेर अन्य ठाउँमा मात्र सोच्न सकिने बताएर पन्छाइदियो । हुन पनि, एमाले संगठनात्मक रुपमा त्यसबेला उपत्यकामा बलियो थियो । तर, काठमाडौं उपत्यकाका जनताले माओवादीलाई ‘साथी’ बनाइसकेको नेताहरूलाई नै थाहा थिएन ।

चुनावी परिणाम आयो, उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ललितपुरका ३ वटा र काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा माओवादीले शानदार जित्यो । तर, त्यो जितलाई माओवादीले धेरै समय टिकाउन सकेन । अर्थात, छिट्टै माओवादीलाई साथी बनाएका सहरका मतदाताले उही गतिमा छाडिदिए ।

जसको परिणाम त्यसयताका ४ वटा निर्वाचनमा माओवादीले उपत्यकामा परिणाम निकाल्न सकेको छैन । पछिल्ला चुनावमा माओवादी उपत्यकाभित्र थप कमजोर बन्दै गएको तथ्यांकले देखाएको छ ।

****

जनप्रतिनिधिका रुपमा संघीय संसदमा माओवादीको एकमात्र निर्वाचित सांसद छिन्, पम्फा भुसाल । बागमती प्रदेशमा ललितपुरबाट नै राजकाजी श्रेष्ठ र लालकुमारी पुन ‘सुशीला’ मात्र निर्वाचित छन् । स्थानीय तह चुनावमा भने अघिल्लोपटक भन्दा यसपटक मूल नेतृत्वमा माओवादीले गुमाएको छ । २०७४ मा माओवादीले उपत्यकाभित्र ललितपुरको कोन्ज्योसोम गाउँपालिका मात्रै जितेको थियो । तर, अहिले सोही ठाउँ पनि गुमाउन पुग्यो । यसपटक उपत्यकाभित्रका जिल्लामा माओवादी केन्द्र शून्यमा पुग्यो ।

०७४ को स्थानीय तह निर्वाचनमा माओवादीले उपत्यकाभित्र ललितपुरको एउटा पालिकामा अध्यक्ष, उपाध्यक्ष, ललितपुर महानगर, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, काठमाडौंभित्र चन्द्रागिरि नगरपालिका र शंकरापुर नगरपालिकालगायतमा गरी कूल १२ वटा मात्रै वडाध्यक्ष र उपत्यकाभित्र समग्रमा ४२ जना सदस्य जितेको थियो ।

०७४ यता पनि माओवादीको उपस्थिति उपत्यकाभित्र बलियो बन्न सकेन । बरु पहिले जितेको एउटै पालिका नेतृत्व गुमाएको छ । गत स्थानीय तहमा एक्लै चुनाव लडेर जितेको कोन्ज्योसोममा माओवादीले कांग्रेससँग चुनावी तालमेल गरेर जाँदा पनि हार ब्यहोरेको छ ।

तलमेलका आधारमा माओवादीले विगतमा जितेको एउटै पालिकाको नेतृत्व गुमाए पनि बागमती र महाकांल गाउँपालिकामा उपाध्यक्ष जितेको छ । विगतमा एउटा सदस्य समेत जित्न नसकेर शून्य रहेको भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा उपमेयर र एउटा सदस्य जितेको छ ।

समग्रमा यसपटक माओवादीको उपत्यकामा दुई उपाध्यक्ष, १ एक उपमेयर, ११ वडाध्यक्ष (रुख चिन्हमा लेडेका १ सहित) र ३३ जना सदस्यहरू (रुखमा जितेका ३ सहित) जितेको छ । अघिल्लो चुनावभन्दा जनप्रतिनिधl (अध्यक्षदेखि सदस्यसम्म) यसपटक माओवादीको संख्या घटेको छ । अघिल्लो पटक ५६ जना जनप्रतिनिधि जितेको माओवादीले यो चुनावमा ४७ जनामा सिमित हुन आइपुगेको छ ।

हेर्नुहोस तालिका : दुई स्थानीय तह चुनावमा माओवादीको उपस्थिति

यति कमजोर किन ?

यो निर्वाचन परिणामले उपत्यकाभित्र माओवादी बन्न नसकेको प्रष्ट सन्देश दिएको माओवादी केन्द्रका बागमती प्रदेश समितिका उपाध्यक्ष रुपा महर्जन बताउँछिन् । उपत्यकाभित्र माओवादी कमजोर हुनुमा उनको बुझाईमा मूलतः चार वटा कारण छन् :

‘योपटकको चुनावी परिणाम हेर्दा देखियो, पहिलो त माओवादी पार्टी बनेकै देखिएन । दोस्रो, निर्वाचनमा तीन-चार पटक हार्दासम्म पार्टीभित्र हारको कारण खोज्ने र समाधान पहिल्याउने गरी चुनावी समीक्षा भएन । तेस्रो पार्टी कमजोर बन्दै जाँदा पनि केन्द्रको ध्यान गएन र चौथो, जो नेताहरू जिम्मेवार छन्, उनीहरूले तीन चार पटक हार्दासम्म नैतिक हिसाबले जिम्मेवारी लिनुपर्ने सोचेनन्,’ उपाध्यक्ष महर्जन भन्छिन्, ‘हामीले अधिकारका कुरा गर्‍यौँ, राष्ट्रिय समस्याका कुरा गर्‍यौँ, लोडसेडिङ, मेलम्ची सबैका कुरा हामीले उठायौँ, गर्‍यौँ । तर जनतासँग जोडिन जाने सामाजिक चरित्रको नेता कार्यकर्ता बनाउनै सकेनौँ, यसले माओवादीलाई कमजोर बनाएको छ ।’

′पटकपटक हार्दा हारको कारण खोज्ने र समाधान पहिल्याउने गरी चुनावी समीक्षा राम्रोसँग भएन । केन्द्रको ध्यान पनि गएन । हारको नैतिक जिम्मेवारी लिनु पर्नेमा त्यसरी पनि सोचिएन । पार्टी पार्टी जस्तो बन्नै सकेन । जसले निर्वाचन अपेक्षित भइरहेको छैन ।’

– रुपा महर्जन श्रेष्ठ, उपाध्यक्ष, नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति

माओवादी नेता कार्यकर्ता समाजिकीकरण हुन नसक्नु पनि अर्काे कारण हो, माओवादी उपत्यकाभित्र कमजोर बन्नुमा । उपत्यकाका मतदातालाई परेका समस्या सम्बोधन गर्ने गरी कहाँ को नेता कार्यकर्ता जनतासँग जोडिने भन्ने माओवादीभित्र योजना छैन ।

उपत्यकाभित्रको नेवारी समुदाय, काठ क्षेत्रका समुदाय, नयाँ बस्तीका समुदाय र आसपास क्षेत्रका तामाङ समुदायलाई व्यवस्थित ढंगले संगठित गर्ने र पार्टीप्रति आर्कर्षित गर्ने योजना माओवादीले बनाउन नसकेको लामो समयदेखि काठमाडौं कार्यक्षेत्र बनाएर काम गरिरहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार पौडेल स्वीकार्छन् ।

‘जातीय विशेषतासहितको नेवारी समुदाय, काठ क्षेत्रमा रहेको तामाङ समुदायलाई व्यवस्थित ढंगले संगठित गर्ने कार्यक्रम अगाडि बढाउन सकेनौँ, शहरभित्र बेरोजगार, असन्तुष्टको ठूलो पंक्ति छ, पार्टीले उनीहरूको मनोविज्ञानलाई सही ढंगले सम्बोधन गर्ने सही कार्य योजना अगाडि बढाउन सकेन, त्यसले पनि माओवादीलाई शहरमा कमजोर बनाइरहेको छ,’ पौडेल भन्छन् ।

*****

काठमाडौंमा माओवादीको संगठन एकदमै कमजोर देखियो । संगठन कमजोर भएपछि स्वतः अरु धेरै पक्ष कमजोर हुने भए । ‘०६८ सालदेखि संगठन बनाउने प्रक्रिया शून्य थियो । जतिबेला पार्टीभित्र विवाद भयो र विभाजन सुरु भयो, त्यहीबेलादेखि हाम्रो संगठन लथालिंग थियो । पछिल्लोपटक पार्टी सदस्यता नवीकरण र तलका सम्मेलनबाट सामान्य जालो त बनेको थियो, तर त्यो जालोले स्थानीय चुनाव थेग्न सक्ने स्थिति नै थिएन । संगठन कमजोर भएकाले काठमाडौंको चुनावमा हामीले धेरै बढी अपेक्षा गरेका थिएनौँ,’ माओवादी केन्द्रका अर्का एक नेताले भने ।

माओवादीका संगठित मतदाताले पनि कोर एरिया र काठ क्षेत्रका कतिपय नगरपालिकामा आफ्नै उम्मेदवारलाई मत नदिएको पनि तथ्यले देखाएको छ । नागार्जुन, बूढानीलकण्ठ, टोखालगायतका नगरपालिकामा माओवादीका जति मतदाता, पार्टी सदस्य छन्, त्यस बराबर मत निर्वाचनमा पार्टी उम्मेदवारले पाएनन् ।

अर्काेतिर योपटकको चुनावमा माओवादीले काठमाडौं उपत्यकाभित्र आफ्नै पार्टी चिन्हमा चुनाव लड्ने उम्मेदवारसमेत पाएनन् । माओवादीका जिम्मेवार नेता कार्यकर्ता अन्य पार्टीको चुनाव चिन्हमा पार्टी निर्देशनविपरीत उठिदिए ।

जस्तो कि माओवादीका नेता कार्यकर्ताले काठमाडौं महानगरको वडा नम्बर १९, २० र २३ मा एकीकृत समाजवादीको कलम चिन्हमा उम्मेदवारी दिए । वडा नम्बर १८ मा जसपासँग तालमेल गरेर जसपाको छाता चिन्हमा उम्मेदवारी दिए ।

दक्षिणकालीमा वडा नम्बर ८ मा वडाध्यक्ष योशकुमार लामादेखि अन्य वडाका वडा सदस्य कांग्रेसको चुनाव चिन्ह लिएर उठे । पार्टी उम्मेदवार माथिल्लो निकायसँग परामर्श नगरी अरु दलको चुनाव चिन्हमा उम्मेदवार बन्ने स्थिति माओवादीमा बन्यो । यसले पार्टीलाई उपत्यकाभित्र कमजोर बनायो ।

‘पार्टीको चुनाव चिन्ह जनताले रुचाएको देखिएन, त्यसपछि अन्य दलको चुनाव चिन्हमा भए पनि उम्मेदवारी दिऔं भनेर दिएका हौँ,’ एक माओवादी नेताले भने । दक्षिणकालीमा पार्टी नीतिविपरीत काम गरेको भन्दै इन्चार्ज रहेका सन्जय लामालाई बागमती प्रदेश समितिले सबै जिम्मेवारीबाट निलम्बन गरेको छ । त्यहाँ माओवादीका उम्मेदवारले कांग्रेसको चुनाव चिन्ह लिएर स्थानीय तह चुनाव जितेका छन् ।

वडा नम्बर ८ अध्यक्ष योशकुमार लामा, वडा नम्बर २ सदस्य राजकुमार पाण्डे, वडा नम्बर ३ राम श्रेष्ठ, ४ मा संगीता तामाङ लगायतले कांग्रेसको चुनाव चिन्हमा दक्षिणकालीमा चुनाव जिते । माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार पौडेल पनि चार वटा कारणले माओवादी उपत्यकाभित्र कमजोर बन्न पुगेको विश्लेषण गर्छन् ।

पहिलो, माओवादी आन्दोलन पटक-पटक टुटफुट र विभाजनको क्रमबाट गुज्रियो । त्यसलाई व्यवस्थित बनाउन समय पाएन । भर्खर नगर सम्मेलन, प्रदेश सम्मेलन र महाधिवेशनसम्म सम्पन्न गरेर केही व्यवस्थित गर्ने कोसिस गरे, तर पूर्ण हुन पाएन । जसले निर्वाचनमा माओवादीले अपेक्षित परिणाम ल्याउन सकेन ।

दोस्रो, शान्ति प्रक्रियाबाट शहरमा माओवादी आयो, माओवादी आन्दोलनलाई सुदृढीकरण गर्ने सवालमा नेताहरूले ध्यान पुर्‍याउन सकेनन् । विशेषगरी मध्यम वर्गीय जनसमुदायको समस्यालाई पहिचान गरेर ठिक ढंगले सम्बोधन गर्न नसक्दा शहरका मतदाताले माओवादीलाई मन पराउन सकेनन् ।

तेस्रो, माओवादीका प्रायः धेरै नेता कार्यकर्ता बाहिरबाट काठमाडौंमा आएका छन् । यहाँको पार्टी कमिटीमा लामो समयसम्म उपत्यकाबाहिरबाट आएका नेताहरूको नेतृत्व रह्यो । जसले स्थानीय जनसमुदायसँग माओवादीको नेतृत्व घुलमिल हुन सकेन । त्यसले पार्टीलाई जनआधारित, स्थानीय स्तरमा भिज्ने गरी सुदृढ बनाउने र विस्तार गर्न सकेन ।

चौथो, यहाँका समुदाय नेवारी समुदाय, पुरानो रैथाने समुदाय, काठ क्षेत्रका जनसमुदाय, नयाँ बस्तीका जनसमुदाय र आसपासका क्षेत्रका तामाङ समुदायलाई संगठित गर्ने गरी कार्यक्रम अगाडि बढाउन कमी रह्यो । उपत्यकामा मध्यम वर्गीय तप्काको ठूलो हिस्सा छ । मध्यम वर्गीय तप्का र तल्लो वर्गका जनतालाई ठिक ढंगले परिचालन गर्न सक्ने कार्य योजनामा माओवादीको अपुगता देखियो ।

*****

उम्मेदवार चयनमा देखिएको समस्याले पनि ललितपुरको केही गाउँपालिका र नगरपालिका जित्ने सम्भावना रहे पनि हारेको माओवादी नेताहरुको बुझाइ छ । ′उम्मेदवार चयनमा पनि हामी चुक्यौँ । बुर्जुवा फ्लेभरसहितको चुनावी पात्र कमजोर भए । चुनावमा माओवादीले मध्यम वर्गसँग सहकार्य गर्न सकेन । अन्य पार्टीका उम्मेदवारले धेरै मत पाउनुमा बुर्जुवा फ्लेभर पनि एक हो । अरु पार्टीको पनि हामीले त्यो देख्छौं । तर, माओवादीले त्यस्ताखालका नेता-कार्यकर्ता विकास गर्न सकेन । त्यसको परिणम पनि उपत्यकामा माओवादीका उम्मेदवारले चुनाव जितेनन्, ‘माओवादीका नेता कार्यकर्ता बताउँछन् ।

मतदाताले उम्मेदवारको सामाजिक प्रतिष्ठा कस्तो छ भनेर हेर्ने भएकाले उम्मेदवारले आफ्नो सामाजिक प्रतिष्ठा गुमेको स्वयम् थाहा नपाए पनि मतदाताले थाहा पाइराखेका र त्यसबेला मत नदिने अवस्था बन्न जानेतिर उम्मेदवार चयन गर्दा ध्यान दिनुपर्ने हुन्छ । तर, उम्मेदवार चयन गर्दा उसको सामाजिक प्रतिष्ठालाई ख्याल गर्न नसक्दा केही उम्मेदवार माओवादीको उपत्यकाभित्र पराजित भएको बुझाइमा माओवादी देखिन्छ ।

अब के गर्ने ?

रोल्पा, रुकुम, गोरखा, नुवाकोट, काभ्रेलगायत कतिपय जिल्लामा माओवादीको जनमत पहिलेभन्दा राम्रो देखिएको छ । कतिपय जिल्लामा ०६४ सालमै माओवादी ′कम ब्याक′ भएको विश्लोषण भएको छ । तर, शहरमा माओवादी किन यति कमजोर ? यसको समीक्षा गम्भीर ढंगले गर्नु पर्ने माओवादी केन्द्रका नेताले बताएका छन् । माओवादी केन्द्रले स्थानीय तह चुनावमा चुनावी कमाण्डर बनाएर काठमाडौं, ललितपुर र भक्तपुरको जिम्मेवारी दिएर पठाएका केन्द्रीय सदस्य ईश्वरी भट्टराई पार्टीकै जिम्मेवार नेताहरूका कारणले उपत्यकामा माओवादी कमजोर बनेको बताउँछन् ।

‘हामीभित्रै पनि नेताहरूकै कमजोरी देखेको छु । एक्टिभ मान्छे नभई काठमाडौंमा पार्टी बन्दैन, समीक्षा गर्दै छौँ, अब पुरानो पाराले चल्दैन । यसको समीक्षा गम्भीर ढंगले गर्नु पर्ने छ ।’
ईश्वरी प्रसाद भट्टराई, चुनावी कमाण्ड इन्चार्ज उपत्यका, नेकपा (माओवादी केन्द्र)

‘अलिक गम्भीर समीक्षा हुनुपर्छ । संगठनात्मक रुपमा नै हामी नयाँ समीक्षामा छौँ । किन उपत्यकाकमा पटक पटक यस्तो भइरहेको छ ? गठबन्धनमै हाम्रो मत आयो आएन ? गठबन्धन हामीभन्दा बाहिरबाट अर्काे गठबन्धनभित्री रुपमा बनेका कुराहरू पनि हामीसँग आएका छन्, कँही कँही आफ्नै समस्या पनि देखिएको छ ।′भटटराईले मेरोन्यूजसँग भने, ‘हामीभित्रै पनि कमजोरी देखेको छु । भोलि (बुधबार) काठमाडौँको सीसीएम (केन्द्रीय सदस्य)सँग बस्दै छु । केही मान्छेका डबल स्टान्ड पनि देखेको छु । एक्टिभ मान्छे नभई काठमाडौं पार्टी बन्दैन । सबैलाई पार्टीले पाएको मत, सबै तथ्य लिएर आऊ भनेको छु । उपत्यका बनाउन के गर्नुपर्छ ? अब समग्रमा समीक्षा गरेर एउटा नीति बनाउनै पर्छ ।’

माओवादी केन्द्रकी बागमती प्रदेश उपाध्यक्ष महर्जन आवश्यक परे शून्यबाटै संगठन बनाउन शुरु गरेर जनतासँग जोडिने पार्टी बनाउनु पर्ने बताउँछिन् । ‘उपत्यकालाई केन्द्रबाटै विशेष ढंगले हुर्न पर्ने देखिएको छ । आवश्यक देखिए पुराना सबैको पद खारेज गरेर, संगठनको विशेषता अनुरुप विघटन गरेरै भए पनि अझै समय छ, शून्यबाटै संगठन बनाउन सुरुआत गर्नुपर्ने देखिएको छ । जनतासँग जोडिने पार्टी बनाउनु पर्छ । त्यसो गर्दा अझै माओवादीलाई कमब्याक गराउन सकिन्छ भन्ने नै लाग्छ,’ उनी भन्छिन् ।

नयाँ ढंगले जानुको विकल्प छैन

कुमार पौडेल, केन्द्रीय सदस्य, नेकपा (माओवादी केन्द्र)

स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । परिणाम करिब सबै आएको छ । देशभर माओवादी सखाप हुने विरोधीहरूको मनोकांक्षा पूरा हुन सकेन । फेरि माओवादी देशभर नयाँ शिराबाट ब्युँझिएर आउन थालेको संकेत निर्वाचन परिणामले दिएको छ । तर, उपत्यकाभित्र माओवादी कमजोर नै देखिएको छ । अपेक्षित परिणाम माओवादी केन्द्रले उपत्यकाबाट ल्याउन सकेन ।

विगतभन्दा सुधार हुनेतिर पनि संकेत माओवादीको उपत्यकामा देखिएन । दुई तीन वटा निर्वाचन परिणाम हेर्दा उपत्यकामा माओवादीका लागि अपेक्षित छैन । आउनै सकेन । माओवादी उपत्यकामा कमजोर अवस्थामा देखियो । किन कमजोर भयो ? यसको गम्भिर समीक्षा आवश्यक देखियो ।

माओवादी उपत्यकाभित्र मुख्यतः तीन-चार वटा कारणले कमजोर हुन पुग्यो भन्ने मेरो विश्लेषण छ ।

पहिलो, माओवादी आन्दोलन पटक-पटक टुटफुट र विभाजनबाट गुज्रियो । त्यसलाई व्यवस्थित गर्न हामीले भर्खर नगर सम्मेलन, प्रदेश सम्मेलन र महाधिवेशनसम्म सम्पन्न गर्‍यौँ । त्यसलाई अझै व्यवस्थित गर्न हामीले सकेका थिएनौँ, अहिले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्नुको एउटा कारण त्यो हो ।

दोस्रो, हामी शान्ति प्रक्रियाबाट शहरमा आयौँ । माओवादी आन्दोलनलाई सुदृढीकरण गर्ने सवालमा ध्यान पुर्‍याउन सकेनौँ । विशेषगरी मध्यम वर्गीय जनसमुदायको समस्यालाई पहिचान गरेर ठिक ढंगले सम्बोधन हामीले गर्न सकेनौँ । जसले शहरका मतदाताले हाम्रो आन्दोलनलाई सहज ढंगले मन पराउन सकेनन् ।

तेस्रो, हाम्रा प्रायः धेरै नेता कार्यकर्ता बाहिरबाट काठमाडौँमा आएका छन् । यहाँको पार्टी कमिटीमा लामो समयसम्म उपत्यका बाहिरबाटै आएका नेताको नेतृत्व रह्यो । जसले स्थानीय जनसमुदायसँग हामी घुलमिल हुन सकेनौँ । त्यसले पार्टीलाई जनआधारित, स्थानीय स्तरमा भिज्ने गरी सुदृढ बनाउने र विस्तार गर्ने काम गर्न सकेनौं ।

चौथो, यहाँका स्थानीय समुदायलाई संगठित गर्ने गरी कार्यक्रम अगाडि बढाउन कमी रह्यो । उपत्यकामा मध्यम वर्गीय तप्काको ठूलो हिस्सा छ । मध्यम वर्गीय तप्का र तल्लो वर्गका जनतालाई ठिक ढंगले परिचालन गर्न सक्ने हाम्रा कार्य योजनामा अपुगता देखा पर्‍यो ।

यहाँको नेवारी समुदाय (जातीय विशेषतासहितको नेवारी समुदाय), काठ क्षेत्रमा रहेको तामाङ समुदायलाई व्यवस्थित ढंगले संगठित गर्ने कार्यक्रम अगाडि बढाउन सकेनौँ । शहरभित्र बेरोजगार, असन्तुष्टको ठूलो पंक्ति छ । पार्टीले उनीहरूको मनोविज्ञान सही ढंगले सम्बोधन गर्ने कार्य योजना अगाडि बढाउन सकेन ।

यिनै कारणले हामीले चुनावमा अपेक्षित परिणाम ल्याउन सकिरहेका छैनौँ । मुख्यगरी माओवादी आन्दोलनले राजनीतिक एजेण्डाहरू स्थापित गर्‍यो, तर आर्थिक एजेण्डालाई जनतासँग जोड्न सकेनौँ । यहाँको जनताका दैनिकी, रोजगारीका समस्यालाई ठोस ढंगले सम्बाेधन गर्ने गरी जनतामा जाने र जनताका बीचमा घुलमिल हुन नसक्ने अभाव देखियो ।

त्यसैले व्यवस्था परिवर्तन गरेर मात्र नहुने रहेछ । जनताको जीवनलाई सम्बाेधन गर्ने गरी अवस्था परिवर्तन गर्नु पर्ने रहेछ भन्ने पुष्टि गरेको छ । जनताको अवस्था बदल्न राजनीतिक मात्रै होइन, आर्थिक कार्यक्रम जोडेर लैजानु पर्छ । त्यसो गर्न हामीले सकेनौँ । जनतामा मसिनो गरी फर्किने र जनतासँगै मिलेर पार्टी काम अगाडि बढाउने, माथि-माथि छाता प्रणालीको संगठनात्मक प्रणाली विकास भयो, तर पिरामिड आकारको तल फर्किने, नेता र कार्यकर्तामा फर्किने, जनताको मनोविज्ञानलाई बुझेर काम गर्ने कुराको अभाव रह्यो ।

अब परिणाम त आइसक्यो । तर, उपत्यकामा माओवादी अपेक्षित आएन । यो परिणामको दोषी को त ? यसका लागि मुख्य जिम्मेवारी हामी नेतृत्वमा रहेकाहरूले लिनुपर्छ । हामीले ठोस ढंगले पार्टी संगठनलाई अगाडि बढाउन, यहाँको विशेषतालाई पहिचान गर्न नसक्नु नेतृत्वको कमजोरी हो । जनआधारित पार्टी बनाउन नसक्नुमा हामी दोषी छौँ । हामी आफैले आत्मआलोचना नगरी समस्याको सम्बोधन हुँदैन । यसर्थ अबका दिनमा माओवादीले गम्भिरतापूर्वक समीक्षा गरेर जानु पर्छ । केही न केही यहाँको जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिवर्तन ल्याउनु पर्छ ।

समीक्षाबाट माओवादीले नयाँ बाटो तय गर्नु पर्छ । उपत्यकामा माओवादीले नयाँ शिराबाट संगठनलाई जनतासँग जोडेर लैजानु पर्छ । विशेषगरी यहाँको जनसमुदायको वर्ग विश्लेषण गर्ने, समाजको वर्ग विश्लेषण गर्ने, समस्या पहिचान गर्ने र त्यसअनुसारको नेतृत्व विकास गरेर जाने र जनआधार सृष्टि गरेर जाने कुरा नै अबका दिनमा माओवादीले गरेर जानु पर्ने देखिएको छ । किनकी जनतामा नपुगी, उनीहरूसँगै घुलमिल नहुँदासम्म आगामी दिनमा माओवादी शहरमा सुदृढ हुन सक्दैन ।

जनताको समस्या सम्बोधन गरेर नेता कार्यकर्ता जनतामा फर्किने र विश्वास दिलाएर जानु पर्छ । बाहिरबाट आएका लिडरसिप लामो समयसम्म काठमाडौं उपत्यकाभित्र रहे । त्यसले पनि जनतासँग पार्टीको नेतृत्व भिज्न सकेन । त्यसैले अब हामीले स्थानीय लिडरसिप निर्माण र विकास गर्ने कुरा, मध्यम वर्गीय जनसमुदायलाई पार्टी र आन्दोलनको वरिपरि गोलबन्ध गर्ने कुरामा हामी चुकेका छौँ । त्यसको गम्भिरतापूर्वक समीक्षा गरेर मध्यम वर्गीय तप्का र आधारभूत तप्कालाई समेटेर जानुको विकल्प छैन ।

(माओवादी केन्द्रको काठमाडौंको जिम्मेवारीमा रहेर काम गरिरहेका केन्द्रीय सदस्य पौडेलसँग गरिएको कुराकानीमा आधारित सम्पादित अंश)

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया